अर्थमन्त्री खतिवडाले भने- ‘घरजग्गा र सेयरबजार शिथिल भयो भन्नु मौसमी कुरा हो’

बिजमाण्डू
२०७६ माघ १४ गते १६:२३ | Jan 28, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले घरजग्गा र सेयरबजार शिथिल भन्नु मौसमी कुरा भएको बताएका छन्।

‘केही आर्थिक परिसूचकको गति सुस्त होला, केहीको तीव्र होला। कसैले घरजग्गा वा सेयरबजार शिथिल भयो वा बैंकमा तरलता बढ्यो भन्ला तर ती मौसमी कुरा हुन्,’ उनले भने ‘यहाँ वार्षिक प्रवृत्ति नहेरी अघिल्लो महिनासँग तुलना गर्नेहरु पनि छन्।’ आर्थिक वृद्धिदर उच्च हुँदा पनि अर्थतन्त्रमा शिथिलता आएको भन्नु युक्तिसंगत नभएको समेत उनले जिकिर गरे।

‘आर्थिक परिसूचकहरु सकारात्मक छन्। कोहीकोहीले आर्थिक वृद्धि त उच्च भयो तर आर्थिक गतिविधि त शिथिल छन् नि भनेको पनि सुन्निछ। आर्थिक गतिविधि शिथिल भएर कसरी वृद्धि हुन सक्छ ? आर्थिक वृद्धि भनेको कृषि वा उद्योग वा सेवा मात्र होइन,’ खतिवडाले नेपाल चेम्बर अफ कमर्शले प्रकाशन गरेको स्मारिकामा भनेका छन्, ‘यी क्षेत्रभित्र पनि विभिन्न उपक्षेत्रहरु छन् । अनि आर्थिक वृद्धि उत्साहजनक भन्ने अनि सूचकहरु तल गए भन्ने ? त्यो युक्तिसंगत कुरा होइन।’

उनले आफ्ना पालामा व्यापार घाटाको ग्राफ घट्दै गएको बताउँदै पुँजीगत निर्माणका लागि चाहिने आयातलाई प्रोत्साहन र नचाहिने वस्तुलाई निरुत्साहन गर्ने नीति लिएकाले नै वैदेशिक व्यापारमा सुधार देखिएको दाबी गरे।

अर्थमन्त्री खतिवडाले मोबाइल, तेल र कपडामा भ्याट फिर्ता दिने विषय न्यायोचित नभएको बताउँदै उत्पादकलाई लाभ नपुग्ने क्षेत्रको भ्याट फिर्ता दिन नहुने जिकिर गरे।