तीन आउडी कार भित्रिएपछि ‘अलर्ट’ बनेको भन्सारले दोस्रो लटमा मगाइएको थप तीन कार रोकिदियो

बिजमाण्डू
२०७६ मंसिर २९ गते १७:०४ | Dec 15, 2019
तीन आउडी कार भित्रिएपछि ‘अलर्ट’ बनेको भन्सारले दोस्रो लटमा मगाइएको थप तीन कार रोकिदियो


Tata
GBIME
Nepal Life

वीरगंज। प्रिन्सा मोटर्सले एक साताअघि मगाएको तीनवटा आउडी ब्राण्डका गाडी भन्सार कार्यालयले नेपाल ल्याउन रोकिदिएको छ। 

प्रकृया नपुर्‍याइ विलासी कार भित्रिन थालेपछि भन्सारले ल्याउन रोकिदिएको हो। प्रिन्साले यसअघि तीनवटा आउडी कार नेपाल ल्याएर बिक्री गरेको थियो। यसपटक आयात गरेको थप तीन कार भन्सारले नाकामै रोकिदिएको हो।

वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहमा आउडीका तीनसहित कुल १२ वटा विभिन्न कम्पनीका कारहरु थन्किएका छन्।

भन्सार जाँचपास गर्न आवश्यक पर्ने कागजात आयातकर्ताले पेश गर्न नसकेको कारण कारहरु भन्सार यार्डमै थन्किएका हुन्। दुई महिनादेखि कारहरू थन्किरहेका छन्। 

प्रिन्सा मोटर्सले रिटेलर कम्पनीबाट तीनवटा आउडी गाडी ल्याएर बिक्री गरेको थियो। चोर बाटोबाट विलासी गाडी भित्र्याएर बिक्री गरेको खुलेपछि भन्सारले गाडीको जाँचपासमा कडाइ गरेको थियो। 

श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले आवश्यक कागजपत्र बुझाउन नसकेकाले गाडी रोकिएको जानकारी दिए। एउटा टेस्ला, सुरूमा दुइवटा ज्यागुआर रोकिएको थियो। दशैंको बेला किशोर गियरले मगाएको ल्यान्ड रोभर कम्पनीको ६ वटा रेन्जरोभर कार पनि रोकिएको छ। 

‘गाडी रोकिएको बारे भन्सार विभागमा जानकारी गराएको छु,’ भन्सार कार्यालय प्रमुख श्रेष्ठले भने, ‘जफत गर्ने की के गर्ने विषयमा जवाफ आएपछि आवश्यक कारबाही अघि बढाउँछु।'

रेन्ज रोभरमा एउटा फुल इलेक्ट्रिक गाडी छ भने ५ वटा ब्याट्री र डिजेलबाट चल्ने हाइब्रिड कार छन्। एक साता अघि प्रिन्साले मगाएको थप तीन वटा आउडी गरी एक दर्जन कार भन्सार यार्डमा रोकिएको हो।

किशोर गियरको गाडी रोकिएको बारे त्यसका संचालक किशोर वादेले भन्सारले अनावश्यक दुःख दिने नियत राखेर बखेडा झिकेको बताउँदै आएका छन्।

‘महँगा गाडी धेरै बिक्री नहुने देशमा ल्यान्ड रोभरले आधिकारिक बिक्रेता दिँदैन। हामीले डिलरमार्फत गाडी मगाउने हो। हामीसँग सन् २०१६ मा डिलरसँग भएको सम्झौतापत्र छ। तर भन्सारले त्यो कागजातलाई मानेको छैन,’ उनले भने, ‘हामीले के कारणले भन्सार जाँचपास नभएको हो त्यसको लिखित जवाफ मागेका छौं। जवाफ दिन भन्सारले मानेको छैन।’

उनले गाडी रोकेर सरकारले पनि १५ करोड राजस्व गुमाइरहेको हिसाब सुनाउँदै भने, 'तर यहाँ विभिन्न प्रभाव र दबाबमा परेर गाडी रोक्ने काम भएको छ। कुनै समूहको पक्षपोषणका लागि गाडी रोकिएको छ।'