पूर्वका ३ जिल्लामा रेलवे आयोजनाको डिजाइन तयार, १२६ किमी रेलमार्गको कुल लागत अनुमान ९० अर्ब

बिजमाण्डू
२०७६ मंसिर २९ गते १६:५४ | Dec 15, 2019

Tata
GBIME
Nepal Life

विराटनगर। रेल विभागले मेची–महाकाली रेलवे आयोजनाअन्तर्गत पूर्वको इनरुवा–काँकडभिट्टा खण्ड र इटहरी–विराटनगर लिंकको निर्माणका लागि डिजाइन तथा विस्तृत प्रतिवेदन तयार पारेको छ ।

प्रतिवेदनअनुसार इनरुवा–काँकडभिट्टा खण्ड १ सय ६. ५९ र इटहरी–विराटनगर लिंक २०.१६ किलोमिटरको हुनेछ ।
आयोजनाको कुल अनुमानित खर्च ९० अर्ब हुनेछ ।

प्रस्तावित रेल परियोजना नेपालको प्रदेश नम्बर १ तराइको पूर्व भागको सुनसरी, मोरङ र झापा गरी तीन जिल्लामा पर्छ । परियोजनाको आरम्भ विन्दु सुनसरी जिल्लाको पूर्व पश्चिम राजमार्गको दक्षिणी भागपट्टिको इनरुवा बस्तीनजिक पर्छ ।

अन्तिम विन्दु काँकडभिट्टा स्टेसन महेन्द्र राजमार्गको एक किलोमिटर दक्षिण र मेची नदीको २ किमि पश्चिममा पर्छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको लगभग २.५ किमि दक्षिणमा समानान्तर हुने गरी यस रेल मार्गको प्रस्ताव गरिएको छ । रेलमार्गको चौडाइ साढे सात मिटर र क्षेत्राधिकार ५० मिटर हुनेछ ।

रेल विभागका इन्जिनियर रिकेश चित्रकारका अनुसार प्रतिघण्टा २ सय किमिको गतिमा चल्ने विद्युतीय रेल सञ्चालन गरिने छ ।
इनरुवा–काँकडभिट्टा खण्डमा १० र इटहरी–विराटनगर लिंकमा एउटामात्र स्टेसन राखिएको छ ।

आयोजनाले खेती गरिएको जमिनको करिब ५ सय १३ हेक्टर, जल क्षेत्रको ५४ हेक्टर, बस्तीको ३३, वन क्षेत्र २० र सडक क्रसिङको १७ हेक्टर ओगट्ने छ । आयोजना क्षेत्रमा ४ हजार घरधुरीहरूबाट सम्मिलित जग्गाका ५ हजार १ सय १८ कित्ता र बस्ती क्षेत्रका घरका ५ सय ५० संरचना प्रभावित हुनेछन् । निजी संरचनाको क्षतिपूर्तिका लागि ९ करोड ८७ लाख ५६ हजार लाग्ने अनुमान गरिएको छ ।

त्यस्तै मार्गरेखा, स्टेसन क्षेत्र र प्रसारण लाइनसँगैको निजी जमिनको अधिग्रहण गर्न २० करोड ६३ लाख लाग्ने देखिएको छ ।

आयोजना निर्माणमा २ करोड २६ लाख घनमिटर माटो उत्खनन् गरिनेछ भने २ लाख ८७ हजार घनमिटर बालुवा, १८ लाख घन मिटर ग्राभेल ढुंगा र ३ लाख ७६ हजार घन मिटर बाउल्डर ढुंगाको प्रयोग गरिने छ ।

कानुनअनुसार जमिन अधिग्रहण गरी जग्गाधनीहरूलाई भू–उपयोग अनुसार उपयुक्त क्षतिपूर्ति दिइने इन्जिनियर चित्रकारले बताए ।

अधिग्रहण गर्नुपर्ने जग्गाको वास्तविक लागत क्षतिपूर्ति निर्धारण समितिले निर्धारण गर्नेछ । आयोजनाबाट ८ हजार ४ सय ३० भन्दा बढी रुखहरू समेत प्रभावित हुने बताइएको छ ।