जाडोसँगै विद्युतीय सामान बेच्ने मालामाल, हिटर, गिजर र जगको माग उच्च, कति छ मूल्य?

बिजमाण्डू
२०७६ मंसिर २७ गते १०:४९ | Dec 13, 2019
जाडोसँगै विद्युतीय सामान बेच्ने मालामाल, हिटर, गिजर र जगको माग उच्च, कति छ मूल्य?

Tata
GBIME
Nepal Life

काठमाडौं। जाडो बढेसँगै बजारमा हिटर र गिजरलगायतको खरिद-बिक्री बढेको छ। लोडसेडिङको समस्या हटेपछि इलेक्ट्रिक सामानको प्रयोग बढिरहेको सम्बद्ध व्यवसायीले बताएका छन्। 

घरमा जडान भएको १६ एम्पीएर क्षमताको बिजुलीबाटै चल्न सक्ने साना तर उपयोगी हुने सामानको प्रयोग बढेको हो। पानी तताउने र कोठा न्यानो पार्ने विद्युतीय हिटर, गिजर तथा इलेक्ट्रिक धाराहरूको प्रयोग बढेको छ।

घर र कार्यालयमा प्रयोग हुने सामानमा बिजुलीबाट चल्नेकै माग उच्च छ। इलेक्ट्रिक जग, कित्ली, थर्मस, हिटर, गिजर र हटपटहरूको माग गत वर्षभन्दा बढेको सिजी इलेक्ट्रोनिकका मार्केटिङ प्रमुख दिवाकर नगरकोटीले बताए। ग्यास र इलेक्ट्रिक दुवैबाट चल्ने हिटरको माग पनि बढिरहेको छ। जाडो मौसममा अत्यधिक बिक्री हुने ग्यास हिटर र गिजरको व्यापार भने गत वर्षको तुलनामा घटेको छ।

‘गत वर्षसम्म ग्यास हिटर को माग बढि थियो, यो वर्ष इलेक्ट्रिक हिटर बढि बिक्री भइरहेको छ ।’ लोडसेडिङ हटेपछि ग्यासभन्दा इलेक्ट्रोनिक सामानको माग बढेको व्यापारी मिनेश तुलाधरले बताउँछन्।  'सुविधाअनुसार इलेक्ट्रिक सामानको खरिदमा ग्राहकको रोजाइ फरक फरक छ,' उनले भने । 

घरबेटीले बत्तीको पैसा बढि लिने भन्दै कतिपय ग्राहक बिजुली धेरै खपत गर्ने इलेक्ट्रिक सामान छनोट गर्दैनन्। ‘मेरो त घरबेटीले बत्तीको पैसा युनिटकै १८ रूपैयाँसम्म लिन्छन्,' एक खरिदकर्ताले भने, 'त्यसैले इलेक्ट्रिकभन्दा ग्यास हिटर खरिद गर्न ठीक लाग्यो ।‘ सामसङ, एलजी, सोनी, भिडियोकोन, सिजी, गोदरेज, हिटाची, बाल्ट्रा, इलेक्ट्रोलक्स, सानफोर्ड र स्काईवर्थ लगायत कम्पनीका इलेक्ट्रोनिक सामाग्री बजारमा उपलब्ध छन्। सँगै चीनबाट आयात गरिएका सस्ता सामान पनि बजारमा छन् ।

बढिमा एक वर्ष वारेन्टी भएका ब्राण्डेड सामाग्री चीन, जापान, कोरिया र भारतमा उत्पादन भएर नेपाली बजारमा आएका छन्। बजारमा चीनबाटै आएका सामान धेरै रहेको व्यापारीहरू बताउँछन्। फरक फरक कम्पनीका बिभिन्न सुविधा सहितका हिटर बजारमा छन्। टेबलमा राखेर चलाउन सकिनेदेखि पूरै कोठा नै न्यानो बनाउने रूम हिटरसम्म बिक्री भइरहेको छ। लालटिन हिटर, क्वाड, हलोजन र फ्यान भएकादेखि यी सबै बिशेषता भएका ‘थ्री इन वन’ हिटरहरू बजारमा छन्।

