एप्पलको नयाँ प्रोडक्ट : आइफोन र एप्पल वाच होइन कोभिड-१९ विरुद्ध लड्न ‘फेस सिल्ड’

बिजमाण्डू
२०७६ चैत्र २४ गते १५:१९ | Apr 6, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। हरेक वर्ष आइफोनका सिरिजहरु लञ्च गर्दै आएको एप्पलले यस वर्ष नयाँ उत्पादन बजारमा ल्याउने भएको छ। एप्पलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) टिम कुकले नयाँ प्रोडक्टको घोषणा गरे जुन आइफोन अथवा एप्पल वाच थिएन।

यसपटक एप्पलले स्वास्थ्यकर्मीहरुका लागि आवश्यक ‘फेस सिल्ड’ निर्माण गर्ने घोषणा गरेको छ। कोभिड-१९ विरुद्ध लडिरहेका चिकित्सक तथा नर्सका लागि एप्पलले स्वास्थ्य सुरक्षाको सामाग्री उत्पादन गर्ने घोषणा गगरेको हो।

सिइओ कुकले ट्विटरमार्फत स्वास्थ्यकर्मीहरुका लागि २ करोड फेस मास्क उत्पादन गर्ने घोषणा गरेका छन्। योसँगै एप्पलले नयाँ ‘फेस सिल्ड’को डिजाइनसमेत तयार गरेको छ।

यो ‘फेस सिल्ड’ एप्पलका डिजाइनरहरुले तयार पारेका हुन् भने एप्पलले निर्माण गरेको हो।

‘हाम्रो सप्लाई चेनबाट हामीले यो संख्यामा मास्कका लागि स्रोत तयार पारेका हौँ जुन विश्वभर दुई करोड बढी हुने छ’, टिम कुकले भनेका छन्, ‘हामीले अत्यावश्यक स्थानका लागि सहयोग गर्न सरकारका सबै निकायसँग लगातार रुपमा नजिकको सम्पर्क राखिरहेका छौं।’

एप्पलले पारदर्शी प्लास्टिकको ‘फेस सिल्ड’को डिजाइन गरेको छ।‘फेस सिल्ड’ सिपिङका लागि तयार भएको ‘आइकिया फर्निचर’को जस्तै प्याकिङ गरिएको छ। यो दुई मिनेटमा एसेम्बल हुने समेत बताइएको छ।

एप्पलले यो साता १० लाख बढी ‘फेस सिल्ड’ तयार गर्ने र अर्को साता अर्को १० लाख उतपादन गर्ने जनाएको छ। ‘फेस सिल्ड’को पहिलो लटको उत्पादन यसै साता सान्टा क्लारास्थित केसर अस्पतालमा पुर्‍याइएको छ। एप्पलले ‘फेस सिल्ड’ निर्माणका लागि अमेरिका र चीनबाट सामग्री संकलन गरिरहेको छ। चीनबाट पनि यसको उत्पादन भइरहेको छ। टिम कुकले अहिलेको अवस्थामा आफ्नै ढंगले एप्पलले काम गरिरहेको बताए।

‘यो नै अन्तिम उत्पादन, सहयोग र सेवा भने होइन, एप्पलले कोरोना भाइरसविरुद्ध लड्न अन्तर्राष्ट्रिय रुपमा सहयोग पुर्‍याउने छ,’ उनले भनेका छन्।