प्रधानमन्त्रीलाई खुसी पार्ने ‘चम्चा’ हरुबाट सामाजिक सुरक्षामा दबाब, बैंकर भन्छन्- छलफल गर्नेछौं

बिजमाण्डू
२०७६ मंसिर २६ गते १०:३३ | Dec 12, 2019
प्रधानमन्त्रीलाई खुसी पार्ने ‘चम्चा’ हरुबाट सामाजिक सुरक्षामा दबाब, बैंकर भन्छन्- छलफल गर्नेछौं


काठमाडौं। राष्ट्र बैंकमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षा कोषमा जान दबाब दिएपछि बैंकरहरू प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्षमा पुगेका छन्।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले बुधबार सबै बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा दर्ता हुन निर्देशन दिएको थियो। संघमा यो बारेमा औपचारिक छलफल भएको छैन, तर बैंकरबीच ब्यक्तिगत स्तरमा भएको कुराकानी अनुसार उनीहरू प्रधानमन्त्रीलाई नै भेटेर आफ्नो भनाइ सुनाउन चाहन्छन्।

'यहाँ त प्रधानमन्त्रीलाई खुसी पार्न उहाँको चम्चाहरू धेरै सक्रिय भएजस्तो लाग्यो,' एक बैंकरले भने, 'नभए सुविधा खोसेर भएपनि आउ भनेर जबर्जस्ती कसैले पनि गर्न सक्दैन। त्यही भएर एकपटक प्रधानमन्त्रीसँग पनि कुराकानी गर्नु पर्छ भन्नेमा हामी पुगेका छौं।'

बैंकर्स संघको अध्यक्षमा भर्खरै निर्वाचित भएका भुवन दाहालले सामाजिक सुरक्षाको उद्देश्य पाइरहेको सुविधा खोस्ने भन्ने पक्कै नभएको भन्दै यस बारेमा सरोकारवालाहरुसँग छलफल गरेर अगाडि बढ्ने बताए।

'हामी राष्ट्र बैंकसँग कुरा गर्छौं,' उनले भने, 'यसलाई छलफल गरेर टुंग्याउनु पर्छ।'

सामाजिक सुरक्षाभित्र नरहेकाहरुलाई सामाजिक सुरक्षाभित्र ल्याउने सरकारको उद्देश्य भएपनि केही बिषयमा द्वीविधा देखिएको उनले बताए। 

बैंकरहरू पहिलेदेखि नै उच्च सामाजिक सुरक्षामा रहेका छन्। सरकार भने सबैलाई कोषमा दर्ता हुन निर्देशन दिँदै आएको छ। सरकारको निर्देशन नमानेपछि बुधबार राष्ट्र बैंकमार्फत बाध्य पार्न खोजिएको छ।