अत्यावश्यक सामान घरमै पुर्‍याउँदै ‘सस्तोडिल’, भुक्तानीको केही प्रतिशत कोरोना कोषमा

बिजमाण्डू
२०७६ चैत्र २३ गते १४:५८ | Apr 5, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं।  इकमर्स कम्पनी 'सस्तोडिल'ले लकडाउनको प्रतिकूल अवस्थामा अत्यावश्यक वस्तु घरैमा पुर्‍याउन सुरु गरेको छ। उपभोक्ताले सस्तोडिलको वेबसाइटमार्फत् मगाएको सामाग्री काठमाडौं उपत्यकाभित्र डेलिभरी दिन थालेको हो।

सामान मगाउनका लागि न्यूनतम एक हजार रुपैयाँको सामान खरिद गर्नुपर्ने संस्थापक अमुन थापाले बताए।

उपभोक्ताले अनलाइन अर्डरसँगै पैसा पनि अनलाइनमार्फत् नै तिर्न सक्छ्न्। 'पैसाबाट संक्रमण सर्ने जोखिम उच्च रहेको खबरहरु सार्वजनिक भइरहेका छन्,' उनले भने, 'त्यसैले अनलाइनबाट गर्न सकिने भुक्तानीलाई प्रोत्साहित गरेका हौं।'

क्युआर कोड स्क्यानबाट भुक्तानी गर्न सकिने उनले जानकारी दिए। त्यस्तै सेल-पे बाट भुक्तानी गर्नेले सामान डेलिभरीको समयमा १० थान मास्क समेत नि:शुल्क पाउने जनाइएको छ।

एनएमबि बैंकको कार्डमार्फत् गरिएको भुक्तानीको १५ प्रतिशत र आइएमइ पेमार्फत् गरिएको भुक्तानी भुक्तानीको दुई सय ५० रुपैयाँ कोरोना नियन्त्रण तथा उपचार राहत कोषमा जम्मा हुनेछ।

उपभोक्ताले नगद भुक्तानी गर्न पाउने सुविधा पनि छ।

थापाका अनुसार मानिसबाट मानिसमा सर्ने संक्रमण रोकथामका लागि सस्तोडिलका सम्पूर्ण कर्मचारीलाई पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट उपलब्ध गराइएको छ। 'यसमा हामीले कर्मचारी र उपभोक्ता दुबैको स्वास्थ्यलाई ध्यानमा राख्दै सावधानी अपनाएका हौं,' उनले भने।

सस्तोडिलले यस प्रतिकूल घडीमा सडकमा खट्ने ट्राफिक प्रहरीको लागि पनि मास्क र स्यानिटाइजर सहयोग गरेको छ।  थापाले उक्त सहयोग ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकाललाई हस्तान्तरण गरे।