ब्रेक्जिटको कार्यान्वयनसँगै बेलायत ‘नयाँ युग’मा: ४७ वर्षपछि युरोपियन युनियनबाट अलग्गियो

बिजमाण्डू
२०७६ माघ १७ गते १५:३४ | Jan 31, 2020

Tata
GBIME
Nepal Life

बेलायत आजबाट 'नयाँ युग'मा प्रवेश गर्दैछ। अर्थात् आज मध्यरातबाट बेलायत युरोपियन युनियन (इयु) बाट अलग हुँदैछ। बेलायतले आधारिक रुपमा इयुबाट अलग हुँदै 'ब्रेक्जिट' प्रक्रियालाई समापन गर्दैछ।

युनियनमा आवद्ध भएको ४७ वर्षपछि बेलायत उक्त संस्थाबाट अलग हुन लागेको हो। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यसलाई 'नयाँ युगको सुरुवात' भनेका छन्।

उनले ब्रेक्जिटको कार्यान्वयनलाई बेलायतको अन्त्यतिर नभइ नयाँ सुरुवात भएको भन्दै बेलायत परिवर्तन उन्मुख भएको बताएका छन्।

२०१६ मा बेलायत युनियनबाट अलग हुने कि नहुने भन्ने विषयमा मतदान भएको थियो। बेलायतले जनमतसंग्रहबाट युनियनबाट अलग्गिने निर्णय गरेको हो। तर, ४ वर्ष बित्दासम्म निर्णय सदनबाट सदर भएको थिएन।

तत्कालिन बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिटको टुंगो लगाउन बेलायती संसदमा धेरैपटक प्रस्तावहरु प्रस्तुत गरेकी थिइन्। तर उनको हरेक प्रस्ताव संसदबाट अनुमोदन नहुँदा प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएकी थिइन्।

उनको उतराधिकारिका रुपमा अगाडि आएका बोरिस जोनसनका प्रस्तावहरुमा समेत सहमति जुट्न सकिरहेको थिएन। उनले आफ्नो प्रस्ताव पारित नभएर बिना कुनै 'ब्रेक्जिट डिल' नै बेलायत युरोपियन युनियनबाट बाहिरिने चेतावनी दिँदै त्यसका लागि उनले आम निर्वाचन घोषणा समेत गरेका थिए।

यद्यपि, उनको निर्वाचन गराउने प्रयास सफल भने भएन। तर केही महिना अगाडी मात्रै उनले युरोपेली सांसदसँग ब्रेक्जिट सम्बन्धी नयाँ सहमती गरेर ब्रेक्‍जिटलाई टुंगोमा पुर्‍याउने घोषणा गरेका थिए। बोरिसले ब्रेक्जिटको समय सीमा बढाएर ३१ जनवरी २०२० सम्म पुर्‍याउन उनी सफल भएका थिए।

फलस्वरुप बेलायत आजबाट युरोपियन युनियनबाट बाहिरिँदैछ। ब्रेक्जिट सम्झौता अनुसार बेलायतमा युरोपेली राष्ट्रका नागरिकहरुको अधिकार, उत्तरी आयरल्यान्डको सीमा व्यवस्थापन, खुल्ला व्यापार र आर्थिक कारोवार लगायतका विषय रहेको बताइएको छ।