काठमाडौं। गभर्नरमा डा. युवराज खतिवडा नियुक्त भएलगत्तै डेपुटी गभर्नर पदहरु रिक्त भए। तर खतिवडाले तत्कालै डेपुटी गभर्नर नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएनन्।
प्रमुख दावेदारहरु अवकाश भएपछि बल्ल खतिवडाले डेपुटी गभर्नर नियुक्ति प्रकृया अगाडि बढाए। नेपाली कांग्रेसको कोटाबाट गोपाल काफ्ले डेपुटी गभर्नर नियुक्त भए भने तत्कालिन एमाले र आफ्नो कोटाबाट महाप्रसाद अधिकारीलाई नियुक्ति दिलाए।
अधिकारीको नियुक्तिले खतिवडालाई गभर्नर छउन्जेल ठूलो साथ र हौसला मिल्यो। अधिकारीलाई उच्च पदमा नियुक्ति दिलाएर पहिलो पटक खतिवडाले गुन लगाएका थिए।
गुन लगाउने श्रृंखला फेरि पनि रोकिएन।
खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्य भए। लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत पद रिक्त भयो। त्यो पदमा वहालवाल प्रमुख कार्यकारी राधेश पन्तको पनि दावी थियो।
प्रमुख कार्यकारी सिफारिस समितिको सदस्यमा खतिवडा थिए। संयोजक थिए अर्थमन्त्रीका रुपमा विष्णु पौडेल र अर्का सदस्यका रुपमा पुर्व सचिव केशव भट्टराई। खतिवडाको पहलमा अधिकारी प्रमुख कार्यकारी अधिकृत नियुक्त भए।
३० बर्ष आफूले काम गरेको राष्ट्र बैंकको नेतृत्वमा पनि खतिवडाले नै अधिकारीलाई पुर्याएका छन्। गभर्नर सिफारिस समितिको संयोजकमा अर्थमन्त्री खतिवडा छन्। उनले नै अधिकारीलाई गभर्नर मात्र सिफारिस गरेनन् अन्तत: गभर्नरको नियुक्ति नै दिलाइ छाडे।