सरकारी उद्योगले पनि थाल्यो स्यानिटाइजर उत्पादन, दैनिक २० हजार बोटल उत्पादन गर्ने

बिजमाण्डू
२०७६ चैत्र २४ गते १७:२८ | Apr 6, 2020


काठमाडौं। कोरोना रोकथाममा प्रयोग हुने स्यानिटाइजर सरकारी कम्पनीले समेत उत्पादन सुरु गरेको छ। सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले सिटामोलसँगै स्यानिटाइजर उत्पादन सुरु गरेको हो। 

Tata
GBIME
Nepal Life

कम्पनीले रिलायन्स उखु उद्योगसँग १० हजार लिटर अल्कोहल खरिद गरी उत्पादन सुरु गरेको हो। कम्पनीले जर्मन प्रविधिको प्रयोग गरी उत्पादन सुरु गरेको जनाएको छ। यो प्रविधिबाट १ मिनेटमा ३६ वटा बोटल भर्न सकिन्छ।  

दैनिक एक सय एमएलको २० हजार बोटल स्यानिटाइजर उत्पादन गरिरहेको कम्पनीका निमित्त महाप्रबन्धक विजयश्री रत्न बज्राचार्यले बताए। 
सय एमएलको मूल्य प्रति बोटल १ सय ७५ रुपैयाँ तोकिएको छ।

यसको थोक मूल्य १ सय ५० रुपैयाँ हो। कम्पनीले उत्पादन गरेको स्यानिटाइजर विश्व स्वास्थ्य संगठन डब्लुएचओको मापदण्ड अनुसार रहेको बज्राचार्यले बताए। जसमा ८० प्रतिशत अल्कोहल र १८ प्रतिशत शुद्ध पानी, १ प्रतिशतभन्दा बढि ग्लीसिरिन र डिस्टिल वाटरको प्रयोग गरिएको छ। 

कम्पनीका अनुसार आइतबारदेखी दैनिक १५ हजार बोटल स्यानिटाइजर बिक्री गरिरहेको छ। बजारको माग अनुसार स्यानिटाइजर उपलब्ध गराउने कम्पनीले जनाएको छ।


 
अहिले अस्पताल, बैंक लगायतमा ठूलो परिमाणमा स्यानिटाइजर माग गरिरहेका छन्। थप अल्कोहल आउने क्रममा रहेकाले बजारमा स्यानिटाइजर अभाव नहुने कम्पनीले जनाएको छ।

कम्पनीलाई अब व्यवसायिक रुपमा अघि बढाउने उद्योग राज्यमन्त्री मोतिलाल दुगडले बताए। उनका अनुसार कम्पनीलाई अब थप औषधि उत्पादन गर्ने व्यवस्था गरिनेछ। 

कम्पनीसँग १ करोड रुपैयाँको सिटामोल  मौज्दात छ। हाल दैनिक १ लाख ५० हजार सिटामोल उत्पादन गरिरहेको छ। गत एक सातामा १३ लाख ट्याबलेट सिटामोल बिक्री गरेको कम्पनीले जनाएको छ।

हाल उद्योगमा १ सय कर्मचारी काम गरिरहेका छन्। स्यानिटाइजर उत्पादन गर्न सबै कानुनी प्रक्रिया पुरा गर्दा केहि ढिला भएको महाप्रबन्धक बज्राचार्यले बताए।

'अहिले देशमा सिटामोलको माग उच्च भएकोले उत्पादन भएका सबै ट्याब्लेट बिक्री गरिरहका छौं,'  बज्राचार्यले भने, 'हाम्रा ७० वटा डिलरबाट बिक्री गरिरहका छौं।' 

उनका अनुसार कम्पनीसँग १० लाख पेनकिलर ट्याब्लेट र ३ लाख जीवनजल मौज्दात छ। कम्पनीले सिटामोल प्रति ट्याब्लेट एक रुपैयाँमा बिक्री गरिरहेको छ।