श्रम अदालतको फैसला कार्यान्वयन नभएपछि नेकन केबि प्लास्टोमा काम रोकियो, मजदुर धर्नामा

बिजमाण्डू
२०७६ मंसिर २९ गते १६:१७ | Dec 15, 2019


वीरगंज। वीरगंज महानगरपालिका वडा नं ३२ चोर्नीमा रहेको नेकोन केबि प्लाष्टो ईण्डष्ट्रि प्रालिका मजदुरहरु आन्दोलित भएका छन् ।

Tata
GBIME
Nepal Life

श्रम अदालत काठमाडौंको निर्णयलाई उद्योग व्यवस्थापन पक्षले कार्यान्वयन नगरेपछि त्यहाँका मजदुरहरु धर्ना शुरु गरी आन्दोलन थालेका हुन् ।

तीन वर्ष पहिले काम गर्दै आएका मजदुरलाई बिना कारण काममा आउन रोक लगाएपछि श्रम अदालत गएका मजदुरहरुको पक्षमा अदालतले गरेको निर्णय गरिदिएपनि उद्योगले कार्यान्वयन नगरेपछि मजदुर आन्दोलित भएका हुन्।

उद्योगका मजदुर सुनिलकुमार बर्मासहित १७ जना मजदुरलाई बिना कारण उद्योगले कारखानाबाट हटाएकोले अन्यायमा परेको भन्दै मजदुरहरु श्रम अदालत गएका थिए।

श्रम अदालत काठमाडौंले २०७६ असार ५ गतेको मजदुरको पक्षमा फैसला सुनाएको थियो । फैसला अनुसार श्रम तथा रोजगार कार्यालयले २०७६मंसिर ९ गते उद्योगलाई सम्मानित अदालतको निर्णय कार्यन्वयन गर्न पत्राचार गरेको भएपनि हालसम्म पनि मजदुरहरुको पुनर्वहाली भएको छैन।

अदालतले बर्मासहित १७ जना मजदुरलाई पत्र प्राप्त भएको मितिदेखि रोजगार सम्झौता गरी काममा लगाउनुपर्ने निर्देशन दिएको उल्लेख छ ।

तर उद्योगले तत्काल उद्योगमा मजदुरको आवश्यकता नभएका कारण देखाउँदै निजहरुलाई काममा नराखेकोले मजदुरहरु उद्योगको मुलगेट अगाडि धर्नामा बसेको मजदुर नेता बेनी तिमिल्सिनाले बताए ।