कोरोना भाइरसले भत्काउँदै विश्व व्यवस्था: महामारीपछि ग्लोबल लिडर बनेर उदाउँदै चीन

भावना शर्मा/बिजमाण्डू
२०७६ चैत्र १७ गते १८:३७ | Mar 30, 2020
कोरोना भाइरसले भत्काउँदै विश्व व्यवस्था: महामारीपछि ग्लोबल लिडर बनेर उदाउँदै चीन


कोरोना भाइरसको महामारीबाट विश्वमा परेको प्रभावले हामीमाझ एक सारभूत प्रश्न खडा गरिदिएको छ। के यही समय नै त्यो ऐतिहासिक क्षण हो जसका कारण विश्व पूर्णतया परिवर्तन हुने दिशातर्फ उन्मुख छ?

Tata
GBIME
Nepal Life

के हाल भैरहेको राजनीतिक तथा आर्थिक शक्तिको सन्तुलनमा देखिएको परिवर्तन कायम रहिरहनेछ?  के विश्वका अधिकांश देश र त्यहाँका नागरिकहरुको जीवन फेरि पुरानै अवस्थामा फर्कन सक्ला?

साधारण रुपमा भन्दा के यो हामीले बुझेजस्तो वर्तमान विश्व ब्यवस्थाको अन्त्य हो? सँगसँगै के यो संकटले नयाँ विश्व व्यवस्थाको सुरुवातको संकेत गरेको छ?

वास्तवमा हालको विश्वमा विकसित गतिविधिले पुरानै ब्यवस्थालाई कायम गर्न सक्ने संभावना झिनो छ। र, यही सिद्धान्तलाई सही मान्ने हो भने विश्व व्यवस्थामा कोभिड १९ पूर्वको समय फेरि कहिल्यै फर्कने छैन। तर, पनि यसले धेरै अनुत्तरित प्रश्नहरु भने खडा गरिदिएको छ। विश्व पूर्ववत् अवस्थामा फर्कन सक्छ वा झन् खराब अवस्थातर्फ विश्व ब्यवस्था धकेलिन्छ भन्ने प्रश्न चाहीँ यथावतै छ।

महामारीका कारण विश्वका लाखौं सर्वसाधारण तथा परिवारहरुको सामान्य जीवन यसअघि नै समाप्त भैसकेको छ। हालको अवस्थामा महामारीले बिभिन्न राष्ट्रहरुमा सरकार तथा राजनीतिक नेतृत्वहरु बीचको असफल सम्बन्धले भविष्यमा कस्तो असर पार्छ भन्न कठिन छ। के उनीहरु अझ निकट भएर काम गर्लान् वा हाल देखिएको संकटले आगामी दिनमा उनीहरुलाई अझ बिभाजित बनाउँदै लैजाला? यसको उत्तर पनि कठिन छ।

कोरोना भाइरस कोभिड १९ ले अमेरिका र चीन बीचको द्वन्द्वलाई झन् झन् गहिरो बनाइदिएको छ तर महामारीले अन्तराष्ट्रिय सहकार्यलाई भने अझ बलियो बनाएको देखिन्छ। यस्तो परिस्थितीमा विश्वका देशहरु अझ बढी एकताबद्ध हुन्छन् वा अझ बिभाजित हुनेछन् वा भनौं खुला बजार अर्थतन्त्रको दिशातिर अघि बढ्नेछन् वा त्यो अझै साँघुरिदै जान्छ? भन्ने प्रश्न पनि खडा भएको छ। 

केही विश्लेषकहरु सकारात्मक सोचाई राख्छन्। उदाहरणकालागि उत्तरी इटाली र चीनलाई यो महामारीबाट फाइदा पुग्न सक्छ भन्ने उनीहरुको भनाई छ। इरान र यूएई जस्ता अफ्ठेरो सम्बन्ध भएका देशहरु पनि अहिले सहकार्य गरिरहेका छन् भलै त्यो अल्पकालीन होस्। फिलिपिन्समा महामारीकै कारण युद्धविरामको घोषणा भएको छ। विश्वका राष्ट्रहरुबीच अन्तरसम्बन्ध तथा सामुहिक, बहुपक्षीय सहकार्यहरु ज्वलन्त रुपमा देखिएका छन्।

