कोरोना भाइरससँग लड्न झन् बढि चाहिन्छ प्रोटिन, कुखुरा र अण्डामा पाइन्छ प्रोटिन

बिजमाण्डू
२०७६ चैत्र १९ गते १३:३२ | Apr 1, 2020
कोरोना भाइरससँग लड्न झन् बढि चाहिन्छ प्रोटिन, कुखुरा र अण्डामा पाइन्छ प्रोटिन


काठमाडौ। संसारका बिभिन्न मुलुकमा कोरोना भाइरसको सक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ। संक्रमणपछि निको हुनेको संख्या भने अपेक्षाअनुसार बढ्न सकेको छैन।

Tata
GBIME
Nepal Life

कोरोनाको ठ्याक्कै औषधी पत्ता लागिनसकेको अवस्थामा यसबाट बच्न डक्टरहरुको सुझाव छ- आफ्नो आत्मबल र रोग प्रतिरोधात्मक क्षमता दुवै बढाउनुहोस्।

रोग प्रतिरोधात्मक क्षमता बढाउन खानुपर्ने कुराहरु के के हुन् त ? खानुपर्ने कुराको सूची लामो भएपनि हाम्रो पहुँचमा भएका प्रोटिनयुक्त खानेकुरा भनेको दूध, फलफूल र माछा-मासु नै हुन्। काजु, बदाम र ओखर जस्ता महँगा खानेकुरामा हामी सबैको सजिलो पहुँच हुँदैन।

विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्ने र त्यसका लागि माछा, मासु, फलफूल र दुग्धजन्य खाद्यवस्तु खान जोड दिएको छ। के तपाइँले पोषक तत्व भएका खानेकुरा खान पाउनुभएको छ?

फ्रान्समा एक जनाले धेरै कुखुराको मासु किन्न नपाउने नियम नै लगाइसकेको छ। सबैलाई मासु पुर्‍याउन र रोगसँग लड्ने क्षमता वृद्धि गर्न सबै नागरिकले कुखुराको मासु खान पाउन भनेर एक जनालाई धेरै मासु किन्न नपाउने नियम बनाइएको हो।

तर यहाँ हामीकहाँ भने एकातिर सामाजिक सञ्जालमा कुखुराको मासु खाँदा कोरोना बढ्ने जोखिम बढी हुन्छ भन्दै मासु नखान सल्लाह दिनेहरूले स्टाटस सेयर गरिरहेका छन्, जुन सरासर गलत हो। र, खान मन गर्नेका लागि पनि लकडाउनले उपलब्धता असहज अवस्थामा छ।

कोरोना भाइरसविरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न दूध, माछा, मासु र फलफूल खानैपर्ने प्रोटिनयुक्त खानेकुरा भएको भेटेरिनरी एसोसिएसन नेपालका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठ बताउँछन्।

'विश्व स्वास्थ्य संगठनले कोरोना जनावरबाट मान्छेमा नफैलिएको र मान्छेबाट जनावरमा पनि नफैलिएको प्रमाणित गरिसकेको छ,' उनले भने, 'त्यसैले माछा-मासु राम्रोसँग पकाएर खाँदा स्वास्थ्यका लागि नभइ नहुने प्रोटिन पाइने र रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ।'

दुई घण्टा मात्रै पसल खोलेर कसरी माछा मासु बेच्ने?
रोगव्याधिविरूद्ध प्रतिरोधात्मक क्षमता बढाउन पोषिला खानेकुरा आवश्यक छन्। ती पोषिलाको सूचीमा अग्रणीमा पर्ने माछा-मासू र दुग्धजन्य पदार्थ यतिबेला न सजिलै पाइन्छ, न त सरकारले बिक्री वितरणका लागि सहजीकरण गर्न ध्यान दिएको छ।  

'बिहान दुई घण्टामात्रै पसल खोल्न दिइएको छ। यसले कसरी चल्छ ?,' भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावल भन्छन्, 'पोषिला खानेकुरा की बेच्ने समय मिलाइदिनुपर्छ की उपभोक्ताले कसरी सजिलै पाउँछन् त्यो व्यवस्था गरिदिनुपर्छ।' सीमित समयमा फ्रेश हाउसहरू पुगेर उपभोक्ताले किन्नै नपाउने स्थिति रहेको उनले बताए।

