काठमाडौं महानगरपालिकाले १० हजार ५ सय भन्दा बढीलाई बाँड्यो, कुन वडाले कतिलाई दिए राहत?

बिजमाण्डू
२०७६ चैत्र २३ गते २०:३७ | Apr 5, 2020
काठमाडौं महानगरपालिकाले १० हजार ५ सय भन्दा बढीलाई बाँड्यो, कुन वडाले कतिलाई दिए राहत?

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगपालिका भित्र वसोवास गर्दै आएका असहाय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुको पहिचान गरी राहत वितरणलाई तीव्रता दिएको छ।

 केही दिन अघि मात्रै कोरोना भाइरस (कोभिड–१९) सम्वन्धि राहतवितरण मापदण्ड–२०७६ पारित गरेको महानगरले राहत वितरण र लगत संकलन कार्यलाई तीव्रता दिएको हो। शनिबारसम्म महानगरले ३२ वटै वडाबाट १० हजार ५ सय २३ जनालाई राहत वितरण गरेको छ।

३२ वटा वडाले उपलब्ध गराएको तथ्यांक अनुसार २२ हजार ६ सय ४२ जनाको विवरण संकलन गरिएको प्रशासन विभाग प्रमुख नमराज ढकालले बताए। उनका अनुसार अभिभावक नभएका, आफ्नो आयस्रोत नभएका अरुको सहयोग एवं सहारामा बस्ने, आम्दानीको  कुनै स्थायी स्रोत नभएका, दैनिकी गुजार गर्न कठिन अवस्था भएका र सम्वन्धित वडाले अति विपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई राहत दिने गरि मापदण्ड बनाइएको छ।

संगठित संस्थामा काम गर्ने बाहेक महानगरमा  विगतदेखि दैनिक रुपमा ज्यालामजदुरी गर्दै आएका, भरियालगायत पनि मापदण्ड भित्र पर्ने ढकालको भनाई छ।

मेयर बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ४३औं नगर कार्यपालिका बैठकले विवरण संकलनका लागि एकै प्रकारको फारम ३२ वटै वडालाई  वितरण गरेको थियो। त्यसैका आधारमा विवरण संकलनको कामलाई तिव्रता दिइएको हो। वडाहरुले क्वारेन्टाइनका निर्माणको कामलाई पनि तीव्रता दिएका छन्।

वडा नम्बर–४ का अध्यक्ष मोहन विष्टले बागमती कलेज सुकेधारालाई २७ शैयाको क्वारेन्टाइन बनाएको जानकारी दिए। उक्त वडाले करीब २ हजारलाई राहत वितरण गर्ने योजना बनाएको छ। अध्यक्ष विष्टका अनुसार आज मात्रै ५ सय ३७ जनाले राहत प्राप्त गरेका छन्। उक्त वडाले ६ स्थानबाट राहत वितरण गर्दै आएको छ। वडा १० ले पनि एक हजार बढीलाई राहत वितरण गरेको जानकारी दिएको छ। वडा १८ ले १२ सय भन्दा बढीलाई वितरण गरेको जानकारी दिएको छ। वडा २७ ले पनि समस्यामा परेका करीब ७ सयलाई खाना खुवाएको जनाएको छ।

त्यसैगरी वडा ५ ले ९ सय बढी र वडा ११ ले ६ सय बढीलाई राहत वितरण गरेको छ। वडा १४ ले ७ सय बढीलाई राहत वितरण गरेको छ।  यता वडा ३१ ओम बाँडेश्वर मन्दिरबाट आसपासका का १ सय १५ परिवारलाई, त्यसैगरी इन्द्रधनुष स्कूल र भ्याली भ्यू स्कुलबाट १ सय १९ परिवारलाई राहत दिएको छ।  आलोकनगरमा ३० परिवार र देउराली क्लवबाट ५० परिवारलाई पनि राहत दिइएको वडा सचिव सुरेश साहुले बताए। 

वडा १३ को राहत वितरण कार्यक्रममा मेयर शाक्य अनुगमनमा पुगेका थिए। संघीय संसद, जीवनराम श्रेष्ठ, प्रदेश सभा सदस्य राजेश शाक्य, जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र वडाध्यक्ष ध्रुवनारायण मानन्धर पनि राहत वितरण कार्यक्रममा सहभागी थिए। 

यो वडा कालीमाटी तरकारी बजार भएको क्षेत्र हो। सो वडामा एकै दिन २ सय ५० बढीले राहत लिएका छन्। महानगरका प्रवक्ता ईश्वरमान डंगोलको वडा १५ ले पनि आजसम्म ६ सयलाई राहत वितरण गरेको छ। उक्त वडामा करीब १३ सयको बिवरण संकलन भएको छ।  मेयर शाक्य मतदाता रहेको वडा २१ ले पनि आइतबारबाट राहत वितरणलाई तीव्रता दिएको छ।

राहत वितरणको पहिलो दिन १ सय १० जनालाई वडा कार्यालयबाटै वितरण गरेको वडाध्यक्ष उदय चुडामणि बज्राजार्यले बताए। वडा २१ को राहत वितरणको सुरुवात गरेको मेयर शाक्यले बताए।  सो वडाले शनिबारसम्म २ सय १० जनाको विवरण संकलन गरेको छ। त्यसैगरी वडा १६ ले पनि शनिबारसम्म ३ हजार २ सयको विवरण संकलन गरेको छ भने ४ सय ८६ लाई राहत वितरण गरेको छ ।  

वडा २६ मा पनि राहत माग गर्दै विवरण बुझाउनेको संख्या १ हजार ५ सय २० पुगेको वडाध्यक्ष ख्याम तिवारीले जानकारी दिए। काठमाडौं बाहिर चल्ने लामो दुरीका गाडी यही वडामा भएको बसपार्कबाट छुट्ने भएकोले महानगरकै असंगठित क्षेत्रका श्रमिकको संख्या धेरै रहेको उनले बताए। उनका अनुसार पहिलो दिननै २ सय ९७ जनालाई राहत दिइएको छ।