माग भन्दा बढी आएपछि उपत्यकामा हट्यो ग्यास अभाव, उद्योगमा स्टक समेत भरियो

बिजमाण्डू
२०७६ चैत्र २३ गते १६:०९ | Apr 5, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। माग भन्दा बढी आएपछि काठमाडौं उपत्यकामा ग्यास बिक्री हुन छाडेको छ। कोरोना संक्रमणसँगै उपभोक्ताले आत्तिएर चाहिने भन्दा बढी भण्डारण गर्दा अहिले ग्यास बिक्री हुन छाडेको हो।

ग्यास उद्योग संघका निर्वतमान अध्यक्ष एवं एभरेष्ट ग्यासका संचालक शिवप्रसाद घिमिरेले पछिल्लो केही दिनदेखि ग्यासको बिक्री नै हुन छाडेको बताए। ‘हाम्रो एभरेष्ट र सुगम ग्यास बिक्री हुनै छाडेको छ। हामीले अहिले कुनै डिलरले ५० सिलिण्डर ग्यास माग्दा ७० सिलिण्डर पठाइरहेका छौं,’ उनले बिजमाण्डूसँग भने, ‘उद्योगको भण्डारण पनि भरिन थालिसकेको छ। केही भरिएका बुलेट थन्क्याउने परिस्थिति आएको छ।’

उनका अनुसार नाकाबन्दीजस्तै सोचेर उपभोक्ताले बढी स्टक राख्दा केही समय बजारमा अभाव देखिएको थियो। ‘ग्यास अभाव हुने अवस्था थिएन्। तर उपभोक्ताले नाकाबन्दीजस्तै सोचेर धेरै सिलिण्डर होल्ड गर्दा समस्या भयो,’ घिमिरेले भने, ‘कतिपय उपभोक्ताले ग्यास भण्डारण गरेर आफ्नो गाउँमा गए। अहिलेकै अवस्था रहेमा केही महिना ग्यास बिक्री कम हुनसक्छ।’

ग्यास अभाव हटेको तथ्यांक नेपाल आयल निगमको बिक्री कक्षले पनि देखाउँछ। निगमको टेकुमा रहेको बिक्री कक्षमा ६ दिनमा ६ सय ३२  सिलिण्डर मात्रै बिक्री भएको छ। त्यहाँ २२ वटा उद्योगको ग्यास बिक्रीका लागि राखिएको छ। शहरको मध्य भागमा राखिएको बिक्री कक्षमा एउटा डिलरको भन्दा पनि कम बिक्री हुनुले अभाव हटेको स्पष्ट भइसकेको घिमिरे बताउँछन्। सबैभन्दा बढी ग्यास भण्डारण क्षमता रहेको नेपाल ग्यासको समेत अभाव हटेर स्टक बढ्न सुरु भइसकेको छ।

‘मंगलबारसम्म हाम्रो एक हजार टन भण्डारण भरिन्छ। त्यसपछि ग्यास लिएर आएका बुलेटको व्यवस्थापन गर्न कठिन हुन्छ,’ संघका अध्यक्ष एवं नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारीले भने, ‘ग्यास व्यवस्थापनका लागि निगमले लिएका केही नीतिहरु परिवर्तन गर्नुपर्ने पनि हुनसक्छ।’

निगमले अभाव हटाउन दुई साता अघि आधा सिलिण्डर ग्यास बिक्रीको निर्णय गरेको थियो। यो निर्णयपछि ग्यास अभाव विस्तारै हट्दै गएको छ। भारतबाट पनि १५ दिनको अवधिमा १५ हजार टन ग्यास दिने प्रतिबद्धता जनाएको छ। मार्च महिनामा ४५ हजार ३ सय टन ग्यास नेपाल आएको थियो। ग्यास धेरै खप गर्ने क्षेत्र होटल र रेष्टुरेन्ट हुन्। लकडाउनले ती बन्द हुँदा माग घट्यो। साथै धेरै ग्यास आएकाले समेत अभाव टरेको हो।

