सेयर बजारमा २४ अंकको सुधार, नेप्से १३ सय विन्दुमा पुग्यो, नेपाल लाइफको सबै भन्दा बढी कारोबार

बिजमाण्डू
२०७६ माघ १३ गते १५:३७ | Jan 27, 2020
सेयर बजारमा २४ अंकको सुधार, नेप्से १३ सय विन्दुमा पुग्यो, नेपाल लाइफको सबै भन्दा बढी कारोबार

Tata
GBIME
Nepal Life

काठमाडौं। विगत केही दिनदेखि लगातार दोहोरो अंकले घटबढ भइरहेको नेप्से सूचक सोमबार करिब २४ अंकले बढेको छ। बजार खुलेको सुरुवाती समयमा १२ अंकको उत्तरचढाव भएपनि अन्त्यमा बजार २३.९५ अंकले बढेर १३०० बिन्दुमा पुगेको छ।

आइतबार २० अंक बढीले घटेको बजार सोमबार एकाएक करिब २४ अंकले सुधार भएको हो।सोमबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै सेयर किनबेच भएको छ।

नेपाल लाइफको मात्रै ८ करोड १४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। दोस्रोमा ग्लोबल आइएमई बैंकको ५ करोड २६ लाख रुपैयाँ र तेस्रो धेरै कारोबारमा ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको ४ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। चौथो धेरै कारोबार हुने कम्पनीमा एनआइसी एसिया बैंकको २ करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

धेरै सेयर संख्याको हिसाबले ग्लोबल आइएमई बैंकको एक लाख ८० हजार कित्ता सेयर कारोबार भएको छ। प्राइम कमर्सियल बैंकको एक लाख ५० हजार कित्ता प्रमोटर सेयर र ग्रामिण विकास लघुवित्तको एक लाख ६ हजार कित्ता सेयर किनबेच भएको छ।

सोमबार दिनभर १८० कम्पनीका २४ लाख कित्ता सेयर ९१ करोड ७३ लाख रुपैयाँमा किनबेच भएका छन्। सोमबार सबै उपसूचक हरिया भएका छन्। होटेल र ट्रेडिङ समुहको सूचक करिब ५/५ प्रतिशतले बृद्धि हुँदा माइक्रो फाइनान्स, विकास बैंक, निर्जिवन बिमा र जीवन बिमा कम्पनीका उपसूचक पनि २/३ अंक सम्मले सुधार भएका छन्।

सोमबार सर्वाधिक कमाउने कम्पनीमा माइक्रोफाइनान्सको बाहुल्यता रहेको छ। समिट लघुवित्त, नेरुडे लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स र आशा लघुवित्तका सेयर धनीले ७ प्रतिशत बढि कमाएका छन्। सर्वाधिक कमाउनेमा १० मध्ये ७ वटा कम्पनी माइक्रोफाइनान्स रहेका छन्। सर्वाधिक गुमाउने कम्पनीमा भने हाइड्रोपावर र फाइनान्स कम्पनीका सेयरधनी रहेका छन्।