चार महिनापछि श्रीको टर्बोप्रोपबाट जनकपुर र सिमरामा परीक्षण अवतरण, थप तीनवटा जहाज ल्याउने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७६ मंसिर २५ गते २०:३७ | Dec 11, 2019
चार महिनापछि श्रीको टर्बोप्रोपबाट जनकपुर र सिमरामा परीक्षण अवतरण, थप तीनवटा जहाज ल्याउने

Tata
GBIME
Nepal Life

काठमाडौं। श्री एयरलाइन्सको नयाँ जहाज टर्बो प्रोपले जनकपुर र सिमरामा परीक्षण अवतरण(टेष्ट ल्याण्डिङ) गरेको छ।

बुधबार दिउँसो १२:३० बजे काठमाडौं-जनकपुर-सिमरा-काठमाडौं परीक्षण अवतरण गरिएको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए।चार महिना अगाडि ल्याइएको 'नाइन-एन-एएनएफ' कलसाइनको बम्बार्डियर (क्यु४००) जहाजमार्फत परीक्षण उडान गरिएको उनले बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेडुल अप्रुभ दिएमा कम्पनीले थप तीनवटा बम्बार्डियर कम्पनीको टर्बो प्रोप क्यु-४०० जहाज खरिद गरेर संचालनमा ल्याउने जनाएको छ। परीक्षण अवतरणमा कम्पनी र प्राधिकरणको एरोड्रोम सेफ्टी, सिभिल इन्जिनियर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रतिनिधि लगायत टोलीको सहभागिता रहेको थियो।

'हामीले आज टेष्ट ल्याण्डिङ गरेका छौं। अब नेपाल नागरिक उड्डयन प्राधिकरणले सेडुल अप्रुभ दिएपछि यी दुई गन्तब्यमा नियमित उडान सुरू गर्नेछौं,' मानन्धरले बिजमाण्डूसँग भने, 'दुई गन्तब्यमा उडान सुरू भएपछि हामीले थप तीनवटा टर्बो प्रोप जहाज थपेर विभिन्न गन्तब्यमा उडान गर्ने योजना बनाइरहेका छौं।' 

दुई गन्तब्यमा कम्पनीको परीक्षण अवतरणमा कुनै समस्या नआएको प्राधिकरणका एक अधिकारीले बताए। प्राधिकरणका अनुसार दुई साताभित्र कम्पनीले सेडुल अप्रुभ पाउने छ। 'परीक्षण अवतरण गरिएको छ। हाम्रो प्राविधिक टोलीले अध्ययन गरे पछि कम्पनीलाई स्लट अप्रुभल दिइने छ,' प्राधिकरणका एक कर्मचारीले भने।

श्रीले हाल दुइवटा ५० सिटे सीआरजे-२००, दुइवटा ७८ सीआरजे-७०० मार्फत धनगढी, विराटनगर, नेपालगंज र भैरहवा उडान गर्दै आएको छ।

यस्तो छ टर्बो प्रोप क्यु-४००

५ हजार ७१ हर्सपावरयुक्त यो जहाजको अधिकतम वेग क्षमता प्रति घण्टा ६ सय ६६ किलोमिटर छ। ७ हजार ६ सय ६० मिटरको उचाइसम्म उड्ने क्षमता रहेको जहाज प्रतिलिटर इन्धनले ०.३४ किलोमिटर माइलेजमा उडान गर्न सक्ने क्षमता रहेको कम्पनीले बताएको छ।

६ हजार ४ सय २३ लिटरको फ्युल ट्यांक क्यापासिटी भएको यो जहाजमा म्याक्सिमम टेक-अफ वेट क्षमता २९ हजार २ सय ५७ किलो छ भने पेलोड ८ हजार ६ सय ६९ किलो छ। यो जहाजको सीट क्षमता ८० रहेको छ।

३२ मिटर लम्बाइ रहेको जहाजको क्याबिन हाइट १.९५ मिटर छ भने क्याबिन वाइड्थ २.५१ मिटर र क्याबिन लेन्थ १८.८० मिटर रहेको कम्पनीले बताएको छ।