टेलिकमको लकडाउन छुट अफर, भ्वाइस कलमा ५० प्रतिशतसम्म छुट, जरिवाना मिनाहा

बिजमाण्डू
२०७६ चैत्र २० गते ११:२० | Apr 2, 2020
टेलिकमको लकडाउन छुट अफर, भ्वाइस कलमा ५० प्रतिशतसम्म छुट, जरिवाना मिनाहा


काठमाडौं। सरकारले इन्टरनेट सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरेसँगै नेपाल टेलिकमले आफ्ना सेवाहरुमा पनि  छुट दिने भएको छ। जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुट दिने भएको हो। 

Tata
GBIME
Nepal Life

चैत २० देखि २६ गतेसम्म (सात दिन) लागू हुनेगरी जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी करसहित क्रमशः ९० पैसा र ५१ पैसा हुने भएको छ। यसैगरी कम्पनीकै नेटवर्कभित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा सात दिन लागू हुनेगरी ५० प्रतिशत छुट दिने भएको छ।

पहिलो प्याकेजमा एक दिनका लागि २५ रुपैयाँको ४० मिनेटको भ्वाइस प्याक खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ। यसैगरी १०० रूपैयाँमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ।

यस्तै टेलिकमले चैत २० गतेदेखि सात दिनका लागि जीएसएम सेवाका डाटा प्याकमा बोनस प्याक समेत उपलब्ध गराउने भएको छ। एक सय रुपैयाँमा एक जीबी डाटा खरिद गर्दा तीन जीबी बोनस प्राप्त हुनेछ। उक्त बोनस कम्पनीको फोरजी नेटवर्कमा ग्राहकले पाँच दिनभित्र प्रयोग गर्नु पर्नेछ। 

यसैगरी दुई सय रुपैयामा दुई जीबी डाटा खरिद गर्दा आठ जीबी डाटा बोनसस्वरूप प्राप्त हुनेछ। प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा सात दिनभित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ। यसरी एक सय रूपैयाँमा बोनससहित कुल चार जीबी र दुई सय रूपैयाँमा बोनससहित कुल १० जीबी डाटा प्राप्त हुनेछ। 

कम्पनीले ल्यान्डलाइन सेवाको महसुल भुक्तानी ढिला भएमा लाग्ने जरिवानामा पनि छुट दिने भएको छ। फागुन र चैत महिनाको महसुल ढिलाइवापत लाग्ने जरिवाना आगामी बैशाख मसान्तसम्मका लागि मिनाहा गर्ने निर्णय गरेको टेलिकमले जनाएको छ। 

साथै, पूर्ण लकडाउनको अवधिमा कम्पनीका एडीएसएल, एफटीटीएच र वाइ-म्याक्स सेवा निरन्तर उपलब्ध गराउने भएको छ। यी सेवाको महसुल भुक्तानी ढिलो भए पनि लकडाउन कायम रहुन्जेल सेवा नरोकिने भएको हो।