फ्रेस हाउसहरूलाई आपूर्ति गर्नेलाई पनि समस्या छ। ढुवानीका लागि गाडी चलाउनै पर्छ, चालकहरु पाइदैनन्। यति हुँदाहुँदै पनि कोल्ड स्टोरसम्म आएको मासु पनि बिक्री गर्न नपाएको रावलले बताए। 

अघिपछि काठमाडौं उपत्यका देशभरिमै माछामासुको खपतमा अग्रणी हो। यहाँको बजारलाई स्थानीय उत्पादनले धान्दैन। देशका बिभिन्न भागमा पोल्ट्री फर्म चलाएकाहरूको काठमाडौं साझा बजार हो। यतिबेला खाद्यान्न आपूर्ति व्यवस्थामा हातेमालो गर्न थालेका व्यापारिक संघसंस्थाको प्राथमिकतामा माछा-मासु परिसकेको छैन। यसले व्यापारमात्रै ओरालो लागेको छैन, खाने बानी परेकाहरूको खान्कीमा न स्वाद छ न पोषक तत्व।

देशभर हुने माछामासु खपतको हिस्सामा काठमाडौ उपत्यकाको बजारले आधा ओगटेको छ। उपत्यकामा दिनदिनै बिक्री बढेको ब्रोइलर कुखुराको मासुको खपत दैनिक सवा लाख किलो रहिआएको छ। लकडाउनले आपूर्ति व्यवस्था बिग्रिएसँगै यसको असर उपभोक्तालाई मात्रै परेको छैन, चल्ला-दाना उत्पादकदेखि ठूला पोल्ट्री फर्म र मासु सप्लायरलाई असर परेको छ। जसका लागि बैंकहरूको पनि ठूलो लगानी सम्बद्ध उद्योगमा छ। 

५ हप्तापछि मासु नै नपाइन सक्छ
अहिले व्यवसायीहरुले चल्ला उत्पादन बन्द गरेको र किसानले पनि नयाँ चल्ला पाल्ने हिम्मत नगरेकाले ५ हप्तापछि नेपालमा कुखुराको मासु उत्पादन नै नहुने नेपाल ह्याचरी संघका अध्यक्ष गुणचन्द्र विष्टले बताए।

'अहिले दाना ओसारपसारमा पनि समस्या भएपछि चार हप्ताको कुखुरा पनि किसानले बिक्री गरिरहेका छन्,' उनले भने, 'अहिले कहीँ-कतै बाँकी रहेका दाना र चल्ला हुर्किएर ४/५ हप्तासम्म बजारमा आउँछन्। त्यसपछि नयाँ उत्पादन नै नहुने भएपछि केही समय मासु नै खान नपाइन सक्छ।'

कोरोनाविरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमताका लागि कुखुराको मासु सहज रूपमा पाइने प्रोटिनको स्रोत हो। कोरोना भाइरस तत्कालै नियन्त्रणमा आउने पनि कुनै संकेत देखिएको छैन। तर अहिलेको यो परिस्थितिले हाम्रो प्रोटिनको सहज स्रोत कुखुराको मासु भने एक महिनापछि बजारमा आउनै नसक्ने स्थिति देखिएको विष्टले बताए।

अण्डा उत्पादन भने नियमित
मासु उत्पादनका लागि नयाँ चल्ला हुर्काउनुपर्ने भएपनि अण्डा उत्पादन भने नियमित नै हुने रावल बताउँछन्।

अण्डा उत्पादन गर्ने कुखुरा तयार पार्न लामो समय लाग्ने भएकाले अहिलेको अण्डा उत्पादन प्रक्रियामा लकडाउनले कुनै प्रभाव पर्दैन। तर मासु उत्पादन भने अबको २/३ हप्तापछि नै निकै घट्दै जाने उनले बताए।