अक्सन मार्केट सुचारू गरिँदै, जरिवाना वैज्ञानिक बनाइने, जानी जानी क्लोज आउट गर्नेका दिन सकिँदै

बिजमाण्डू
२०७६ मंसिर २७ गते ०९:२८ | Dec 13, 2019
अक्सन मार्केट सुचारू गरिँदै, जरिवाना वैज्ञानिक बनाइने, जानी जानी क्लोज आउट गर्नेका दिन सकिँदै

Tata
GBIME
Nepal Life

काठमाडौँ। शेयर कारोबारमा क्लोज आउटको समस्या समाधान हुने भएको छ । बोलकबोल बजार (अक्सन मार्केट) सुचारू गरेर यसको समाधान गर्ने तयारी केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)ले गरेको छ । अक्सन मार्केट सुचारू गर्न भन्दै सीडीएससीले एक अध्ययन उपसमिति गठन गरेको छ । 

सीडीएससीकी सञ्चालक प्रवीण पन्दाकको संयोजकत्वमा गठित उपसमितिले क्लोज आउटको समस्यामा अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरेको छ । 'हाम्रा दुई सदस्य हालै इण्डिया गएर त्यहाँको शेयर बजारको अभ्यासबारे बुझेर आउनुभएको छ,' उपसमिति संयोजक पन्दाकले भनिन्, 'हामीले अन्तर्राष्ट्रिय अभ्यासको समेत अध्ययन गर्‍यौं ।' 

अक्सन मार्केट सुचारू गर्नका लागि आवश्यक प्रविधिक सुधार र कानुनी पाटालाई समेत छलफलमा प्राथमिकता दिइएको उनले बताइन् । नेपालमा नयाँ र पहिलोपटक सेवा सुचारू गर्न लागिएकाले यसका कानुनी, प्राविधिक र व्यवहारिक पक्षलाई मिलाउन नेपाल स्टक एक्सचेन्ज, केन्द्रीय निक्षेप प्रणालीले यसलाई मिहिन रूपमा अध्ययन गरिरहेको पन्दाकको भनाइ छ । 

उपसमिति अध्ययनको प्रतिवेदन बुझाउने तयारीमा छ । सीडीएससी सञ्चालक समितिको निर्णयअनुसार नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा नेप्से र सीडीएससीले समितिको प्रतिवेदनले दिएका सुझावलाई कार्यान्वयनमा लैजाने छन् ।  

सोमबार यसै विषयमा उपसमितिले छलफल गरेको थियो । जसमा दुई विषय प्राथमिकतामा परे – क्लोज आउटको जरिवानालाई वैज्ञानिक बनाउने र राफसाफ अवधिलाई छोट्ट्याउने । समितिका एक सदस्यका अनुसार राफसाफको समय कसरी सीमित गर्ने र क्लोज आउटको जरिवाना वैज्ञानिक बनाउने विषय छलफलमा छ । हाल शेयर खरिद गरेको तीन दिनभित्रै कारोबार राफसाफ हुने गरेको छ । जसलाई सोही समयमा मिलान गर्नेगरी प्रविधिक पक्ष मिलाउनु पर्ने उपसमितिको अध्ययनमा देखिएको हो । 

हाल लगानीकर्ताले क्लोज आउटमा पर्दा २० प्रतिशत जरिवाना तिर्दै आएका छन् । जुन वैज्ञानिक नभएको उपसमितिको ठम्याई छ। किनकि लगानीकर्ताले जरिवाना तिर्दा बिक्री गरेको शेयर राफसाफ गर्दाको समयमा घटे वा बढे जे भएपनि २० प्रतिशत नै तिर्नु पर्छ । जुन न्यायोचित नभएको ठम्याई हो । यसलाई वैज्ञानिक बनाउन समितिले क्लोज आउटको जरिवाना तिर्दा वा कारोबार राफसाफ गर्दाको समयको मूल्यलाई आधार बनाउने उपाय निकालेको छ । जसले बिक्रीकर्ता वा खरिदकर्ता दुवैले बढी रकम तिर्नु पर्दैन । 

अक्सन मार्केट नभएकै कारण लगानीकर्ताले अनाहकमा २० प्रतिशत जरिवाना तिर्दै आएका छन्। आफूसँग नभएको शेयर बिक्री गरे लगानीकर्ता क्लोज आउटमा पर्ने गर्छन् । दोस्रो बजारमा कुनै लगानीकर्ताको १० कित्ता शेयर छ, तर उसले १० को ठाउँमा भुलवश सय कित्ताको आदेश दाखिला गरे नेप्सेको हालको कारोबार प्रणालीमा उसको आदेशअनुसार कारोबार सम्पन्न हुने गरेको छ । तर कारोबार राफसाफ गर्ने बेलामा लगानीकर्ताले बिक्री गरेको सबै शेयर दिनुपर्छ ।  लगानीकर्ताले शेयर दिन नसके कारोबार गरिएको मूल्यको आधारमा बाँकी रहेको ९० कित्ता शेयरको २० प्रतिशतले हुन आउने रकम जरिवाना तिर्नुपर्छ । 

जरिवानालाई वैज्ञानिक बनाएपछि कारोबार राफसाफ हुँदाको मूल्यमा लगानीकर्ताले जरिवाना तिर्नुपर्ने छ । बिक्रीकर्ताले बिक्री गरेको शेयरको मूल्य राफसाफ हुने दिन बढेको भए सोही मूल्यमा जरिवाना तिर्नु पर्ने छ भने घटेमा जरिवाना रकम घट्ने छ । यसले शेयर मूल्य बढ्ने आशंकामा जानी-जानी क्लोज आउटमा पर्ने अवस्थाको अन्त्य गर्ने उपसमितिको ठहर छ । 

अक्सन मार्केट सुचारू भएपछि क्लोज आउटमा परेको शेयर बोलकबोलमार्फत खरिद गरेर कारोबार राफसाफ गर्न सक्छन्। यतिबेला वास्तविक रूपमै लगानीकर्ता प्रणाली नबुझेर र भुलवश नै बढी क्लोज आउटमा पर्ने गरेको देखिएको छ । यसै कारण यसलाई यथासक्य चाँडै कार्यान्वयनमा लैजाने गरी काम गरिरहेको समिति संयोजकको भनाई छ । किनकि गत वर्षमात्रै ११ हजार ९ सय ९६ कारोबार क्लोज आउटमा पर्दा कारोबारीले ९ करोड ८१ लाख रूपैयाँ जरिवाना तिरेका थिए । चालु आर्थिक वर्षको पहिलो त्रैमासभित्रै ४ हजार ७ सय ६० कारोबार क्लोज आउटमा पर्दा २ करोड १६ लाख रूपैयाँ जरिवाना तिरिसकेका छन्। 

पछिल्लो समय धितोपत्र कारोबार सञ्चालन विनियमावली-२०७५ को परिच्छेद ६ मा अक्सन कारोबार सम्बन्धी व्यवस्था गरिएको छ। सोही व्यवस्थाअनुसार अक्सन मार्केट सुचारू गर्न लागिएको हो।