एक महिनायता अर्थमन्त्री खतिवडाको ‘बडी ल्याङ्वेज’ ले के भन्छ? ‘कम बोल्ने धेरै सुन्ने’ गर्न थाले

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७६ माघ ८ गते ०८:५८ | Jan 22, 2020
एक महिनायता अर्थमन्त्री खतिवडाको ‘बडी ल्याङ्वेज’ ले के भन्छ?  ‘कम बोल्ने धेरै सुन्ने’ गर्न थाले


Tata
GBIME
Nepal Life

काठमाडौं। आफ्नो चरित्रभन्दा ठीक उल्टो अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार जसरी आफूले कम बोलेर बैंकरका कुरा बढी सुने, त्यसलाई सहभागीहरुले आ-आफ्नै ढंगले विश्लेषण गरेका छन्।

तर, सबैको साझा विश्लेषण 'खतिवडा अर्थतन्त्र सुस्त भएकोमा पूर्ण रूपमा सहमत भइसकेका छन्' र उनी अर्थतन्त्रलाई गति दिन विभिन्न 'प्लेयर' को साथ खोजिरहेका छन् भन्ने छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले आर्थिक वृद्धिदर ६ प्रतिशत हाराहारी हुने प्रक्षेपण गरिसकेको छ। सार्वजनिक रुपमा मुद्रा कोषको प्रक्षेपणलाई अर्थमन्त्रीले खण्डन त गरेका छन्, तर गोप्य छलफलहरुमा अर्थतन्त्रमा केही सुस्तता देखिएको स्वीकार पनि गरेका छन्। यतिमात्रै होइन राजस्वको खाड्ल ८३ अर्ब रुपैयाँ पुगेपछि अर्थमन्त्री ‘अलर्ट’ देखिएका छन्।  अर्थमन्त्री भएपछि निजी क्षेत्रको कुरा नै सुन्न नचाहने खतिवडाले पछिल्लो समयमा साना साना सार्वजनिक कार्यक्रममा पुगेर व्यवसायीको मुद्दा गम्भीर रूपमा सुन्न थालेका छन्।

संयोगले अर्थमन्त्री भएका खतिवडाले बैंकरसँग अढाइ घण्टा छलफल गर्नुको अन्तर्य विगतका सहकर्मीसँग 'स्वस्थ सुझाव' लिनु थियो। लामो समय केन्द्रीय बैंकमा काम गरेर गभर्नर भइसकेका खतिवडा पछिल्लो समय विगतका सहकर्मीहरूसँग छलफल निकै पातलिएको थियो।

बैंकरसँग मात्र होइन महिना दिनयता अर्थमन्त्री खतिवडाको भाषणसँगै 'बडी ल्याङ्ग्वेज' पनि परिवर्तन भएको छ। कसैले सवाल उठाए त्यसलाई खण्डन गर्ने, सुझाव दिएमा प्रतिप्रश्न तेर्स्याउने कारणले पछिल्लो समय उद्यमी, ब्यवसायी, अर्थशास्त्री, बैंकर सबै अर्थमन्त्री खतिवडासँग टाढिदै गएका थिए। आफ्नै मन्त्रालयमा भेट्न बोलाउँदा समेत निजी क्षेत्रलाई बोल्नै नदिने खतिवडाले अहिले निजी क्षेत्रले लिएर गएको मुद्दालाई सम्बोधन गर्न भन्दै आन्तरिक रुपमा छलफल समेत गरिरहेका छन्।

'जब बजारबाट नीतिगत तहमा बसेर काम गर्ने मान्छे टाढिन्छ, त्यसको नकारात्मक असर अर्थतन्त्र, सर्वसाधारण सबैले भोग्नु पर्छ,' खतिवडा निकट एक अर्थशास्त्रीले भने, 'नभन्दै उहाँका कारण सम्बन्धहरुमा धाँजा फाट्यो र अर्थतन्त्रमा पनि समस्या देखिन थाले। अहिले ती फाटेका धाँजालाई टाल्ने पहलमा उहाँ लागेको हुनु पर्छ।'

बैंकिङ क्षेत्रको तथ्यांकमा अद्यावधिक थिए खतिवडा। तैपनि उनले बैंकरलाई सोधे-  'ऋण लगानीको वृद्धि कस्तो छ ? घटेको छ कि बढेको छ ?'

