नेपाल बैंकको नाफा १८.६% ले घट्यो, पछिल्लो तीन महिनामा ऋणमा आक्रामक, आधार दर बढ्यो

बिजमाण्डू
२०७६ माघ १४ गते १०:१३ | Jan 28, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। ब्यापार विस्तारका बावजुद ब्याजको स्प्रेड घटाउँदा नेपाल बैंकको नाफा घटेको छ। अघिल्लो वर्षको पुससँग तुलना गर्दा नाफा १८ प्रतिशतले घटेको हो। पछिल्लो तीन महिनाको मात्रै हिसाब गर्दा भने नाफा ३ प्रतिशतले बढेको छ। 

बैंकले पुससम्म १ अर्ब ३५ करोड नाफा गरेको हो। जबकी अघिल्लो पुसमा १ अर्ब ६६ करोड रुपैयाँ नाफा थियो।

बैंकले अघिल्लो पुसको स्प्रेड ४.९९ को तुलनामा यसपाली घटाएर ४.४४ प्रतिशतमा झारेको छ। यद्यपि बैंक पछिल्लो समय ऋण विस्तारमा भने आक्रामक देखिएको छ। 

साउनदेखि पुससम्मको हिसाब गर्दा बैंकको निक्षेप ७ करोड ७९ लाखले घटेको छ। तर पछिल्लो तीन महिनाको मात्रै हिसाब गर्दा निक्षेप २ अर्ब ३२ करोडले बढेर १ खर्ब १७ अर्ब रुपैयाँ नाघेको छ। असारको तुलनामा गत असोजमा बैकको निक्षेप घटेको थियो।

ऋण विस्तारमा पनि बैंक आक्रामक छ। बैंकले ६ महिनामा ६ अर्ब ४ करोड ऋण विस्तार गरेको छ। ६ महिनाको कुल ऋण विस्तारमध्ये पछिल्लो तीन महिनाको हिस्सा ५ अर्ब ८० करोड रुपैयाँ छ। बैंकले कुल ९८ अर्ब ४५ करोड रुपैयाँ ऋण विस्तार गरिसकेको छ।

बैंकको ब्याज दर विस्तारै महँगो हुन थालेको छ। स्प्रेडमा केही कमी देखिएपनि आधार दर ६.०६ प्रतिशतबाट बढेर ७.८२ प्रतिशत पुगेको छ। बैंकले खराब ऋणको हिस्सा २.७४ प्रतिशतबाट घटाएर २.६६ प्रतिशतमा ल्याएको छ। बैंकले गत पुस २५ गते वार्षिक साधारणसभा गरी २३ वर्षपछि पहिलोपटक २५ प्रतिशत लाभांश दिएको थियो।