सिमेन्ट बोरामै १० रूपैयाँ बढ्यो, विक्रेतालाई दिने सहुलियत उद्योगीले हटाउँदा मूल्यवृद्दिको भार

बिजमाण्डू
२०७६ माघ ३ गते १२:३५ | Jan 17, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। अन्तर्राष्ट्रिय बजारको हवाला दिँदै डन्डीको भाउ बढेको दुई साता नबित्‍दै सिमेन्टको भाउ बोरामै १० रूपैयाँ बढेको छ। माग नै नबढेपनि डन्डीको भाउ बढेको मौका छोप्दै उद्योगीले सिमेन्टको पनि भाउ बढाएका हुन्।

एक हार्डवेयर बिक्रेताका अनुसार उद्योगले बिक्रेतालाई दिँदै आएका सबै स्कीम हटाएका छन्। हार्डवेयरले पाउने स्कीम हट्ने बित्तिकै सिमेन्ट बोरामा १० रूपैयाँ बढेको हो।

सबै उद्योगीले (कार्टेलिङ) गरेर सिमेन्टको भाउ बढाएको उनले बताए। 'सिमेन्टको माग नै छैन। तर डन्डीको भाउ बढेको मौका छोपेर उद्योगीले सिमेन्टको मूल्य बढाए,' ती बिक्रेताले भने, 'सरकार केही राजनीतिक मुद्दामा अल्झिएका बेलामा उद्योगीहरूले यसरी नै मिलेमतोमा मूल्य निर्धारण गर्छन्। सरकारका निकायहरूले पनि नहेर्ने भएकाले उद्योगीको मनोबल बढेको हो।'

सिमेन्ट उद्योगीहरू भने नोक्सानीमै पर्ने अवस्था आएका कारण मूल्य बढाउन बाध्य भएको बताउँछन्। 'सबैजसो उद्योग नोक्सानीमा जाने अवस्था आएपछि मूल्य बढाउनुपर्ने बाध्यता आएको हो,' एक उद्योगीले भने, 'सिजनमा समेत सिमेन्टको मूल्य र माग नबढेपछि धेरै उद्योगको ब्यालेन्स सीट राम्रो छैन।'

उद्योगीले मूल्य घटेको दाबी गरेपनि उपभोक्ता भने लाभान्वित हुन सकेका थिएनन्। अहिले पनि उपभोक्ताले ‌ओपीसी सिमेन्ट बोराको ७ सय ८० रूपैयाँ तिरिरहेका थिए भने पीपीसी सिमेन्ट ७ सय रूपैयाँ तिरिरहनु परेको थियो।

डन्डीको भाउ बढेको बढ्यै
एक महिनाको अवधिमा डन्डी उद्योगहरूले अन्तर्राष्ट्रिय बजारमा बिलेटको भाउ बढेको भन्दै किलोमा १० रुपैयाँ बढाए। एक महिना अघिसम्म भ्याट र अन्तःशुल्क बाहेक ६५ रूपैयाँमा बिक्री गरिरहेको डन्डीको मूल्य अहिले ७५ पुर्‍याएका छन्।

यो आधारमा उपभोक्ताले डन्डी प्रतिकिलो ८० रूपैयाँभन्दा बढीमा किन्नुपर्छ। लक्ष्मी स्टीलका संचालक शशि न्यौपानेले अन्तर्राष्ट्रिय बजारमा बिलेटको भाउ बढेकाले मूल्य बढाउन दबाब परेको बताए। 'अन्तर्राष्ट्रिय बजारमा बिलेटको भाउ दैनिक रूपमा बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थमा निर्भर हुने भएकाले यहाँ डन्डीको भाउ बढेको हो,' उनले बिजमाण्डूसँग भने, 'हामीले अन्तर्राष्ट्रिय बजारमा उतारचढाव अनुसार मूल्य निर्धारण गर्छौ।'

अन्तर्राष्ट्रिय बजारमा बिलेटको भाउ टनमै ८० डलर बढेर ४ सय ३० डलर पुगेको असर नेपाली बजारमा पनि डन्डीको भाउ परेको उनले बताए।
एक महिना अघिसम्म मागभन्दा आपूर्ति बढी भएको कारण देखाउँदै केही उद्योगले उत्पादन बन्द र केहीले क्षमताभन्दा कम उत्पादन गरिरहेका थिए। त्यो बेलामा उद्योगीले उत्पादित डन्डी बिक्री नभएर उद्योगमै थन्किएको जिकिर समेत गरेका थिए। भूकम्प पछिको पुनर्निर्माणका काम करिब करिब आधाभन्दा बढि भइसकेकाले बजारमा डन्डी र सिमेन्टको माग कम छ।

धेरै उद्योग भएपछि निजी घर निर्माणले मात्रै उनीहरूको बजार पर्याप्त छैन। ठुला परियोजनाहरू निर्माण भइरहेमात्रै डन्डी र सिमेन्टको बिक्री बढ्छ। सरकारले विकास खर्च बढाउन नसक्नुको असर निर्माण सामाग्रीको बजारमा परेको छ।

डन्डी र सिमेन्टको भाउ आन्तरिक कारणले बढ्दैन्

डन्डी र सिमेन्टको भाउ आन्तरिक कारणले भने बढ्ने अवस्था छैन। उद्योगीले तत्कालै नाफा खोज्दै मूल्य बढाएका हुन्। उनीहरु पछिल्लो ६ महिनामा नाफा कम हुनेबित्तिकै आत्तिन थालेका थिए। उनीहरू नाफा घट्ने बित्तिकै मूल्य बढाएर नाफामा जान खोजेका हुन्।

‘व्यक्तिगत घर बनाउनेको संख्या बढ्ने अवस्था छैन। कित्ताकाटले समस्या परिरहेका बेलामा राष्ट्र बैंकले व्यक्तिगत घर कर्जा लिन कर चुक्तादेखि ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा ५० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेपछि झनै ठप्प हुने अवस्था छ,’ एक व्यवसायीले भने, ’माग नै घट्ने अवस्थामा डन्डी र सिमेन्ट उत्पादकले छोटो समयमा नाफा कमाउन मूल्य बढाएका छन्। यो दीगो हुँदैन।’

उनका अनुसार नाकाबन्दीका समयमा पनि केही सिमेन्ट र डन्डी उद्योगले अस्वभाविक नाफा कमाउन मूल्य बढाएका थिए।