कोलकाता बन्दरगाहमा सुपारीबारे सोधपुछ, १० दिन रोकिए कन्टेनर, केराउ र छोकडामा पनि चासो

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७६ मंसिर २७ गते १६:०४ | Dec 13, 2019
कोलकाता बन्दरगाहमा सुपारीबारे सोधपुछ, १० दिन रोकिए कन्टेनर, केराउ र छोकडामा पनि चासो


Tata
GBIME
Nepal Life

विराटनगर। समुद्रपारका मुलुकबाट आयात भई अनधिकृत रूपमा भारत पठाइने मालवस्तुका बारेमा सरकारले कोलकाता बन्दरगाहमै सोधपुछ गर्न थालेको छ।

कोलकातास्थित महावाणिज्यदूतको कार्यालयले नेपाल पैठारी हुन लागेका ५० कन्टेनर सुपारीका बारेमा सोधपुछ गरेको हो। सोधपुछका कारण कन्टेनर २ हप्तासम्म कोलाकातामै थन्किएका थिए। सोधपुछ गरिएका ५० मध्ये ४० कन्टेनर वीरगञ्जका र १० कन्टेनर झापाका पैठारीकर्ताका रहेको बुझिएको छ।

महावाणिज्यदूत एकनारायण अर्यालले पैठारी भई नेपाल जान लागेका सुपारीका बारेमा सोधपुछ गरिएको पुष्टि गरे। ‘यति धेरै सुपारी कुन प्रयोजनले नेपाल लैजान खोजिएको हो भनेर हामीले सोधपुछ गरेका हौं,' अर्यालले भने, ‘पैठारीकर्ताको जवाफ आएपछि छाडिएको हो।’ आयातकर्ताले नेपालमा भएका गुट्खा उद्योगलाई सुपारी बिक्री गर्ने उद्देश्यले आयात गरेको उत्तर दिएका थिए।

अवैध व्यापार मौलाएको गुनासो धेरै आएपछि सुपारीको आयातमा चासो राखेको र सोधपुछ गरिएको अर्यालको भनाइ थियो। नेपालमा धेरैजसो इन्डोनेसियाबाट सुपारी पैठारी गरिन्छ । इन्डोनेसियाबाट आउने सुपारीलाई लाली सुपारी पनि भनिन्छ। गुणस्तरका दृष्टिले सबैभन्दा तल्लो स्तरको यही हो। तर यही सुपारी गुट्खा लगायतका पानमसलाको कच्चा पदार्थका लागि प्रयोग गरिन्छ।

इन्डोनेसियामा लाली सुपारीको मूल्य अहिले प्रतिटन ९ सयदेखि हजार डलर छ। भन्सार विभागले लाली सुपारीको मूल्यांकन प्रतिटन १ हजार ५० डलर तोकेको छ। त्यस्तै मलेसियाबाट आउने सुपारीको मूल्यांकन ११ सय ५० र थाइल्यान्डबाट आउने सुपारीको १२ सय ५० डलर छ। थाइल्यान्डको सुपारी सबैभन्दा राम्रो र मलेसियाको मझौला गुणस्तरको मानिन्छ।

भारतका छिमेकी बजारमा अहिले सुपारीको मूल्य नेपालभन्दा प्रतिकिलो ६० देखि ८० रूपैयाँ बढी छ। त्यसैले सीमा क्षेत्रबाट सुपारीको तस्करी भइरहेको छ। नेपालमा लाली सुपारी प्रतिकिलो २ सय रूपैयाँ छ भने भारतीय बजारमा भारु २ सय अर्थात नेरू ३ सय २० रूपैयाँ छ । यही फरकका कारण सुपारीको अवैध धन्धा अझै कायम छ।

नेपाल सरकारले सुपारीको आयातमा भन्सार महसुल प्रतिकिलो ४५ रूपैयाँ र थप ५ प्रतिशतसहित भ्याट असुल गर्छ। व्यवसायीका अनुसार सुपारी आयातमा प्रतिकिलो एक सय रूपैयाँको खर्च छ। केही समययता बर्माबाट भारततर्फ भइरहेको सुपारी तस्करी बन्दप्रायः छ। त्यसैले नेपालबाट हुने तस्करी बिस्तारै मौलाएको छ। यसबाहेक बंगलादेश र श्रीलंकाबाट पनि भारतमा सुपारी तस्करी भएर जाने गर्छ।
भारतमा सुपारीको सबैभन्दा ठूला मन्डी बनारस, कानपुर र नागपुर मानिन्छन्। तर उत्तर प्रदेश, विहार र पश्चिम बंगाल राज्यका सीमान्त बजारमा नेपालबाट जाने सुपारीको बर्चस्व छ।

महावाणिज्यदूतको कार्यालयले कोलकातामा सुपारीको कन्टेनरलाई सोधपुछ गरे पनि नेपाल भित्रिएर भारत तस्करी भई जाने अन्य धेरै मालवस्तुका बारेमा चासो नलिएको पाइएको छ। व्यापारिक स्रोतका अनुसार केही समययता सबैभन्दा बढी तस्करी भई भारत जाने हरियो र पँहेलो केराउ हो। त्यस्तै सुकुमेल, मरिच र छोकडा पनि तस्करी भएर जाने मुख्य वस्तुमा पर्छन्। तर सरकारको आँखा सुपारीमा मात्र परेको छ ।

‘हामीले सुपारीको सोधपुछबाट काम सुरू गरेका मात्र हौं,' महावाणिज्यदूत अर्यालले भने, ‘विस्तारै अरू वस्तुका बारेमा पनि अध्ययन गर्दैछौं र आवश्यक सोधपुछ गर्नेछौं ।’