ग्रामीण भेगका बैंकमा छैन कोरोनाको सतर्कता, बैंक नखुल्दै भिडभाड, बृद्धभत्ता लिनेको लाइन

बिजमाण्डू
२०७६ चैत्र २४ गते १४:५६ | Apr 6, 2020

Tata
GBIME
Nepal Life

वीरगंज। बाराको परवानीपुर गाउँपालिका अन्तर्गत परवानीपुर बजारमा सञ्चालनमा रहेको नेपाल बंगलादेश बैंकको शाखामा कोरोनाविरुद्ध सतर्कता अपनाइएको छैन।

बैंकमा पुग्ने सेवाग्राहीहरुलाई सामाजिक दुरीलगायत कुनैपनि किसिमको सजगता नअपनाइएको हो। बैंकमा बिहान १० बजेदेखि नै सेवाग्राहीको भीड लाग्ने गरेको छ। बैंक भने बिहान ११ देखि दिउँसो १ बजेसम्म सञ्चालन हुन्छ।

बैंकका प्रबन्धक सञ्जय यादवले कोरोना महामारी फैलिरहे पनि ग्रामीण क्षेत्रको शाखा र सुरक्षाकर्मीको उपलब्धता कम भएकाले यस्तो भइरहेको स्वीकारे।

बैंकमा भीड बढेको विषयमा गाउँपालिका अध्यक्ष हरिनारायण साहलाई जानकारी दिएपछि प्रहरी चौकी बुनियादबाट प्रहरीको टोली आएर लाइनमा बसाएर भत्ता वितरण गरिएको उनले बताए।

सरकारले ज्येष्ठ नागरिकलाई मासिक ३ हजार, एकल महिला, दलितलाई मासिक २/२ हजार, दलित बालबालिकाहरुलाई मासिक ८ सय, अपांगहरुलाई वर्गीकरण अनुसार मासिक ८ देखि १२ हजार रुपैयाँसम्म भत्ता वितरण भइरहेको बैंकले जनाएको छ। परवानीपुर गाउँपालिकामा करिब १ हजार ४ सयको हाराहारीमा सामाजिक सुरक्षा भत्ता लिनेहरु रहेको गाउँपालिकाले जनाएको छ।