काठमाडौं। पाइपलाइनबाट डिजल आउन थालेपछि नेपाल आयल निगमलाई ढुवानीमा मात्रै होइन डिपोको नोक्सानी समेत राहत मिलेको छ।
अढाइ महिनाअघि मोतिहारी-अमलेखगंज पेट्रोलियम पाइपलाइन संचालनमा आएपछि तापक्रममा हुने नोक्सानीमा निगमलाई राहत भएको हो। अमलेखगंज डिपो प्रमुख प्रदीप यादवले पाइपलाइनबाट डिजल आउन थालेपछि मासिक दुई करोड नोक्सानी घटेको बताए।
‘ट्यांकरमा तेल ल्याउँदा भारत र नेपालको तापक्रमका कारण नोक्सानी धेरै हुन्थ्यो। तर अहिले पाइपलाइनबाट आउँदा तापक्रम नोक्सानी छैन,’ उनले बिजमाण्डूसँग भने,’भारतबाट जति तापक्रममा पठाएको हो, त्यही तापक्रममा हामीले पाउँछौं।’ उनका अनुसार डिपोमा राखेपछि भने केही तापक्रममा घटबढ हुँदा नोक्सानी हुन्छ।
‘ट्यांकरमा ल्याउँदा भारतमा उच्च तापक्रम हुँदा डिजल विस्तार हुने र नेपालको तापक्रम कम हुँदा खुम्चिने गर्दा डिपोमा नोक्सानी धेरै हुने गर्थ्यो। तर अब यो समस्या डिजलको हकमा यहाँ समाधान भएको छ,’ यादवले भने।
निगमले प्रत्येक डिपोलाई विभिन्न प्राविधिक नोक्सानीको लक्ष्य दिएको हुन्छ। डिपोमा तापक्रम नोक्सानी सबैभन्दा ठूलो समस्या हो। १५ वर्षअघि त्यही अमलेखगंज डिपोमा प्राविधिक नोक्सानी बढी देखाएर डिपो प्रमुखले अनियमितता गरेको भन्दै कारवाही समेत गरेको थियो।
भारतको मोतिहारीदेखि नेपालको अमलेखगंजसम्मको ७० किलोमिटर लम्बाइको पाइपलाइन गत भदौ २३ गते उद्घाटन भएर संचालनमा आएको हो। उक्त पाइपलाइन संचालनमा आएपछि नोभेम्बरमा ६९ हजार किलोलिटर डिजल आएको थियो भने डिसेम्बरमा ३० हजार किलोलिटर आइसकेको छ।
पाइपलाइनबाट पेट्रोल डेढ वर्षपछि मात्रै
पाइपलाइनबाट पेट्रोल डेढ वर्षपछि मात्रै आउने भएको छ। अमलेखगंजमा डिपो तयार नभएकोले डेढ वर्षपछि मात्रै पेट्रोल पाइपलाइनबाट आउने छ। ‘पेट्रोलका लागि पूर्वाधार तयार नभएकाले तत्कालै ल्याउन नसकिएको हो,’ निगमका केन्द्रीय कार्यालयका एक कर्मचारीले भने,’त्यसैले सबै तयार पार्दा डेढ वर्ष लाग्ने देखिएको छ।’
बरौनीबाट डिजल ल्याउन बन्द
पाइपलाइनबाट डिजल आउन थालेपछि बरौनीबाट ल्याउन बन्द गरिएको छ। बरौनीबाट डिजल ल्याउन बन्द गरिएपछि त्यहाँ संचालनमा रहेका ट्यांकरलाई विभिन्न स्थानमा स्थानान्तरणको तयारी भइरहेको छ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले बरौनी रूटमा संचालन हुने ९० वटा ट्यांकर स्थानान्तरणका लागि पत्र पठाइसकेका छन्। स्रोतका अनुसार डिजल बोक्ने ती ट्यांकरलाई निगमका अन्य डिपोमा स्थानान्तरण गरिने छ।