बैदेशिक रोजगारमा गएकालाई लक्षित गर्दै १० प्रतिशत ब्याजको ऋणपत्र, अबदेखि बर्षैभरी जारी गरिने 

बिजमाण्डू
२०७६ मंसिर २७ गते १०:३२ | Dec 13, 2019
बैदेशिक रोजगारमा गएकालाई लक्षित गर्दै १० प्रतिशत ब्याजको ऋणपत्र, अबदेखि बर्षैभरी जारी गरिने 

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले आउँदो १ गतेबाट वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ। वर्षैभरी वैदेशिक रोजगार बचतपत्र जारी गर्ने नीति अनुरूप पहिलो चरणमा करिव २५ करोडको निष्काशन गरिने भएको छ।

सरकारले वर्षभरीमा आन्तरिक ऋण १ खर्ब ९५ अर्ब रूपैयाँ उठाउने लक्ष्य राखेको छ। यसमध्ये एक अर्ब रूपैयाँ वैदेशिक रोजगार बचतपत्रमार्फत उठाउने योजना बनाएको छ।

वर्षैभरी निष्काशन गर्ने नीतिअनुसार पहिलो चरणमा २५ करोड हाराहारी जारी गरिने छ। यसको ब्याज दर १० प्रतिशत हुने छ। ब्याज भुक्तानी प्रत्येक ६/६ महिनामा हुनेछ।

'पछिल्लो १० वर्षको अवधिमा ऋणपत्रको बिक्री ५ प्रतिशत मात्रै देखियो। निश्चित समयमा मात्रै जारी गर्दा पर्याप्त प्रचारप्रसार हुन सकेन र बिक्री भएन,' राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बिजमाण्डूसँग भने, 'त्यही भएर हामीले वर्षैभरी बिक्री गर्ने नीति लिएका हौं। यसो हुँदा प्रचारप्रसार गर्न सकिन्छ।'

विदेशमा काम गर्न गएका नेपालीहरुलाई लक्षित गरि ऋणपत्र जारी गरिँदै आएको छ। यो ऋणपत्र वैदेशिक रोजगारमा गएकाहरूको परिवारले नेपालमै पनि खरीद गर्न सक्छन्। विदेशमा कमाएको पैसालाई नेपालमा लगानी गर्न सकियोस् भन्ने हिसाबले ऋणपत्र जारी गरिँदै आएको छ। तुलनात्मक रूपमा उच्च ब्याज दिँदा पनि यसमा आकर्षण भने देखिएको छैन।

बाँकी आन्तरिक ऋण उठाउनका लागि भने अर्थमन्त्रालयले तालिका बनाएको छैन।