त्यो आधारमा भारतबाट आएको बुलेट खन्याउन नपाए फेरि केही समयपछि ग्यास व्यवस्थापन गर्न कठिन हुनेछ। निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल ग्यास अभाव हटेको बताउँदै आधा सिलिण्डरको बारेमा सबै सिलिण्डरको विवरण हेरेर मात्रै निर्णय गरिने बताउँछन्। ‘हामीले ग्यास उद्योगसँग सिलिण्डरको विवरण मागेका छौं। त्यो विवरणका आधारमा पूरा सिलिण्डर भर्ने कि नभर्ने निर्णय हुनेछ,’ उनले भने, ‘हामी केही महिनाको आपूर्तिलाई समेत दृष्टिगत गरेर उपयुक्त टुंगोमा पुग्नेछौं।’

ग्यास अभाव हटाउन सरकार-व्यवसायी पहल

कोरोना संक्रमणपछि ग्यासको माग ह्वातै बढ्यो। बजारमा जति ग्यास पठाएपनि उपभोक्ताले किनेर घरमा लगेर राखे। नाकाबन्दीको मनोवैज्ञानिक त्रासमा रहेका उपभोक्ताले स्टक राख्न थालेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफै अनुगमनमा निस्किए।

भट्टले ग्यास उद्योगीलाई मन्त्रालयमा डाकेर सेना लगाएर बिक्री गर्ने धम्की समेत दिए। नरम स्वभावका भट्टले धम्की दिएपनि उद्योगीलाई साथमा लिन भने छाडेनन्।

उनले निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई उद्योग संघका अध्यक्ष गोकुल भण्डारी, निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरे र कोषाध्यक्ष कृष्णभक्त श्रेष्ठ लगायतलाई परामर्श गर्न लगाए। भट्टले ग्यास बिक्रेता महासंघका पूर्व र वर्तमान पदाधिकारीसँग समेत अभाव हटाउन आवश्यक सुझाब लिए। उदयपुर सिमेन्ट उद्योग सफल रुपमा चलाएर आएका पौडेलले समेत उद्योगीसँग परामर्श गर्दै ग्यास सहज बनाउन फिल्डमै खटिए।

पौडेललाई निगमका निमित कार्यकारी निर्देशक सुशील भट्टराई र निर्देशक दीपक बरालले साथ दिए। सुरुमा केही डिपोमा धेरै ग्यास दिएर खुद्रा बिक्री थालियो। त्यो बिक्री केन्द्रमा पौडेल, भट्टराई र उद्योगी भण्डारी, घिमिरे र श्रेष्ठ संयुक्त रुपमा डिपो अनुगमन समेत गरे। ती डिपोबाट समेत ग्यास अभाव नहटेपछि पौडेलले आधा सिलिण्डर ग्यास बिक्री गर्ने योजना ल्याए।

यो योजना ल्याउनुको अर्थ थियो- ‘खाली रहेका सिलिण्डर अकुपाई गर्नु।’ निगमले ल्याएको आधा सिलिण्डरमा समेत सुरुमा केही उद्योगीले असहमति जनाए। तर संघका अध्यक्ष भण्डारीले सबै उद्योगीलाई सहमत गराए। आधा सिलिण्डर ल्याएर अभाव हटाउने निगमको योजना दुई सातामै सफल भयो।

तर अब भने निगमले आधा सिलिण्डर भर्ने योजनामा पुर्नविचार गर्न आवश्यक रहेको एक उद्योगीले बताए। ‘आधा सिलिण्डर भर्ने निगमको योजना राम्रो थियो। अब यसमा पुर्नविचार गर्न सकियो भने भारतबाट आएको ग्यास सहज रुपमा भरेर बिक्री गर्न सकिन्छ। यसले ग्यास व्यवस्थापन भएर केही महिना अभाव पनि हुँदैन्,’ उनले भने।