कोरोना संक्रमणपछिको अर्थतन्त्रमा के परिवर्तन होला? कसरी अघि बढ्ने भन्नेमा देव गुरागाइँको लेख 

बिजमाण्डू
२०७६ चैत्र २४ गते १४:२९ | Apr 6, 2020
कोरोना संक्रमणपछिको अर्थतन्त्रमा के परिवर्तन होला? कसरी अघि बढ्ने भन्नेमा देव गुरागाइँको लेख 

Tata
GBIME
Nepal Life

कोरोना भाइरसको महामारीले नेपाललगायत दक्षिण एसिया, एसिया, युरोपेली क्षेत्रका साथै विश्वका कयौं मुलुक अहिले लकडाउन झेलिरहेका छन्। महामारीले हुनसक्ने मानवीय क्षति कम गर्न र दीर्घकालीन रूपमा अर्थतन्त्रलाई बचाउन योबाहेक अर्को विकल्प पनि थिएन । 
 
यस्तो महामारीमा तत्काललाई विकसित मुलुकले खर्च धान्न त सक्दछन्, तर ती राज्यलाई दीर्घकालीन समस्या भने पर्न सक्ने सम्भावना अधिक हुन्छ। महामारीको मनोवैज्ञानिक प्रभावले यसरी जरो गड्छ कि आम उपभोक्ताको वस्तुको उपभोगको दरमा ह्रास आउँछ। 

उपभोगमा कमी आएपछि उत्पादित सागाग्री बिक्री हुँदैन र ठूलो औद्योगिक क्षति बेहोर्नुपर्ने हुन्छ। औद्योगिक क्षतिले राज्यको आम्दानी घट्छ। आम्दानी घटेपछि राज्यले ल्याउने सामाजिक सुरक्षालगायत अन्य सहयोग तथा राहतका कार्यक्रम प्रभावित हुन्छन्। 

सरकारले नागरिकको दैनिक आवश्यकता परिपूर्ति गर्न सक्दैन। परिपूर्ति नहुँदा बेरोजगारी, गरिबी र भोकमरीजस्ता बिकराल समस्या सृजना भई देश नै आर्थिक संकटमा फस्न सक्छ। 

विकसित देशहरुको औपचारिक अर्थतन्त्रमा कहिँकतै गडबडी आउनासाथ यसका सबै संयन्त्रले राम्रोसँग काम गर्न छाड्दछन्। त्यसैले तत्कालिन रूपमा ठूला आर्थिक सुधारका प्याकेज चाहिन्छ। यसबाट नागरिकको आर्थिक मनोविज्ञानमा सुधार आउँछ। मनोविज्ञानमा सुधार नल्याएसम्म अर्थतन्त्र नाजुक अवस्थाबाट गुज्रिने सम्भावना अधिक रहन्छ। 

विश्वको आर्थिक, राजनीतिक शक्ति सन्तुलन पनि परिवर्तन हुन सक्छ। आन्तरिक र वाह्य सन्तुलनको समीकरण अप्रत्याशित परिवर्तन हुन सक्छ। यसले विश्वसँगै क्षेत्रीय राजनीतिक परिदृष्यमा पनि नयाँ हलचल मच्चिन सक्छ।  
 
नेपालको अनौपचारिक अर्थतन्त्र
अहिलेको हाम्रो अर्थतन्त्रको अवस्था भनेको चलिरहेको भिडियो एकैछिन रोकिएको जस्तै मात्र भएको छ। रोकिएको समयमा यसले अर्थतन्त्रमा के कस्तो प्रभाव पार्छ भनेर विश्लेषण गर्नु आवश्यक छ। अर्थिक गतिविधि नभएका बेलामा के कति क्षति हुन्छ भनेर पूर्वानुमान लगाउनुपर्ने हुन्छ। यही विश्लेषणका आधारमा सम्भावित क्षतिलाई न्यूनीकरण गर्न के कस्ता उपायहरु अवलम्बन गर्न सकिन्छ त्यो गर्नु महत्वपूर्ण हुन्छ। 

अन्य प्राकृतिक प्रकोप, भूकम्प, आँधीबेरी, सुनामी, बाढी-पहिरो, भूक्षय र आगलागी आदिले मानिसको मृत्यु हुनुका साथै भौतिक संरचनाहरु पनि ध्वस्त हुन्छन्। र, ती संरचना पुनः पहिलेकै अवस्था फर्काउन ठूलो धनराशी र लामो समय लाग्दछ। 

अहिलेको प्रकोपले प्रत्यक्ष रूपमा मानव जीवन र मनोविज्ञानमा असर पारेको छ। भौतिक संरचनाहरु जस्ताको त्यस्तै छन्। त्यसैले खस्किएको आर्थिक अवस्थालाई पुनर्जागरण गर्नका लागि सरकारले तत्काललाई केही आर्थिक प्याकेजहरु घोषणा गर्नु पर्दछ। अहिलेको महामारी नियन्त्रणमा आउन समय लाग्न सक्छ। पैसा पनि ठूलै मात्रामा खर्च हुन सक्छ।  

नेपालजस्तो अल्पविकसित देशलाई तत्कालको ब्यवस्थापन र खर्च धान्न निकै गाह्रो पर्छ। वार्षिक बजेट थोरै हुन्छ, प्राथमिकताका क्षेत्र धेरै हुन्छन्। त्यसमा पनि विकास बजेट खर्च गर्ने क्षमता कमजोर छ। खर्च भइहाले पनि अनियमितता र भष्टाचारको दर अधिक छ। 

