मुकेश अम्बानीको जियोमा ११ औं लगानीकर्ताको प्रवेश, इन्टेलले पनि शेयर किन्यो

बिजमाण्डू
२०७७ असार १९ गते १२:४० | Jul 3, 2020

Tata
GBIME
Nepal Life

मुकेश अम्बानीको जियो प्लाटफर्ममा लगानी गर्ने विदेशी कम्पनीहरु थपिने क्रम जारी छ।

यसैक्रममा इलेक्ट्रोनिक चिप मेकर कम्पनी इन्टेलले पनि जियोमा प्रवेश गरेको छ। इन्टेल क्यापिटलले जियो प्लाटफर्ममा १८९४.५० करोड भारतीय रुपैयाँ लगानीको घोषणा गरेको हो। यस लगानीबाट इन्टेल क्यापिटलले जियोको ०.३९ प्रतिशत इक्विटी प्राप्त गर्नेछ।

इन्टेल जियोमा प्रवेश गर्ने ११ औं कम्पनी हो। योसँगै जियोमा लगानी गर्ने कम्पनीहरु १२ वटा पुगेका छन्। रिलायन्स इन्डस्ट्रिज लिमिटेडको जियो प्लाटफर्ममा लगातार कम्पनीहरुको लगानी बढिरहेको छ।

गत अप्रिलदेखि फेसबुकले यो लगानीको श्रृंखला सुरु गरेको थियो। त्यसलगत्तै सिल्भर लेक, भिस्टा इक्विटी, जनरल अटलान्टिक, के के आर, मुबाडला तथा सिल्भर लेकले नै थप लगानी गरेको छ। यसैगरी अबुधाबी इन्भेष्टमेन्ट अथोरिटी, टिपीजी, एल क्याटरटन तथा पिआइएफले पनि  जियोमा लगानीको घोषणा गरेको छ।

इन्टेल लामो समयदेखि भारतमा काम गरिरहेको छ। इन्टेल क्यापिटलले विश्वस्तरको इनोभेटिभ कम्पनीहरुसँग काम गर्दै आएको छ।
क्लाउड कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स तथा अन्य प्राविधिक क्षेत्रमा इन्टेलले काम गर्दै आएको छ।

इन्टेलसँगको यो सम्झौतापछि रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा एमडी मुकेश अम्बानीले भने- 'भारतलाई विश्वकै अग्रणी डिजिटल सोसाइटी बनाउने हाम्रो दृष्टिकोणलाई मूर्त रूप दिन यो सम्झौता सहयोगी हुनेछ। इन्टेल प्रविधिमा लिडर रहेको छ, जोसँग विश्वलाई बदल्न सक्ने नवीनतम प्रविधि का साथै आविष्कारहरुको लागि काम गर्दै आएको छ। विश्व स्तरमा इन्टेल क्यापिटलसँग बिभिन्न अग्रणी कम्पनीहरुसँग काम गरी उत्कृष्ट नतिजा ल्याएको रेकर्ड समेत छ। त्यसैले हामी त्यो अत्याधुनिक प्रविधिबाट भारतको क्षमता बढाउन इन्टेलसँग काम गर्नकालागि उत्साहित छौं। यसले हाम्रो अर्थब्यवस्थााका सबै क्षेत्रलाई अझ सशक्त बनाउनेछ तथा १३० करोड भारतीयको जीवन स्तरमा सुधार ल्याउनेछ।'

इन्टेलका अध्यक्ष बेंडेल ब्रुक्सले भने – 'भारतमा कम लागतको डिजिटल सेवाहरुलाई बलियो बनाउनका लागि जियो प्लाटफर्मले आफ्नो प्रभावशाली इन्जिनियरिङ क्षमताहरुको प्रयोग गरिरहेको छ। डिजिटल पहुँच तथा डेटा ब्यापार तथा समाजलाई उत्कृष्ट बनाउनका लागि जियोसँग हाम्रो साझेदारी भएको हो। यस लगानीको माध्यमबाट हामी भारतमा डिजिटल परिवर्तन ल्याउन सक्छौं।'

जियो प्लाटफर्म रिलायन्स इन्डस्ट्रीको पूर्ण स्वामित्वको सब्सिडियरी हो। यो यस्तो 'नेक्स्ट जेनरेसन' टेक कम्पनी हो जसले भारतमा जियोको माध्यबाट डिजिटल एप, डिजिटल इकोसिस्टम तथा भारतकै नम्बर १ हाइ स्पिड कनेक्टिभिटी प्लाटफर्मलाई एक साथ ल्याउन काम गरिरहेको छ।

रिलायन्स जियो इन्फोकम लिमिटेडको ३८ करोड ८० लााख ग्राहक छन्, जसका माध्यमबाट जियोले भारतमा साना तथा खुद्रा ब्यापारीहरु, मझौला ब्यवसायी तथा किसानहरुलाई समावेश गरी 'डिजिटल भारत' बनाउने लक्ष्य राखेको जनाएको छ।