तथ्यांकमा प्रष्ट छ- गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकहरुले १८७ अर्ब निक्षेप उठाएर २५८ अर्ब ऋण दिएका थिए। यसपाली निक्षेप पोहोरभन्दा २९ अर्बले कम उठेको छ अर्थात ६ महिनाको वृद्धि १५८ अर्ब मात्र छ। ऋण पनि गत वर्षको पहिलो ६ महिनामा २५८ अर्ब बढी गएको थियो, यसपाली १९७ अर्ब बढी गएको छ। यो पोहोरको तुलनामा ६१ अर्ब कम हो।

ऋण किन सुस्त भयो भन्ने विषयमा बैंकरहरुले दुईवटा मुख्य तर्क राखे। पहिलो, आन्तरिक राजस्व विभागले कर चुक्ता र बैंकमा बुझाउने वासलात एउटै हुनुपर्ने कारणले साना तथा मझौला उद्यममा ऋण जान बन्द भएको छ। दोस्रो, राष्ट्र बैंकको पछिल्लो निर्देशनले कर चुक्ताको प्रमाणपत्र खोजेको र किस्ता तिर्ने अनुपात तोकेपछि ब्यक्तिगत ऋण पनि जान छाडेको छ।

बैंकरले सम्पत्ति शुद्धीकरणको कडाइले ठूला कर्पोरेट ऋण पनि जान छाडेको अर्को तर्क पनि थपेका थिए। बैंकरको कुरा सुनेपछि अर्थमन्त्रीले सकारात्मक जवाफ दिए- थ्रेसहोल्ड राखेर हुन्छ वा कसरी हुन्छ यसलाई मिलाउन सकिन्छ।

गत वर्ष पनि सरकारले पारम्परिक ढंगले नै विकास खर्च गरेको थियो। तर पोहोर बैंकिङ ऋण र निजी क्षेत्रको लगानीका कारण थुप्रै आर्थिक गतिविधि भए। समयमा पानी परेका कारण कृषि क्षेत्रको उत्पादन पनि राम्रो भयो। 

भूकम्प प्रभावित क्षेत्रमा निर्माणले गति लिँदा त्यसले पनि अर्थतन्त्रलाई गति दिएको थियो। सिमेन्ट, डन्डी उद्योगको विस्तार भएको थियो।

चालु वर्ष भूकम्पपछिको निर्माण लगभग सकिएको छ। यसपाली आउँछ भनेको मेलम्ची खानेपानी र तामाकोशी जलविद्युतको मिति सरेको छ। कृषि उत्पादन पनि पोहोर जति नहुने प्रक्षेपण सार्वजनिक भइरहेका छन्। सबैभन्दा महत्वपूर्ण- नीतिगत कारणले बैंक ऋण पनि सुस्त छ, र निजी क्षेत्रले गर्ने लगानी पनि घटेको छ।

अर्कोतिर सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनका कारण ठेकेदारले काम नपाउने अवस्था बनेको थियो। यसले गर्दा धेरै ठाउँको ठेक्का नवीकरण भएको थिएन। ठेकेदारले काम नपाएपछि विकास निर्माणको गति अस्वभाविक रूपमा सुस्त भएको थियो। अहिले सरकारले व्यवसायीको माग सम्बोधन गर्दै नवौं संशोधन गरेको छ। तर कामले गति लिन भने केही समय अझै लाग्ने छ।

चौतर्फी कारणले आर्थिक वृद्धि घट्ने भएपछि अर्थमन्त्रीले सरोकारवालाहरुसँग आफ्नो हिमचिम बढाएका हुन्। 'यही कुरा सुरूदेखि गरेर, अप्ठ्याराहरू फुकाउँदै हिँडेको भए अर्थतन्त्र एउटा लयमा हिँडिरहेको हुन्थ्यो,' छलफलमा सहभागी एक बैंकरले भने, 'ढिलै भएपनि उहाँले कुरा सुनेर समाधान गर्छु भन्नु भएको छ। देर हुवा दुरुस्त हुवा।'

सँधैभरी खतिवडालाई पुँजी बजारका विरोधी ठान्ने लगानीकर्ता पनि उनीप्रति सकारात्मक देखिएका छन्। खासगरी नेपाल स्टक एक्सचेञ्जको कार्यक्रममा खतिवडाले थुप्रै सुधारका कुरा मात्रै गरेनन्, बजेट निर्माणका बेला लाभांश कर घटाउन पुनर्विचार गर्ने आश्वासनसमेत दिएका थिए।

