प्रतिवन्धपछि साढे दुई अर्बको बजार जोगाउँदै बंगलादेशी कम्पनी प्रान, नेपालमै जुस उत्पादन गर्ने

बिजमाण्डू
२०७६ मंसिर २७ गते १२:२७ | Dec 13, 2019
प्रतिवन्धपछि साढे दुई अर्बको बजार जोगाउँदै बंगलादेशी कम्पनी प्रान, नेपालमै जुस उत्पादन गर्ने


Tata
GBIME
Nepal Life

काठमाडौं। आयात रोकिएपछि बंगलादेशी बहुराष्ट्रिय कम्पनी प्रान फूड्सले नेपालमै जुस उत्पादन गर्ने भएको छ।

सरकारले इनर्जी ड्रिक्स र सिन्थेटिक जुस आयातमा पूर्ण प्रतिबन्ध लगाएपछि बंगलादेशी कम्पनीले नेपालमै उत्पादनको प्रक्रिया अघि बढाएको हो। प्रानको जुस वार्षिक साढे दुई अर्बको बिक्री हुन्छ। गर्मी महिनामा नेपालमै प्रानका जुस उत्पादन भएर बिक्री सुरू हुनेछ।

कम्पनीले नेपालमा आउटसोर्सिङमार्फत जुस उत्पादन गर्नेछ। नेपालमा प्रानका उत्पादन बिक्री वितरण गरिरहेको अदत फूड्सले जुस उत्पादन गर्नेछ। अदतले नेपालमै प्रान ब्राण्डको पोट्याटो क्रयाकर समेत उत्पादन गर्दै आएको छ। मूलपानीमा रहेको उद्योगबाट उत्पादित क्रयाकर नेपालमा केही वर्षमै लोकप्रिय बनेको थियो।

अदतले बुटवलमा रहेको उद्योग भाडामा लिएर प्रानका जुस उत्पादन गर्नेछ। अहिले उद्योग अपग्रेडेसनको काम भइरहेको छ। कम्पनीले नयाँ मेसिन थपेर गुणस्तरीय जुस उत्पादन गर्नेछ।

‘अहिले हामीले उद्योग अपग्रेडेसनको काम गरिरहेका छौं। संचालनमा रहेको उद्योगमा १५ करोड रुपैयाँ लगानी थप हुनेछ। चीन र जर्मनीबाट मेसिनरी ल्याइनेछ,’ अदत  फूड्सका संचालक रवि केसीले बिजमाण्डूसँग भने,’हामी बंगलादेशको गुणस्तरको जुस उत्पादन गर्नेछौं।’ उनका अनुसार सुरूमा लिची र फ्रुटो ब्राण्डको जुस मात्रै उत्पादन हुनेछ। ‘हामीले अहिले दुइवटा ब्राण्ड मात्रै उत्पादन गर्नेछौं। त्यसपछि टेट्रा प्याकमा पनि जुस उत्पादन गर्ने योजना छ,’ उनले भने।

जुस आयातमा प्रतिवन्ध लगाएपछि जेठ अन्तिम साता प्रानका अध्यक्ष एहसान खान चौधरी नेपाल आएका थिए। उनले काठमाडौं, पूर्व र मध्य नेपालको जुस उद्योगको स्थलगत भ्रमण गरेर स्थानीय उद्योगले प्रयोग गरिरहेको प्रविधि र जुसको गुणस्तरबारे चासो राखेका थिए। चौधरीले उद्योगीबाहेक अर्थशास्त्री डा. पोषराज पाण्डेसँग समेत छलफल गरेका थिए।

जग्गा खरिद गरेर पूर्वाधार निर्माण र उत्पादन सुरू गर्न एकदेखि दुई वर्ष लाग्ने भएकोले तत्कालै उत्पादन थाल्ने विकल्पबारे प्रान फुड्सले अध्ययन र स्थानीय उद्योगसँग सम्भावित साझेदारीको विषयमा छलफल गरेका थिए। त्यतिबेला उनले चलिरहेको उद्योग पूर्ण स्वामित्व हस्तान्तरण गर्ने, दोश्रोमा कम्तीमा १० वर्षको लागी उद्योग बहाल (लिज) मा दिने र तेश्रोमा ब्राण्ड फ्रेन्चाइज लिएर मुनाफा बाँडफाट गर्ने विकल्प छलफल गरेका थिए।

प्रानले जुस र क्रयाकर बाहेक चकलेट, चुइङगम पनि नेपालमा बिक्री गर्छ। प्रानले बाराको सिमरामा आफ्नै लगानीमा चकलेट चुइङगम, वेफर (कन्फेक्सनरी) लगायतको उत्पादन गर्ने उद्योग संचालन गरिरहेको छ।