हिमालय एयरलाइन्स र हुवावे क्लाउडबीच सम्झौता, ‘स्मार्ट सिल्क रोड’ सृजना गर्ने

बिजमाण्डू
२०७७ असार १६ गते १६:५७ | Jun 30, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। हिमालय एयरलाइन्स र हुवावे क्लाउडबीच रणनीतिक सहकार्य सम्बन्धी सम्झौता भएको छ। काठमाडौंस्थित हुवावे कम्पनीको कार्यालयमा रणनीतिक सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको एयरलाइन्सले जनाएको छ।

सम्झौतामा हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इन्योङ्ग र हुवावे टेक्नोलोजिज् नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत डेङ्ग शुइजेनले हस्ताक्षर गरे।

कार्यक्रममा नेपालकालागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्ग फ्यान, तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङ्ग पिङ्ग र हुवावे टेक्नोलोजी क्लाउड र ए.आई व्यवसायिक समूह – एशिया प्रशान्त क्षेत्रको अध्यक्ष झोउ डान्जीनको भर्चुअल उपस्थिति थियो ।

महामारी पश्चातको अन्तर्राष्ट्रिय उड्डयन, अन्तर्राष्ट्रिय संचार र बेल्ट एण्ड रोड इनिसिएटिभ सहकार्य (बी.आर.आई) का नयाँ चुनौती र परिस्थितिहरुलाई सामना गर्न यो सम्झौता वास्तवमै सक्रिय कदम रहेको भन्दै नेपालका लागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्ग फ्यानले सराहना गरे।

समारोहमा हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इन्योङ्गले हुवावेसँगको सहकार्यले कम्पनीको डिजिटल रुपान्तरण, टिकेटिङ र यात्रुहरुको उडान अनुभव अनुकूल बनाउने कार्यलाई तीव्र गति दिई नेपालको सम्पूर्ण नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले सफ्टवेयर, उपकरण र अन्य सेवाका क्षेत्रहरुमा द्विपक्षीय सहकार्यको आधारमा यस हवाई उद्योगको प्रगतिका लागि एकजुट भई नवीनता र समाधानहरुको खोजीबाट तेश्रो पक्ष सहकार्यका लागि स्वागत समेत गरे।

सूचना तथा संचार प्रविधि (आइ.सी.टी) बाट अधिकतम लाभ लिनका लागि यो सम्झौता महत्वपूर्ण हुने एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्झौता अनुसार हुवावेले हिमालय एअरलाइन्सलाई अझ सक्षम बनाउन यात्रुहरुलाई उत्कृष्ट टिकेटिङ विकल्पहरु तथा यात्रा अनुभव दिने बताइएको छ।

यस सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई संजाल प्रवर्द्धनमा सघाउने अपेक्षा एयरलाइन्सले गरेको छ।
आपसी लाभ र साझा विकास प्राप्त गर्ने उद्देश्यका साथ हिमालय र हुवावेले आइसीटी प्रविधिहरु (हुवावे क्लाउड र ए.आई) मा सहकार्य गर्ने एयरलाइन्सले जनाएको छ ।

यसमा विद्यमान आइसीटी प्रविधि उपकरणहरुको मर्मत, व्यवसाय इन्टेलिजेन्स प्रणालीको विकास, हिमालयको बिक्री तथा वित्त प्रणालीका लागि क्लाउड प्लाटफर्मको निर्माण गर्ने लगायतका कार्यहरु पर्ने विज्ञप्तिमा जनाइएको छ।