ग्यास र बिजुली दुवैबाट चल्ने हिटर र फ्यान भएकाले आवश्यकताअनुसार प्रयोग गर्न सकिने सामानमा ग्राहकको रूचि बढेको हो। २ हजारदेखि २० हजारसम्म मूल्यका हिटर बजारमा छन्।

न्युनतम दुई हजार वाट बिजुली खपत गर्ने क्वार्ड हिटरले अन्यको तुलनामा बिजुली खपत बढि गर्ने प्राविधिक बताउँछन्। बिजुलीबाट चलाउन सकिने लालटिन हिटर वृद्धवृद्धाले रुचाएका देखिएको छ । उक्त हिटर चलाउँदै खाना तताउन पनि मिल्छ। यसले न्यनतम २५ सय वाटसम्म विद्युत खपत गर्दछ। ४ सय देखि १६ सय वाट विद्युत खपत गर्ने हलोजन हिटर खरिद गर्न व्यपारीले सुझाव दिने गरेका छन्।

विद्यत खपत कम हुने र अन गर्दा साथ ताप दिने भएकाले हलोजन उपयुक्त रहेको उनीहरू बताउँछन्। लोडसेडिङको समय अति उपयुक्त मानिएका ग्यास हिटरहरूको प्रयोग बिस्तारै कम हुँदै गएको छ। प्रयोग गर्न सहज हुने यस्ता हिटरले अन्यको भन्दा बढि ताप दिने गर्दछ।
ग्यास र विद्युत दुवैबाट चल्ने क्वाड हलोजन र फ्यान भएको ‘थ्री इन वन’ हिटर बढि बिक्री हुन थालेको छ।

भाडाको घरमा बस्नेहरूका लागि थ्री इन वन हिटर उपयुक्त हुने भएकाले यसको माग पनि बढेको हो । यस्ता हिटरहरू ११ सयदेखि १३ हजारसम्म मूल्यका छन्। यस्ता हिटर लकेज प्रोटेक्सन र हिट प्रोटेक्सन भएकाले सुरक्षित रहेको सिजी इलेक्ट्रोनिकका मार्केटिङ प्रमुख नगरकोटीले बताउँछन्।

ग्यास र इलेक्ट्रिक गरि दुई प्रकारका गिजर बजारमा छन्। गत वर्षसम्म अत्यधिक बिक्री हुने ग्यासका गिजर र हिटरभन्दा खरिद मूल्य केही बढि भए पनि पछिल्लो समय इलेक्ट्रिक सामानमा ग्राहकको आकर्षण छ। तौलका हिसाबले हलुका र जुनसुकै ठाउँ सारेर फिटिङ गर्न सकिने भएकाले भाडामा बस्नेहरूले बढि रुचाउने गरेका छन्। ग्यास गिजर ६ हजारदेखि १५ हजारसम्म मूल्यका छन् भने इलेक्ट्रिक गिजर दुई हजारदेखि २० हजार सम्मका छन्। 

त्यस्तै किचन तथा बाथरूमका धारामा सिधै जडान गर्न मिल्ने इलेक्ट्रिक धाराहरूको पनि बिक्री  बढेको छ। ५० डिग्रीसम्म पानी तताउन सक्ने यस्ता धाराहरूको माग बढि भएको व्यापारी बताउँछन। किचेनमा सिधै जडान गर्न सकिने यस्ता धाराहरू गृहणीको रोजाइमा छन्। यिनको बजार मूल्य २ हजारदेखि १० हजारसम्म छ।

इलेक्टिक जग र कित्ली चार सयदेखि तीन हजार रूपैंयाँसम्ममा पाइने सामान प्रयोग गर्न निकै सजिला मानिन्छन्। तीन लिटरदेखि ५० लिटरसम्म पानी तताउन र चिया-कफीसमेत बनाउन सकिने इलेक्ट्रिक जग, कित्ली र थर्मसको माग सबैभन्दा बढि भएको महाबौद्धका व्यापारी सुजित चन्दले बताए।