विद्युतको माग बढेपछि वितरण प्रणालीले धानेन, अहिलेको संरचनाले ५०० मेगावाट बढी धान्नै नसक्ने

बिजमाण्डू
२०७६ माघ १३ गते १५:१५ | Jan 27, 2020
विद्युतको माग बढेपछि वितरण प्रणालीले धानेन, अहिलेको संरचनाले ५०० मेगावाट बढी धान्नै नसक्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। गत महिना उपत्यकाका अधिकांश ठाउँमा झ्याप झ्याप बत्ती जाने/आउने समस्याले सबैलाई हैरान बनायो।

त्यसरी बत्ती जाँदा आम सर्वसाधारणलाई भन्दा बढि पिर परेको थियो नेपाल विद्युत प्राधिकरण र यसका कार्यकारी प्रमुख कुलमान घिसिङलाई।

त्यतिबेला उपत्यकाको विद्युत माग विगतको भन्दा १०० मेगावाट बढेपछि वितरण प्रणालीले धान्न नसक्दा झ्याप्प झ्याप्प बत्ती जाने समस्या आएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बिजमाण्डूलाई बताए।

'खासमा विगतमा उपत्यकाको विद्युत माग ३०० देखि ३५० मेगावाट सम्म मात्रै हुन्थ्यो।' अधिकारीले भने, 'यो पटक १०० मेगावाट जति माग थपिएर ४५० मेगावाट पुग्दा सिस्टमले धान्न सकेन। र झ्याप्प झ्याप्प बत्ती जाने समस्या आयो। त्यसरी क्षमता भन्दा बढी विद्युत प्रशारण गर्दा ठूलो दुर्घटना पनि हुन सक्थ्यो। तर झ्याप झ्याप बत्ती जाने/आउने भएकैले ठूलो दुर्घटना हुन भने पाएन।'

विद्युतीय चुल्होको प्रवर्द्धनमा लागेको प्राधिकरणलाई यतिबेलाको लोड व्यवस्थापनले निकै ठूलो पाठ सिकाएको छ। करिब एक हजार मेगावाट विद्युत प्रणालीमा थपिनै लाग्दा विद्युत खेर जान्छ की भन्ने चिन्ता एकातिर छ भने बैंकरदेखि प्राधिकरण नेतृत्वसम्मलाई विद्युत खेर जान्छ की भन्ने चिन्ताले उत्तिकै झकझक्याएको पनि छ। त्यसैले प्राधिकरणले विद्युत खपत बढाउन विद्युतीय चुल्हो देखि विद्युतीय सवारीसाधान प्रयोगमा जोड दिँदै आएको हो।

तर धेरै विद्युत माग हुने उपत्यकाको वितरण प्रणाली भने प्राधिकरणको टाउको दुखाइको विषय बनेको छ। यो वर्षको जाडो धान्न पनि प्राधिकरणले स्युचाटारमा ३० एमभिए, बालाजुमा २२.५ एमभिए र भक्तपुरमा पनि २२.५ एमभिए गरि करिब ८० एमभिए क्षमताको पावर ट्रान्सफर्मर थपेर बल्ल तल्ल काम चलाएको छ। त्यसैगरी धेरै ठाउँमा वितरण ट्रान्सफर्मर समेत थप गरिएको थियो।

त्यतिले पनि नपुगेर धेरै विद्युत खपत हुने घर तथा संघसंस्थाका कार्यालयमा त प्राधिकरणले मिटरको क्षमता बढाउन आग्रहनै गर्नुपर्‍यो। तर यी सबै टालटुल पारिएका तत्कालिन उपाय मात्रै हुन्। विद्युत माग व्यवस्थापनको लागि प्राधिकरणसँग दीर्घकालीय उपाय के छ त?

विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका नदी करिडोरमा वितरण प्रणाली विकास गर्ने योजना अघि सारेको छ। अहिलेको पुरानो वितरण संरचनालाई धेरै परिवर्तन गर्न सकिदैन भन्ने निष्कर्षमा प्राधिकरण पुगेको छ।

'अहिले अन्धाधुन्ध विकास गरिएका वस्तीका कारण सडकमा ट्रान्सफर्मर राख्ने ठाउँ नै छैन। कतै ठाउँ रहेछ भनेपनि सर्वसाधारणले ट्रान्सफर्मर राख्नै दिँदैनन्।' अधिकारीले भने, 'नयाँ ट्रान्सफर्मर राख्न नदिने हो भने अहिलेको वितरण प्रणालीले जेनतेन बढीमा ५०० मेगावाट विद्युत मात्रै प्रशारण गर्न सक्छ। त्यसैले वैकल्पिक वितरण प्रणाली विकास गर्न नदी करिडोरमा अध्ययन सुरु गरिसकेका छौ।'

विद्युतीय चुल्हो प्रयोग गर्दा उपत्यकाको वितरण प्रणाली दोब्बर बनाउनुपर्छ। अर्थात १०० वटा ट्रान्सफर्मर छन् भने २०० पुर्‍याउनु पर्छ। ५० वटा सवस्टेशन छन् भने १०० पुर्‍याउनुपर्छ। अवको १/२ वर्षमा उपत्यकाको विद्युत माग ७ देखि ८०० मेगावाट पुग्ने प्रक्षेपण छ। देशभर करिब दुई हजार मेगावाट विद्युत थप हुनेछ।

उपत्यका बाहिरको वितरण संरचनाले थप केहि सय मेगावाट विद्युत माग धानेपनि उपत्यकाको वितरण प्रणालीमा थप ५० मेगावाट माग हुँदा पनि धान्ने अवस्था छैन।

त्यसका लागि चाहिने वितरण प्रणालीको लागि विद्युतीय तार भूमिगत गर्दा ठूलो क्षमताको प्रणाली विकास गर्ने र नदी करिडोरमा वैकल्पिक वितरण प्रणाली विकास गर्ने दुई वटा विकल्प बाहेक प्राधिकरणसँग अन्य विकल्प समेत नरहेको अधिकारीले बताए।