दोहोरो अंकले बजार सुध्रिदा कारोबार रकम ५५ करोड नाघ्यो, ७ दिनमा सूचक ५० अंकले सुधार

बिजमाण्डू
२०७६ मंसिर २५ गते १५:३३ | Dec 11, 2019


काठमाडौं। दोहोरो अंकले शेयर बजार सुधार हुँदा ५५ करोड १३ लाख रुपैयाँको खरिद बिक्री भएको छ। दोस्रो बजार लगातार ७ कारोबार दिनसम्म सुधार हुँदा लगानीकर्ताको सहभागिता बढ्दै गएको छ।

Tata
GBIME
Nepal Life

गएका दिनमा बजार सुधार हुँदा पनि खासै कारोबार रकममा सुधार हुन सकेको थिएन। दोस्रो बजारमा धेरै समयपछि आधा करोड रुपैयाँको कारोबार हुँदा ब्रोकर कार्यालयहरु उत्साहित भएका छन्।

बुधबार नेप्से सूचक १०.११ अंकले सुधार भएर ११६१.४७ विन्दुमा बन्द भएको छ। १ सय ७३ वटा कम्पनीको कारोबार हुँदा १ सय २४ कम्पनीको मूल्य बढेको छ भने १६ वटाको मात्रै घटेको हो।

आजको कारोबारमा नेपाल बंगलादेश बैंकको संस्थापक शेयर मात्रै ६ करोड ४१ लाख रुपैयाँको खरिद बिक्री भएको छ। बंगलादेश बैंकको ५ लाख ६१ हजार ४२८ कित्ताको कारोबार भएको हो।

कारोबारको सुरुवाती अवस्थामा खासै सूचक सुधार हुन सकेको थिएन। तर अन्तिम दुई घण्टामा लगानीकर्ताको सहभागिता बढ्दा सूचकसँगै कारोबार रकम बढेको हो। नेपाल बैंकको मात्रै एक लाख ६ हजार कित्ताको लागि माग देखिन्छ। नेपाल बैंकको मात्रै तीन करोड ६ लाख रुपैयाँको कारोबार भएको छ।

उत्पादन तथा प्रसोधन बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ। बजार सुधारको संकेतसँगै ५ वटा कम्पनीको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ। बम्पर लाभांस घोषणा गरेको डिप्रोक्स लघुवित्तको शेयर मूल्य ७९ रुपैयाँले बढेको छ।

बुधबार २० कित्ता मात्रै कारोबार भएको युनिलिभरको शेयर मूल्य प्रति कित्ता ७५२ रुपैयाँले घटेर १८ हजार २६१ रुपैयाँमा खरिद बिक्री भएको छ।

कम्पनीको २० कित्ताको मात्रै खरिद बिक्री हुँदा पनि तीन लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ। ७ कारोबार दिनमा लागतार शेयर बजार बढ्दा नेप्से सूचक झण्डै ५० अंकले सुधार भएको छ।