अर्कोतर्फ निराशाजनक विचारधारा राख्ने विश्लेषकहरु पनि छन्। हार्वड विश्वविद्यालका अन्तराष्ट्रिय सम्बन्ध विषयका प्रोफेसर स्टेफेन वाल्टले फरेन पोलिसी म्यागेजिनमा लेखेका छन्- 'महामारीले राज्यको शक्तिलाई बलियो बनाउँछ साथै राष्ट्रबाद अझ बढी हावी हुन पुग्छ । सबै किसिमका सरकारहरुले संकट ब्यवस्थापनकालागि आफ्नै संकटकालीन उपायहरु अपनाउनेछन् र संकट सकिएपछि पनि ति संकटकालीन समयका ब्यवस्थाहरु यथावतै रहनेछन्।'

उनी भन्छन्- 'कोभिड १९ ले विश्व शक्ति पश्चिमी देशहरुबाट पूर्वतर्फका देशहरुमा सर्दै जाने देखिन्छ। कोरोना संकटबाट यूरोप र अमेरिकामा कोरोना बिरुद्ध सरकारको ब्यवस्थापन कमजोर र मन्द देखियो भने चीन, दक्षिण कोरिया र सिंगापुर जस्ता देशहरु तुलनात्मक रुपमा बढी सक्रिय र प्रभावकारी भए जसले विश्वमा पश्चिमी देशहरुको चमक र ब्राण्डलाई धुमिल पारिदिएको छ र चीन लगायतका देशहरुको जबरजस्त उदय भएको छ। विश्वभर नै वर्तमान चरम विश्वब्यापीकरणका कारण नागरिकहरुले राज्यबाट  आफ्नो सुरक्षाको माग गर्नेछन् र सरकारले भविष्यमा आइपर्ने संकटहरु टारोस् भन्ने अपेक्षा गर्नेछन्। संक्षेपमा कोभिड १९ ले विश्वमा कम समृद्ध र कम खुला बजार अर्थतन्त्र भएको विश्वको सिर्जना गर्नेछ।'

के वाल्टको यो विश्लेषण सही छ त? यसको जवाफ समयले नै दिनेछ। तरपनि विश्वले आगामी दिनमा देख्ने परिणामको पूर्वाभाष भने भैसकेको छ। विश्वका सबै देशहरुका राष्ट्राध्यक्ष वा सरकार प्रमुख, प्रधानमन्त्री लगायत आम नागरिकहरुले पनि यस विषम परिस्थितीमा उत्पन्न चुनौती तथा महामारीबाट उत्पन्न परिस्थितीप्रति कसरी प्रतिक्रिया जनाउँछन् त्यसमा भर पर्नेछ।

शक्ति सन्तुलन

गत नोभेम्बरमा बुहानबाट सुरु भएको कोभिड १९ महामारीमा सुरुवाती कमजोरीका बाबजुद चीन सरकारले अन्तत: सुनाउन लायक सफलता हासिल गर्यो। रोगलाई नियन्त्रणमा लिन चीनले निकै मेहनत र अथक प्रयास गरेको दावी गरेको छ। हाल इटाली र अन्य अति प्रभावित देशहरुलाई चीनले सहायता गरिरहेको देखिन्छ यसले चीन 'ग्लोबल लिडर'का रुपमा आफूलाई उभ्याउँदै गरेको देखिन्छ। यो भाइरस चीनका निमित्त "सफ्ट पावर टुल" जस्तै बनेको छ जसबाट उसले आफ्नो चिर प्रतिद्वन्दीका रुपमा रहेको अर्को सुपर पावर देश अमेरिकालाई समेत पछि पार्न सफल भएको छ।

सारांशमा भन्दा बेइजिङले कोभिड १९ सँग लड्दा हात पारेको भनिएको सफलता मुख्य हो। कर्ट क्यामबेल र रस दोसीले फरेन अफेयर्स म्यागेजिनमा लेखेका छन् -'चीनले विश्वभर मन्द गतिमा फैलाएको प्रचार सामाग्री, ट्विट तथा सार्वजनिक सन्देशहरु बिबिध भाषामा विश्वभर पुर्याइएको छ। यसबाट चीनको सफलता र सुशासनमा उसको मोडलको प्रभावकारिताबारे पनि विश्वले जानकारी पाइरहेका छन्।'

