चार उद्योगले लागू गरे सुरक्षित उत्पादन र सुरक्षामा मितव्ययिता, उद्योगको जोखिम कम गर्न सकिने

बिजमाण्डू
२०७६ माघ १० गते ११:१७ | Jan 24, 2020
चार उद्योगले लागू गरे सुरक्षित उत्पादन र सुरक्षामा मितव्ययिता, उद्योगको जोखिम कम गर्न सकिने

Tata
GBIME
Nepal Life

विराटनगर। मोरङ र सुनसरीका गरी चार उद्योगले मात्र ऊर्जामा मितव्ययिता र सुरक्षित उत्पादन कार्यक्रम लागू गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ समिति र वातावरण तथा आर्थिक समाज (सिड) द्वारा आयोजित सुरक्षित उत्पादन र ऊर्जामा मितव्ययिता कार्यक्रम पूर्वका चार उद्योगले मात्र कार्यान्वयनमा ल्याएका हुन्।

महासंघको प्रदेश नम्बर १ का उपाध्यक्ष राजेन्द्र राउतका अनुसार हुलास वायर, मैनावती स्टिल, पायोनियर इलेक्ट्रो केबल र पशुपति आइरनमा यो कार्यक्रम प्रभावकारी पाइएको छ।

उद्योगलाई सुरक्षित र वातावरणमैत्री बनाउन सिडले पूर्वका उद्योगहरूमा परियोजना सञ्चालन गरेको छ। प्रदेश १ समिति र सिडद्वारा आयोजित कार्यक्रममा उपाध्यक्ष राउतले उद्योगहरूमा उत्पादनका क्रममा निस्कने सबै किसिमका खेर जाने वस्तुको व्यवस्थापन, प्रदूषण नियन्त्रण र कार्यस्थलमा हुन सक्ने दुर्घटना कम गर्दै उत्पादकत्व वृद्धि गर्ने उपायहरु अपनाउनु पर्ने पक्षमा परियोजनाले सघाएको बताए।

कार्यक्रममा धातुजन्य उद्योगहरुमा कामदारको सुरक्षा एवं जोखिम कम गर्ने उपायबारे छलफल गरिएको थियो। हुलास वायरका तर्फबाट सञ्जीव झाले परियोजनाको कार्यक्रममा आबद्ध भएपछि उद्योगलाई फाइदा भएको स्पष्ट पारे।

चार वर्षयता कार्यक्रम अनुसारका विभिन्न उपाय अपनाएर उद्योगमा सुरक्षाको वातावरण बनाइएको साथै लागत कम हुने खालका प्रविधि उपयोग गरिएको उनको भनाइ थियो। पशुपति आइरनका दिनेश खड्गीले इन्धन बचत र ऊर्जा कम खपत गरी मितव्ययी रूपमा काम गर्ने उपाय अपनाउँदा उत्पादन लागत कम हुने गरेको अनुभव सुनाए।

मैनावती स्टिल इन्डस्ट्रिजका टिसी गुप्ताले उद्योगमा जोखिम धेरै कम गर्न सकिन्छ भन्ने परियोजनाको उद्देश्यअनुसार व्यवहारमा लागू गर्दा फाइदाजनक भएको पुष्टि गरे। परियोजनाका अधिकृत दुर्गाबहादुर कारञ्जितले सरोकारवालासित सहकार्य गर्न आफूहरू उत्साही भएको जानकारी दिए।