भारतीय चोरीको गाडी नेपालमा बेच्ने विरुद्ध मुद्दा, पत्रकार भट्ट पनि गाडी चोरीमा समातिए

बिजमाण्डू
२०७६ मंसिर २६ गते १७:१२ | Dec 12, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। चोरीको भारतीय गाडी बेच्ने विरुद्ध राजस्व अनुसन्धानले मुद्दा दायर गरेको छ।

राजस्व अनुसन्धान विभागले जरीवाना र कैद सजायको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। जिल्ला नुवाकोट विदुर नगरपालिकाका सन्तबहादुर ओझा, सन्तोष राई, रन्जिप श्रेष्ठ, बैतडी पुचौडी भट्ना गाउँपालिका -८ का कृष्णानन्द भट्ट, वीरगंज महानगरपालिका -३ का निजामुद्धिन र तेह्रथुम आठराई गाउँपालिका -४ का अभयराज घिमिरे समेत ६ जनालाई मुद्दा दायर गरेको हो।

उनीहरुले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय नम्वर प्लेटका गाडीहरु नेपालमा ल्याई नक्कली नम्वर प्लेट लगाई विक्री वितरण गरेका थिए। उनीहरुलाई राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेधित एबं सोही ऐनको दफा ४९(क),४९(ख) र ४९(ग)बमोजिमको कसुरजन्य कार्य गरी १ करोड ७२ लाख राजस्व चुहावट गरेको विभागको जिकिर छ।

ऐनको दफा २९(छ)१० बमोजिम हुने जम्मा विगो मूल्यको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय माग दावी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ।

गाडी चोरीको र्याकेटमा संलग्न रहेका भट्ट पत्रकार हुन्। उनलाई १५ दिनदेखि विभागको हिरासतमा राखेको थियो। भट्ट झण्डै १५ वर्ष अघि राष्ट्रिय समाचार समिति(रासस)का भक्तपुर संवाददाता थिए। अनियमिततामा मुछिएपछि राससले त्यही बेला भट्टलाई निष्काशन गरेको थियो। उनले एनटिभी प्लसमा कार्यक्रम चलाउँथे। केही समय अघि उनले एजुकेशन टिभी समेत संचालनमा ल्याएका थिए।