यसको बिपरित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने महामारी नियन्त्रणको असफलताका बाबजुद संघर्षरत छन्। अमेरिकी बैदेशिक सम्बन्ध परिषदकी मिरा र्याप हुपर भन्छिन्- 'महामारीमा अमेरिकी सरकारको नेतृत्व नै असफलताको "ब्राण्ड" कै रुपमा देखियो। आफूलाई विश्व संकटको समयको नेतृत्वकर्ता बन्नु त परै जाओस् उसले अमेरिकी नागरिकहरुको स्वास्थ्यलाई नै अनावश्यक जोखिममा पारेको छ।'

उनी भन्छिन् – 'यो आन्तरिक तथा अन्तराष्ट्रिय नेतृत्व संकटले अन्तराष्ट्रिय ब्यवस्थालाई बिभिन्न किसिमले असर गर्ने देखिन्छ। यदि अमेरिकी यसैगरी विश्व ब्यवस्थामा अनुपस्थित देखिने हो भने चीनले यो संकटको घडीलाई अवसरका रुपमा लिनेछ र आफ्नै विश्व सुशासनको भिजन अनुसारको नयाँ नियमहरु लागू गर्नेछ।'

कोभिड १९ संकट सुरु हुनु अघि देखि नै चीनले अमेरिकी साम्राज्यवादलाई पहिले देखिनै चुनौती दिँदै आएको थियो। महामारीले हालको अवस्थामा यसलाई अझ तीब्र बनाइदिएको छ। अमेरिकाले भन्दै आएको प्रजातन्त्र, सुशासन, नागरिकको अधिकार र वाक स्वतन्त्रतालाई महत्व दिने अमेरिकी पक्षधर प्रजातन्त्रवादीहरुकलागि भने यो चिन्ताजनक विषय हो ।

केन्द्रिकृत र निरंकुश शासन ब्यबस्थाको  ट्रेन्ड भारत, ब्राजिल र टर्कीमा देखिइसकेको छ जुन चीन र रुसले पहिलेदेखि नै पछ्याइरहेको शासन पद्दति हो। केही देशहरुले राजनीतिक स्वार्थ पूर्तिकालागि भाइरसलाई हतियारका रुपमा प्रयोग गरी चीनकै पद्दती अनुसरण गरिरहेका छन्।

'निश्चय नै महामारी नागरिकको स्वाथ्य तथा वैश्विक अर्थतन्त्रकालागि शताब्दी कै चुनौती बनेर आएको छ तर यसले उत्पन्न गरेको राजनीतिक परिस्थितीलाई भने कमै आँकिएको छ '- गत हप्तामात्रै स्वतन्त्र अनुगमन गर्दै आएको इन्टरनेशनल क्राइसिस ग्रुप आइसिजीले चेतावनी दिएको छ ।  भ्रष्ट तथा अवसरवादी नेतृत्वले यस महामारीका बखत पनि आफ्नो स्वार्थ पूर्तिकालागि महामारीलाई हतियार बनाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय संकटको अवस्था ल्याउन सक्छन्। यस्तो परिस्थतीमा प्रतिस्पर्धी राज्यहरुबीचको द्वन्द्व अझ बढ्नेछ। आइसिजीले भनेको छ।

यसको उदाहरणका रुपमा हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो राष्ट्रपतिय शासन सन् २०३६ सम्म लम्ब्याउन गरेको प्रयासलाई लिन सकिन्छ। भलै कोभिड महामारीका कारण निर्वाचन स्थगित भयो।

यस्तै हंगेरीका राजनेता भिक्तोर ओरबानले संकटकाल लगाउँदै राज्यको कानुन उल्लंघन गर्ने र सरकारबारे गलत सूचना प्रवाह गर्नेलाई पाँच वर्ष कैद सजाय सुनाएका छन्।

