लक्ष्मी बैंक आक्रामक हुँदा नाफामा उच्च सुधार, खराब कर्जा घटाएर स्प्रेड बढाउँदा नाफा बढ्यो

बिजमाण्डू
२०७६ माघ १४ गते ०९:२६ | Jan 28, 2020
लक्ष्मी बैंक आक्रामक हुँदा नाफामा उच्च सुधार, खराब कर्जा घटाएर स्प्रेड बढाउँदा नाफा बढ्यो


काठमाडौं। पछिल्लो ६ महिनामा ९ अर्ब ८२ करोड रूपैयाँले ऋण विस्तार गरेको लक्ष्मी बैंकले नाफा २४.७६ प्रतिशतले बढाएको छ। ऋणको तुलनामा निक्षेपको बृद्धि कम भएका कारण ब्याज खर्चको वृद्धि दर ब्याज आम्दानीको तुलनामा तलै छ।

Tata
GBIME
Nepal Life

यद्यपी बैंकले ब्यापार विस्तारसँगै स्प्रेड दर वृद्धि गरेका कारण पनि नाफामा उल्लेख्य सुधार देखिएको हो। बैंकले साउनदेखि पुससम्म ९० करोड ३० लाख रूपैयाँ नाफा गरेको छ। पछिल्लो तीन महिनाको नाफा मात्रै ५० करोड १० लाख रूपैयाँ छ। 

साउनदेखि असोज मसान्तसम्म बैंकको ब्यापार विस्तार सुस्त थियो। तर कात्तिक सुरू भएदेखि बैंक ऋण विस्तारमा आक्रामक देखिएको छ। बैंकले सुरुको तीन महिना ऋण २ अर्ब ९७ करोड रुपैयाँ मात्र बढाएको थियो। त्यसपछिको तीन महिनामा बैंकले ६ अर्ब ८५ अर्बले ऋण बढाएर ८५ अर्ब ५ करोड रुपैयाँ पुर्‍याएको छ।

बैंकले मंगलबार पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्दै निक्षेप संकलनमा पनि आक्रामक भएको देखाएको हो। सुरूको तीन महिना बैंकको निक्षेप २ अर्ब ४६ करोड रूपैयाँले मात्र बढेको थियो। त्यसपछिको तीन महिनामा ६ अर्ब ८५ करोडले निक्षेप बढेको छ। बैंकसँग कुल निक्षेप ८८ अर्ब २३ करोड रूपैयाँ छ।

पछिल्लो तीन महिनामा आक्रामक नीति लिएकै कारण बैंकको नाफा बढेको हो। पछिल्लो तीन महिनाको नाफा वृद्धि दर १९ प्रतिशत छ। गत वर्ष पनि बैंक दोस्रो त्रैमासबाट आक्रामक देखिएको थियो।

बैंकको खुद ब्याज आम्दानी करिब २० प्रतिशतले बढेको छ। बैंकले एक अर्ब ७४ करोड खुद ब्याज आम्दानी गरेको छ। बैंकको ब्याज खर्च ३ अर्ब २३ करोड हुँदा कुल ब्याज आम्दानी ४ अर्ब ९७ करोड रूपैयाँ छ।

बैंकको नाफामा सुधारको अर्को कारण खराब कर्जामा आएको कमी पनि हो। बैंकले १.११ प्रतिशत रहेको खराब कर्जालाई ०.८८ प्रतिशतमा झारेको छ। बैंकले ब्याजको स्प्रेड ४.०८ प्रतिशतबाट बढाएर ४.२३ प्रतिशत पुर्‍याएको छ। आधार दर १०.३६ प्रतिशतबाट १०.०९ प्रतिशतमा झरेको छ ।