नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध, भन्छन्- अटो कर घटाउनु मेरो मुख्य उद्देश्य

बिजमाण्डू
२०७६ मंसिर २९ गते १४:२५ | Dec 15, 2019
नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध, भन्छन्- अटो कर घटाउनु मेरो मुख्य उद्देश्य

Tata
GBIME
Nepal Life

काठमाडौं। सवारीसाधनहरूका आधिकारिक बिक्रेताहरूको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएशन नेपालको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध चयन भएका छन्। 
अध्यक्ष पदका आकांक्षी प्रकाश कपुरीले मनोनयन दर्ता नगराएपछि दुलालसँगै १९ सदस्यीय कार्यसमिति दुई वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएको हो । संगठनले आइतबारका लागि मनोनयन दर्ताका लागि मिति तय गरेको थियो।

संघको आगामी पुस ४ गते हुने वार्षिक साधारण सभामा कार्यसमिति निर्वाचन र जिम्मेवारीको औपचारिक घोषणा हुने छ। नवनिर्वाचित अध्यक्ष दुलालले साधारण सभामा औपचारिक रूपमा अध्यक्ष पद ग्रहण गर्नेछन्। दुलाल र कपुरीले यस अघिको कार्यसमितिमा उपाध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै आएका थिए। उपाध्यक्षहुँदै दुलाल नेतृत्वको जिम्मेवारी सम्हाल्नुअघि सदस्य र कोषाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका हुन् ।

नाडाको विधानअनुसार १९ जनाको कार्यसमिति हुनेछ । यसमा अध्यक्षबाहेक १४ जना साधारण सदस्यबाट र चारजनाले संस्थागत तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।  मुलुकमा हुँदै आएको सवारीसाधन बिक्रीवितरणको व्यवसायलाई अझ सुदृढ गर्न भुमिका खेल्ने आफ्नो मुख्य योजना रहेको दुलालले बताएका छन्। 'अटोमोबाइल बिजनेस नेपालको अर्थतन्त्रको मेरुदण्ड हो। यसलाई अहिले पनि अस्थायी व्यवसायका रूपमा बुझिँदै आइएको छ,' अध्यक्षमा निर्वाचित भएपछि उनले बिजमाण्डूसँग भने, 'यो क्षेत्रबाट मुलुकको अर्थतन्त्र विस्तार र यो व्यवसायलाई स्थापित बनाउनका लागि हामी लागि पर्नेछौँ।' 

अटोमोबाइल व्यवसायलाई प्रवर्द्धन गर्नका लागि सरकारले लागू गर्दै आएको करको प्रतिशत न्यूनीकरण गर्नु मुख्य उद्देश्य रहेको उनले बताए। 'मेरो भुमिका भनेको संघ र सरकार बीचको पुल हो,' उनले भने, 'यो व्यवसायलाई दिगो र स्थापित बनाउनका लागि मैले पुलको भुमिका निर्वाह गर्नेछु।' उनले भने।