सरकारले भविष्यमा आउन सक्ने यस्तै किसिममा संकटसँग जुध्न चाहिने रकम पहिल्यै जोहो गरेको हुँदैन। त्यसैले महामारीका बेला राज्यको आम्दानीभन्दा खर्च  धेरै हुँदा सरकारी ढुकुटी कमजोर हुन्छ। 

महामारीमा निम्न वर्ग निकै चपेटा पर्दछन् भने मध्यम वर्ग पनि स्तर खस्केर निम्न वर्गमा झर्ने सम्भावना अधिक रहन्छ। उच्च वर्गको सम्पत्ति मा थोरै मात्र ह्रास आउँछ। 

तत्कालिन विश्लेषण गर्दा नेपालको गरिबी र बेरोजगार दर केही बढ्ने देखिन्छ। तर आर्थिक अवस्था टाट पल्टिने स्थितिमा भने पुग्दैन। किनभने नेपालका लागि अहिलेको प्रकोप नयाँ होइन। 

२०४७ को राजनीतिक आन्दोलन, २०५२–६२ को १० वर्षे द्वन्द्व, २०६२/६३ को १९ दिने जनआन्दोलन, विभिन्न जातीय र क्षेत्रीय आन्दोलन, भूकम्प र नाकाबन्दी जस्ता कयौँ विपत्तिहरु यसअघि पनि आइसकेका छन्। त्यस्तो अवस्थामा पनि नेपालका लगानीकर्ता, नेपाली बजार र नेपाली उपभोक्ता विचलित भएनन् भने अबको अवस्थामा पनि त्यो विचलन आउला भन्ने सम्भावना न्यून देखिन्छ। २०७२ को महाभूकम्पले समस्यामा परेको अर्थतन्त्र त्यसपछि तंग्रिँदै अहिलेसम्मकै उच्च आर्थिक वृद्धि हासिल गर्न सफल भएको छ।

हाम्रो आर्थिक ब्यवहार अधिकांश अनौपचारिक छ। अनौपचारिक अर्थतन्त्रले यस्तो संकटबाट जोगाउन ठूलो भूमिका पनि खेल्छ। देशमा आधारभूत सेवा प्रवाहको अवस्था कमजोर छ। त्यसको वितरणको प्रविधि र प्रयोगको अवस्थाम पनि नाजुक छ। त्यसैले नेपालीले भविष्यमा आइपर्ने यस्तै विभिन्न किसिमका संकट तथा समस्याहरुसँग जुध्न ब्याक्तिगत सम्पत्ति जोड्न आवश्यक ठान्दछन्। 
आफूलाई पुग्ने मात्र हैन कि सन्तानको लागि समेत जोड्दिनु पर्ने जरुरी ठान्दछन्। नेपालीहरु बैंकिङ माध्यमबाट भन्दा हात-हातै नगदमा कारोबारलाई धेरै विश्वास गर्छन्। पैसा घरमै राख्ने जमात निकै ठूलो छ, जुन अनौपचारिक अर्थतन्त्रअन्तर्गत पर्दछ।  

अबको बाटो
खस्किएको अर्थतन्त्रलाई उकास्न विप्रेषणमा निर्भर जनसंख्यालाई कृषिमा आत्मनिर्भर बनाउनु पर्दछ। अबका दिनमा हामीले उत्पादनलाई मुख्य प्राथमिकता राख्दै ब्यापार- ब्यवसायमा नयाँ संरचना, नयाँ पद्धति र नयाँ प्रविधिलाई समावेश गर्दै अगाडि बढ्नु पर्दछ। 

भविष्यमा आउन सक्ने यस्ता किसिमका संकटमा बच्न आफ्नो उत्पादनबाट धान्न सकिनेगरी पूर्वाधार विकास गर्नु पर्दछ।  आफ्नै वस्तुको उपभोग गर्दा वैदेशिक ब्यापार घाटा कम गर्न सकिन्छ। न्युन आय भएका मजदुर र श्रमिकलाई अनौपचारिक अर्थतन्त्रबाट औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्नु पर्दछ। 

दैनिक ज्यालादारी र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई केही बचत गर्न सक्ने क्षमतामा परिणत गर्नु पर्दछ। मजदुरको न्यूनतम आय प्रत्याभूत गर्दै अझ बढी कमाउने वातावरण दिनु पर्छ। 

साना तथा मझौला ब्यवसायमा वित्तीय संस्थाले लगानी बढाउनु पर्दछ। यस्ता ब्यवसायको संख्या र कारोबार बढ्दै जाँदा तरलताको समस्या पनि हल भएर जान्छ। 

लकडाउनका कारण अहिले सेयर बजारको कारोबार बन्द छ। लकडाउन सकिएपछि कमजोर अर्थतन्त्रको जगमा सेयर बजार खुल्ने छ। त्यसबेला बजारले कुन लय समात्छ भनेर स्वभाविक अनुमान लगाउन सकिन्छ। 

त्यसैले सरकारले अर्थतन्त्रमा पर्ने सम्भावित क्षतिलाई पुनर्जागरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउन पुर्काछ। राहतका प्याकेजहरु प्रभावकारी हिसाबले ल्याउनु पर्छ। अहिलेको संकटले लगानीकर्ताको मनस्थिति कमजोर भएपनि त्यसमा सुधार आउन धेरै समय लाग्दैन। प्रभावकारी राहत प्याकेज ल्याउन सके एक कदम पछाडि सरेको नेपालको अर्थतन्त्रलाई भाइरस नियन्त्रणपछि दुई कदम अगाडि बढाउन सकिन्छ।