इजिप्टको सरकारले पनि चीनको सिको गर्दै बिदेशी पत्रकारहरुलाई निष्कासन गर्ने, मिडियाको पहुँचलाई निषेध गर्ने र सार्वजनिक बहसहरुलाई बन्देज लगाउने काम गरिरहेको छ। बेलायतमा बोरिस जोनसोनका साथै धेरै यूरोपेली राजनेताहरुले जस्तै ट्रम्पले पनि अमेरिकामा संकटकालीन शक्ति प्रयोग गरेका छन्। बोलिभिया, भारत, श्रीलंका, इराकदेखि अमेरिका, बेलायत, फ्रान्सजस्ता देशहरुमा निर्वाचन स्थगित भएका छन् । संसद चालु छैनन् र लकडाउन र कर्फ्युसम्म लगाइएका छन्।

अल्पकालकालागि  त नागरिकहरुले यस्ता बिषयहरुमा सहमति जनाउँछन् तर संकटको यो घडी लम्बिँदै गयो र महामारीको दोस्रो लहर सुरु भै आगामी बर्षसम्म पनि यत्तिकै रहिरह्यो भने के होला ? भाइरसको प्रभाव सकिएपछि पनि हाल बिभिन्न देशहरुमा लगाइएका संकटकालीन शक्तिहरुको प्रयोग स्थगित भएन भने के होला ? हार्वर्डका प्रोफेसर स्टेफेन वाल्टले भने झैं कोरोना महामारीपछिको विश्वमा 'नियन्त्रित' विश्व अर्थतन्त्रको खतरा छ।  

विश्वब्यापीकरण र बहुपक्षीयवाद

कोभिड महामारीबाट परिरहेको प्रभाव कम गर्न सरकारहरुले ब्यापार क्षेत्र तथा कामदारहरुकालागि राहत प्याकेजको घोषणा गरिरहेका छन् । यसबाट महामारीले आर्थिक तथा बित्तीय क्षेत्रमा पार्ने प्रभावलाई घटाउन सहयोग गर्ने नै छ भने केही बिज्ञहरुले यसलाई राज्यको भूमिकाको पुनरागमन मानेका छन्।

खासमा संकटको अवस्थाले के देखाएको छ भने विद्यमान संकटको अवस्थामा राज्यले नै समग्र र समतामूलक समाधान दिन सक्छ। यसबाट स्वाभाविक रुपमै के प्रमाणित भएको छ भने "विश्वब्यापीकरण" को घडा भरिइसकेको छ र अब तीब्ररुपमा वर्तमान विश्व ब्यवस्थाको परिवर्तन हुन्छ।

चाथाम हाउस थिंक ट्याङ्कका निर्देशक रोबिन निब्लेटका अनुसार यो महामारीले आर्थिक विश्वब्यापीकरणको ढाड अन्ततोगत्वा भाँचिदिएको छ। बिसौं शताब्दीमा स्थापित बिश्वको आर्थिक नीति हाल जोखिममा परेको छ। यसबाट विश्वका राजनीतिक नेतृतवहरुको भूराजनीतिक प्रतिस्पर्धा सुरु हुने खतरा बढेको पनि उनले बताएका छन्।

यूरेशिया ग्रुपका रोबर्ट काप्लान भन्छन्- 'कोरोना भाइरस संक्रमणले पहिलो र दोस्रो विश्वब्यापीकरणको सीमा कोरिदिएको छ जसले संसारमा बढ्दो सैनिकीकरणका साथै दुई ठूला शक्ति समूह र फरक आपूर्ति संजाल (सप्लाई चेन)को स्थापना गरिदिएको छ। समग्रमा यो नयाँ र पुनर्उदयीमान विश्व बिभाजनको कथा हो।'

यसरी संकटका बेला क्रमश: कमजोर बन्दै गइरहेको बहुपक्षीयवाद र बहुपक्षीय संस्थाहरुबाट विश्व उदारवादबाट खुम्चिएर राष्ट्रवादतर्फ गैरहेको संकेत गर्छ।

नाजुक हुँदै गएको विश्व ब्यवस्था

गरिब तथा सिमित साधन स्रोत भएका राष्ट्रहरुका लागि यो महामारी 'गेम चेन्जर'का रुपमा नै पनि आउन सक्छ तर द्वन्द्वग्रस्त क्षेत्रका मानिसहरु तथा शरणार्थीहरुका लागि भने यो पक्कै पनि राम्रो हुने छैन।

