हिमालयन बैंक सञ्चालक समितिमा निर्वाचन: मनोजबहादुरको सिट घट्ने, अब सिडिसी भित्रिने

बिजमाण्डू
२०७६ माघ १४ गते १४:३३ | Jan 28, 2020
हिमालयन बैंक सञ्चालक समितिमा निर्वाचन: मनोजबहादुरको सिट घट्ने, अब सिडिसी भित्रिने


काठमाडौं। बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सिडिसी) लाई जसरी पनि हिमालयन बैंकमा ल्याउन राष्ट्र बैंकको निर्देशनमा सञ्चालक समितिको निर्वाचन हुने भएको छ। माघ २९ गते हुन लागेको वार्षिक साधारणसभामा पाँच जना संस्थापक सेयरधनी निर्वाचनबाट छानिने भएका छन्।

Tata
GBIME
Nepal Life

हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र सञ्चालक समेत रहेका उनका भाइ प्रचण्डबहादुर श्रेष्ठ सिडिसी भित्र्याउन बाधक भएपछि राष्ट्र बैंकले निर्वाचन गर्न निर्देशन दिएको थियो। 

हिमालयन बैंकमा रहेको पाकिस्तानी बैंक हबिबको २० प्रतिशत सेयर किनेर सिडिसी नेपाली बैंकिङ क्षेत्रमा प्रवेश गर्न खोजेको थियो। सबै प्रक्रिया ठिकठाकसँग चलिरहेका बेला सञ्चालक समितिमा आफ्नो समूहको प्रतिनिधित्व घट्ने भएपछि श्रेष्ठ दाजुभाइ सिडिसीलाई रोक्न उभिएका थिए। त्यसपछि राष्ट्र बैंकले साधारणसभाको स्वीकृति दिनुअघि राखेका तीन प्रमुख सर्तमध्ये सञ्चालक समितिको निर्वाचन थियो। 

हिमालयन बैंकमा २६ वर्षदेखि साझेदारी गरिरहेको पाकिस्तानको हबिब बैंकले आफ्नो सेयर सिडिसीलाई बिक्री गरेर बाहिरिन खोजेको छ। 

हबिब जसरी पनि बाहिरिने र सिडिसीलाई जसरी पनि भित्र्याउनु पर्ने दोबाटोमा रहेको राष्ट्र बैंकले समस्याको हल खोज्दै सहमतिमा गठन हुने गरेको सञ्चालक समितिमा यसपाली निर्वाचन नै गराउन निर्देशन दिएको थियो। 

निर्वाचन हुँदा श्रेष्ठ दाजुभाइबाट एक जनामात्रै सञ्चालक समितिमा आउँछन्। श्रेष्ठ समूहबाट कुल तीन जनामात्रै सञ्चालक बन्दछन्। यसो हुँदा सात सदस्यीय सञ्चालक समितिले बहुमतका आधारमा निर्णय गरेर हबिबलाई 'एक्जिट' र सिडिसीलाई 'इन्ट्री' दिने निर्णय गर्ने छ।

हिमालयनमा हबिबपछि कर्मचारी सञ्चय कोषको धेरै लगानी छ। कोषको १४ प्रतिशत लगानी छ। यसपछि एन ट्रेडिङ कम्पनी प्रालिको १२.७१. म्युचुअल ट्रेडिङ कम्पनी प्रालिको ११.८५ प्रतिशत, आभा इन्टरनेशनल प्रालिको ११.३८ प्रतिशत, छायाँ इन्टरनेशनल प्रालिको ८.८९ प्रतिशत र शशिकान्त अग्रवालको २.६५ प्रतिशत सेयर छ। बाँकी लगानीकर्ताको सेयर १ प्रतिशतभन्दा तल छ।