८० अर्ब लगानी भएको पोल्ट्री व्यवसाय पनि संकटमा, १० दिन कुखुराको चल्ला उत्पादन बन्द

बिजमाण्डू
२०७६ मंसिर २७ गते २१:११ | Dec 13, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। लागतभन्दा कममा कुखुराको मासु र अण्डा बिक्री गर्नुपर्ने अवस्था भएपछि ह्याचरी उद्यमीले चिकेन होलिडेको निर्णय गरेका छन्।

ह्याचरी उद्यमीको शुक्रबार चितवनमा भएको राष्ट्रिय भेलाले आइतबारदेखि अर्को मंगलबार १० दिनसम्म चल्ला उत्पादन र बिक्री वितरण नगर्ने निर्णय गरेका हुन्। अब आउने आइतबारदेखि अर्को आइतबारसम्म सेटर मेसिनमा सेट गरिएका ह्याचिङ अण्डा नष्ट गर्ने र मंगलबारसम्म ब्रोइलर,कलर ब्रोइलर र क्रोइलर चल्ला बिक्री वितरण नगर्ने निर्णय गरिएको छ। १० दिन चल्ला बिक्री बन्द हुनेवित्तिकै कुखुरा उत्पादन कम हुनेछ। ब्रोइलर र लेयर्स गरी देशभर हप्तामा २५ लाख चल्ला उत्पादन हुन्छ।

ह्याचरी उद्योग संघका अध्यक्ष गुणचन्द्र विष्टले पोल्ट्री व्यवसायमा ठूलो नोक्सानी ब्योहोर्नु परेपछि चिकेन होलिडे गर्नुपर्ने अवस्था आएको बताए। ‘पोल्ट्री व्यवसाय डेढ वर्षदेखि संकटमा छ। पशुपंक्षी मन्त्रालयदेखि अर्थमन्त्रालयसम्म हाम्रो समस्या भन्यौं। तर कसैले पनि हाम्रो समस्या सुनुवाई गरेनन्,’ उनले बिजमाण्डूसँग भने,’एउटा आत्मनिर्भर भएको क्षेत्रको संकटलाई सुन्दै नसुनेपछि हामीले यो निर्णय गर्न बाध्य भएका हौं।’

उनका अनुसार सरकारले तत्कालै यो क्षेत्रलाई बचाउने हो भने रिफाइनान्स र ऋणको रिसेड्युलिङ गरिदिनुपर्छ। ‘धेरै उद्यमी ऋणमा डुबिसकेका छन्। उनीहरूलाई बचाउन सकिएन भने यो क्षेत्र धरासायी हुन्छ। त्यसपछि हामीले अर्बौ रूपैयाँ तिरेर कुखुराको मासु र अण्डा आयात गर्नुपर्ने अवस्था आउँछ,’ विष्टले भने,’सरकारले बेलैमा समस्या समाधानको पहल गरेन भने कुखुरापालक किसान पनि ऋणमा डुब्ने छन्। स्थिति भयावह भएकाले हामीले बेलैमा सचेत गराएका हौं।’

मागभन्दा आपूर्ति बढी भएपछि अहिले किसानले बोइलर जिउँदो किलोको १ सय ५० रूपैयाँ र अण्डा प्रतिगोटा ८ रूपैयाँमा बिक्री गरिरहेका छन्। चितवन रत्ननगरमा कुखुरा पालिरहेका शिवहरि भण्डारीका अनुसार अहिले डेढ सय किलोमा कुखुरा बेच्दा लागत पनि उठ्दैन।

‘चितवनमा पछिल्लो तीन/चार वर्षको अवधिमा कुखुरापालनको लहर नै चल्यो। प्रत्येक गाउँमा एक हजार कुखुरा पाल्ने युवाहरूको समूह नै थियो,’ उनले भने, ’कुखुरा र अण्डा मागभन्दा धेरै उत्पादन भए। दानाको भाउ बढ्दा किसानको लागत पनि बढ्यो। त्यसपछि किसानले लागत पनि नउठाइ कुखुरा र अण्डा बिक्री गर्न बाध्य भए। अहिले हजारवटा कुखुरा पाल्ने ऋणको भूमरीमा परेका छन्।’

पहिले ५० रूपैयाँ प्रतिकिलो पर्ने कुखुराको दाना अहिले ५५ देखि ६५ रूपैयाँ प्रतिकिलो पुगेको छ। अहिले ब्रोइलर कुखुराको तयारी मासुको मूल्य थोक २ सय ८० र खुद्रा तीन सय रूपैयाँ प्रतिकिलो छ। देशभर दैनिक पाँच सय टन मासु उत्पादन हुन्छ। अहिले नेपालमा दैनिक ४० लाख गोटा अण्डा उत्पादन हुन्छ । उनका अनुसार सानो तहमा कुखुरा पालेका किसान ऋणसँगै पलायनको क्रम समेत बढेको छ।

पोल्ट्री क्षेत्रमा भएको ८० अर्ब रूपैयाँ हाराहारीको लगानीमध्ये करिब आधा लगानी चितवनमा भएको छ। आत्मनिर्भर मानिएको पोल्ट्री क्षेत्र तहसनहस हुनेबित्तिकै समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने सम्भावना देखिन्छ ।

मासुका लागि पालिने ब्रोइलर कुखुराको चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग नेपालमा दुई सयभन्दा बढी छन्। अण्डाको लागि पालिने लेयर्स कुखुराका चल्ला उत्पादन गर्ने ह्याचरी १४ वटा छन्। देशको कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा चार प्रतिशत योगदान रहेको पोल्ट्रीमा देश आत्मनिर्भर मानिएपनि औषधि र कच्चापदार्थका लागि भारतको भर पर्नुपर्ने अवस्था विद्यमान छ।