आइसिजीले आफ्नो प्रतिवेदनमा भनेको छ- 'यस बैश्विक महामारीले नाजुक राष्ट्रहरुमा अझ बढी अस्थिरता उत्पन्न गराउन सक्छ र यदि यो महामारी जनघनत्व बढी भएका शहरी केन्द्रहरुमा फैलिएमा यसलाई नियन्त्रण गर्नु लगभग असम्भव नै हुनेछ। हालको अवस्थामा अफ्रिकी शहरहरुमा यो जोखिम बढेको छ।'

प्रतिवेदनले विश्व आर्थिक मन्दीले ब्यापारको बहावलाई नराम्रोसँग प्रभावित पार्नुका साथै गरिब देशहरुमा बेरोजगारी समस्या अझ बढाउने खतरा औल्याएको छ । यसले द्वन्द्वमा फसेका देशहरुमा अझ गम्भीर समस्या निम्त्याउँछ जसकारण उनीहरुले पाउनुपर्ने मानवीय सहयोग, शान्ति प्रक्रिया र कुटनीतिक सम्बन्धहरुमा समेत असर पार्नेछ।  युद्ध प्रभावित सिरिया, अफगानिस्तान, सोमालिया, दक्षिणी सुडान र यमनका नागरिकहरु यसबाट सबैभन्दा बढी प्रभावित हुनेछन् ।

महामारी थेग्न सक्ने क्षमता र बिक्षिप्त मनोदशा

 यस महामारीले बिकसित भनिने देशहरुको पनि स्वास्थ्य सेवामा साधनस्रोतको अपर्याप्तता साथै संकट थेग्न सक्ने क्षमताको चरम अभाव देखाएको छ ।  धेरै सरकारहरुले संकट समाधानका लागि सेना परिचालन गर्नु र साधनस्रोतका लागि सहयोग माग्नुले सामाजिक समन्वय समेत कमजोर भएको देखाउँछ ।

लण्डन स्कुल अफ इकोनोमिक्सका प्रोफेसर ब्राङ्को मिलानोभिक भन्छन् -'संकटको समाधानकालागि सरकारले सेना वा अर्धसैनिक बल परिचालन गर्दा सामाजिक समन्वय तथा सम्बन्धमा खलल पुग्छ । हालको अवस्थामा आर्थिक नीतिको महत्वपूर्ण वा अझ भनौं एकमात्र उद्देश्य भनेकै बित्तीय बजारहरुलाई सहयोग गर्नुभन्दा पनि सामाजिक बिखण्डनलाई रोक्नु हो ।'

महामारीले विश्वका बिभिन्न राष्ट्रहरुबीच बिभाजन गहिरिएर जाने चिन्ता बढाएको छ । यसले आप्रवासी बिरोधी मनोबिज्ञानलाई बढाउँदैछ र त्यसले निम्त्याउने द्वन्द्वलाई समाधान गर्नकालागि संयुक्त राष्ट्रसंघ जस्ता अन्तराष्ट्रिय प्रयासहरुको थालनी हुनेछ । सैन्य र आर्थिक द्वन्द्व घटाउनकालागि संयुक्त राष्ट्रसंघले सहयोग गरेपनि यसले सर्वोच्चताको लागि चीन र अमेरिकाबीच जारी द्वन्द्वलाई भने घटाउने छैन ।

हालको अवस्थामा कोरोना भाइरसको महामारीमा देखिएको पश्चिमा देशहरुको अक्षमताले विश्वका अन्य देशहरुलाई कसरी संकटलाई नियन्त्रण गर्न सकिन्छ भन्ने सिकाइको उपयुक्त अवसर पनि दिएको छ ।

तथापि पश्चिमा देशहरुले अंगिकार गरेको प्रजातान्त्रिक अभ्यासहरुले नै दीर्घकालमा नयाँ युगको सिर्जना गर्नेछ । साथै यसबाट नै दीर्घकालमा यथार्थपूर्ण संरक्षणकारी अन्तराष्ट्रियवाद स्थापित हुनेछ ।

जे होस् विषम् परिस्थतीपछि फेरि नयाँ सुरुवात हुनेछ।  (द गार्जियनबाट)