मुद्दतिको ब्याज घटाउने दबाबमा बैंक, सुरुमा संस्थागत निक्षेपकर्ताको घटाइने

बिजमाण्डू
२०७६ चैत्र १८ गते १०:३६ | Mar 31, 2020
मुद्दतिको ब्याज घटाउने दबाबमा बैंक, सुरुमा संस्थागत निक्षेपकर्ताको घटाइने



काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्र संकटमा पर्न थालेपछि बैंकहरुलाई निक्षेपको ब्याज दर घटाउन दबाब परेको छ। बचतको ब्याज दर क्रमिक रुपमा घटाइरहेका बैंकहरुलाई ऋणको ब्याज कम गर्नका लागि मुद्दति निक्षेपको पनि ब्याज घटाउन दबाब परेको हो।

Tata
GBIME
Nepal Life

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघमा मुद्दति निक्षेपको ब्याज दर घटाउन अनौपचारिक छलफल सुरु भएको छ। संघले मुद्दति निक्षेपको ब्याज दर साढे १३ प्रतिशतसम्म पुगेपछि डेढ बर्षअघि 'भद्र सहमति' नामको 'कार्टेलिङ' बाट एकल अंकमा कायम गरेका थिए।

अहिले ब्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याज दर ९.७५ प्रतिशत छ भने संस्थागतको ९.५  तथा नवीकरण गर्दा ९.६ प्रतिशत छ। बचतको ब्याज पनि साढे ६ प्रतिशतभन्दा बढि दिन नहुने सहमति छ।

बचतको ब्याज दर बैंकहरुले बिस्तारै घटाएर ५ प्रतिशतसम्म झारेका छन्। यद्यपी अधिकांस बैंकले बचतको ब्याज दर साढे ६ प्रतिशत नै कायम गरिरहेका छन्।

'बचतको ब्याज क्रमिक रुपमा घटिरहेको छ। अब मुद्दति निक्षेपको ब्याज पनि घटाउने दबाब छ' संघका अध्यक्ष भुवन दाहालले बिजमाण्डूसँग भने, 'ब्यक्तिगत मुद्दतिको नघटाइहाले पनि संस्थागततर्फको घट्ने अवस्था छ।'

उनले विगतमा भएको ब्याज दरको भद्र सहमतिमाथि अनौपचारिक छलफल हुन थालेको जानकारी दिए।

मुद्दति निक्षेपको ब्याज घट्दा बैंकहरुको कोष लागत (कष्ट अफ फण्ड) कम भएर आधार दर तल आउँछ। यसो हुँदा ऋणीले बैंकबाट सस्तोमा पैसा पाउँछन्।

कोरोना भाइरसका कारण अर्थतन्त्र संकटमा परेको छ। यस्तो बेलामा सस्तो पैसा बजारलाई उपलब्ध गराउनु पर्ने दबाब सरकार, राष्ट्र बैंक र बैंकहरुलाई छ। त्यही भएर पनि पुरानो भद्र सहमति खारेज गर्दै मुद्दतिको ब्याज दर घटाउनु पर्ने बेला भएको बैंकरहरु बताउँछन्।

'अहिले एउटा/दुईटा बैंकले ब्याज घटाए भने उनीहरुको निक्षेप धेरै ब्याज भएको बैंकमा सर्छ' एक बैंकरले भने, 'त्यसैलेम मुद्दति निक्षेपको ब्याज घटाउन फेरि पनि सहमति बन्न आवश्यक छ। सहमति बनेमा सबैको एकै पटक ब्याज कम हुन्छ र निक्षेप सर्न पाउँदैन।'

बैंकहरुले संस्थागत निक्षेपकर्ताको ब्याज दर ९.६ प्रतिशतबाट घटाएर ८ प्रतिशतमा झार्न खोजेका छन्। बाणिज्य बैंकहरुले घटाएपछि तुलनात्मक रुपमा महँगो ब्याज दिने विकास बैंक र फाइनान्स कम्पनीले पनि घटाउने छन्। यद्यपी अधिकांस संस्थागत निक्षेपकर्तालाई विकास बैंक र फाइनान्स कम्पनीमा पैसा राख्न उनीहरुको कार्यविधिले छेक्ने गरेको छ।

सुरुमा संस्थागतको घटेपछि विस्तारै ब्यक्तिगत निक्षेपकर्ताको पनि घटाइने ती बैंकरले जानकारी दिए। ६ बर्षअघि मुद्दतिमा कुल निक्षेपको साढे ३० प्रतिशत पैसा हुन्थियो। अहिले बढेर ५० प्रतिशत पुगेको छ। ब्याज बढेपछि बचतको हिस्सा घटेर मुद्दतिको बढेको हो। त्यसबेला बचतको हिस्सा ४३ प्रतिशत रहेकोमा अहिले घटेर ३१ प्रतिशतमा आएको छ।

राष्ट्र बैंकले पनि बैंकहरुको आधार दर कम भएर सस्तोमै ऋण उपलब्ध होस् भन्दै आइतबार साँझबाट बजारमा करिव ३५ अर्ब रुपैयाँ अतिरिक्त तरलता उपलब्ध गराउने घोषणा गरेको छ। यसका लागि राष्ट्र बैंकले अनिवार्य तरलता अनुपात (सीआरआर) ४ बाट ३ प्रतिशतमा झारेको छ।

३५ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्रलगायतका मौद्रिक औजारमा लगानी गर्न पाउँछन्। यसबाट केही आम्दानी हुने हुँदा कोष लागत घटेर आधार दर तल आउँछ। आधार दरमा प्रिमियम थपेर बैंकहरुले ऋणको ब्याज दर निर्धारण गर्छन्। आधार दर घट्यो भने ऋणको ब्याज पनि कम हुन्छ। 

यसैगरी पुनर्कर्जा कोषलाई ५० अर्बबाट ६० अर्ब पुर्याएको छ भने स्थायी तरलता सुविधा (एसएलआर) को दर ६ बाट ५ प्रतिशतमा झारेको छ। लगानी बिस्तारका लागि साढे २ प्रतिशतको काउन्टर साइक्लिकल बफर स्थगित गरेको छ। अहिले पुँजी पर्याप्तता अनुपात ११ प्रतिशत कामय गर्नु पर्छ। थप साढे २ प्रतिशत कायम गर्दा लगानी गर्ने क्षमता घटेको थियो।