त्यसपछि अर्थमन्त्रीको 'ह्याङओभर' बाट बजार बाहिर आएको छ र सूचक तथा कारोबार रकम दुवै बढ्न थालेको छ।

सरकारले आयातमा कडाइ गरेका कारण ब्यापार घाटा त कम भयो, तर त्यसको 'साइड इफेक्ट' आन्तरिक उत्पादनमा पनि पर्‍यो। बिजुलीको उपलब्धता हुँदाहुँदै पनि उद्योगीहरुले आफ्नो उत्पादन बढाएनन्। सिमेन्ट र डन्डी उद्योग त केही समय बन्दै गरियो।

होटलमा आक्रामक ऋण दिएका बैंकरहरू पनि रोकिए। होटल अकुपेन्सी घट्ने तर होटल संख्या मात्रै बढ्दा ऋण डुब्ने खतरा उनीहरूले देखे। कम्पनी रजिष्ट्रारको कार्यालयबाट जारी भएको सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित व्यवस्थाले पनि लगानीकर्तामा सरकारप्रति शंका बढ्यो।

अर्थतन्त्रलाई अगाडि बढाउने निजी क्षेत्रका 'प्लेयर' हरूसँग संवाद नगर्ने, तर सँधै आफू सही छु भन्ने तर्क मात्र प्रस्तुत गर्ने बानीका कारण अर्थमन्त्रीका बारेमा नेकपा र प्रधानमन्त्रीसम्मै नकारात्मक रिपोर्टिङ निरन्तर भइरह्यो। नेकपाभित्र अर्थमन्त्रीका कारण जनतामा पार्टीको विश्वास गुम्न थालेको भनेर आरोप लगाउन थालियो। 

'अर्थमन्त्रीले भनेजस्तो नतिजा पनि नआउने र बाहिर भित्र सबैतिर विरोध मात्रै हुन थालेपछि उहाँले संवाद बढाउन थालेको अर्थमा बुझ्छु म,' खतिवडा सँगसँगै राष्ट्र बैंकमा काम गरेका एक अर्थशास्त्रीले भने, 'उहाँ आफैलाई पनि अहिले अप्ठेरो परेको थियो, किनभने गभर्नरका रूपमा बनाएको छवि अर्थमन्त्री भएपछि बिग्रिँदै गएको थियो।'

अर्थमन्त्रीसँग अढाइ घण्टा छलफल गरेर फर्किएपछि एक बैंकरले पुरानो कुरा सुनाए। 

खतिवडा गभर्नरबाट बाहिरिने बेला भइसकेको थियो। त्यसबेलासम्म खतिवडाको छवि कडा मिजासको भन्ने बनिसकेको थियो। त्यहीबेला बैंकरको एक फोरममा खतिवडाले भने- 'म गभर्नरबाट बाहिरिए पनि यही समाजमा हुन्छु। वित्तीय क्षेत्रबाट म टाँढा हुन्न। तपाईहरुलाई केही गाह्रो/साह्रो पर्यो भने सम्झिन सक्नु हुन्छ। गभर्नर भइसकेकाले नीतिगत तहमा लबिङ गराउन पनि तपाईँहरुलाई सजिलो हुन्छ। मबाट तपाईहरुले काम लिन सक्नु हुन्छ।'

यो पृष्ठभूमिपछि ती बैंकरले आफ्नो विश्लेषण सुनाए- उहाँ बाहिरिने बेलामा मिलनसार हुन खोज्ने मान्छे हो। फागुनमा समय सकिएर बाहिरिने पक्का भएका कारण पनि उहाँले अहिले सौहार्दपूर्ण सम्बन्ध राख्न खोजेको हुनु पर्छ।

बैंकरले अर्को एउटा तर्क पनि अगाडि सारेका छन्। जसरी खतिवडाले दीर्घकालीन सुधारका लागि बैंकरसँग छलफल गरे, त्यसको अर्थ हुनसक्छ उनले अर्थमन्त्रीका रुपमा निरन्तरता पाउँदैछन्। 'फागुनमा जाँदैछु भन्ने मान्छे लगभग बिदाइ मुडमा हुन्छ,' ती बैंकरले भने, 'तर उहाँ कन्फिडेन्स सुनिनु भएको थियो।'