बन्द भएको तीन सातामै बिक्यो जगदम्बा प्रेस, युनाइटेडले आइतबारबाट पुनः संचालनमा ल्याउँदै 

बिजमाण्डू
२०७७ असार २० गते १०:५४ | Jul 4, 2020
बन्द भएको तीन सातामै बिक्यो जगदम्बा प्रेस, युनाइटेडले आइतबारबाट पुनः संचालनमा ल्याउँदै 


काठमाडौं। निजी लगानीमा संचालित नेपालकै ठूलो र सबैभन्दा पुरानो छापाखाना 'जगदम्बा प्रेस' बिक्री भएको छ । प्रेस सितापाइला (काठमाडौं) स्थित युनाइटेड अटो प्रिन्टर्स प्रालिले खरिद गरेको हो ।

Tata
GBIME
Nepal Life

युनाइटेड एक दशकदेखि बैंक चेक लगायतका बैंकिङ स्टेशनरीहरुको छपाइमा नेपालमा एकछत्र बजार बनाएको कम्पनी हो । यसले झन्डै एक महिनाको कसरतपछि प्राविधिकरूपमा देशकै अब्बल छापाखाना आफ्नो स्वामित्वमा ल्याएको छ । 

लामो समयदेखि लगातार घाटा व्यहोर्दै आएपछि प्रेस जसरी पनि बेच्ने मनस्थितिमा पुगेका जगदम्बा संचालक दाजुभाइ कुन्द र कनकमणि दीक्षितले अन्ततः शुक्रबार यसको 'डिल क्लोज' गरेका हुन् । 

हात्तीवनस्थित जगदम्बा परिसरमा यथास्थितिमै प्रेस संचालन गर्नेगरी मेशिन तथा उपकरणसहित छापाखानाको सम्पूर्ण संरचना किनेको युनाइटेडका प्रबन्ध निर्देशक नवराज पाण्डेले बताए । 

'जगदम्बाको बैंकलगायत अन्य व्यक्ति तथा संस्थाहरुसँगको पुरानो दायित्व र पाउनुपर्ने रकमको हिसाब राफसाफ हुनै बाँकी रहेकाले तत्कालका लागि मेशिनहरुसहितको संरचना मात्र किनेका हौं,' उनले भने, 'हाललाई युनाइटेडकै नाममा नयाँ व्यवस्थापनबाट जगदम्बा परिसरमै प्रेस संचालन हुनेछ ।'

१९ असारमा भएको जगदम्बा प्रेस खरिद–बिक्रीको डिल रकम दुवै पक्षले खुलाउन चाहेनन् । यद्यपि, १० करोड रुपैयाँको हाराहारीमा जगदम्बाले मेशिन तथा संरचना बिक्री गरेको बुझिएको छ ।

बजार मूल्य २० करोड १५ लाख रुपैयाँ रहेका ६ वटा मुद्रण मेशिनसँगै सीटीपी, बाइन्डिङ, फोल्डिङ, कटिङ, डाइ लगायत ४३ प्रकारका मेशिन तथा उपकरणहरु जगदम्बाले ११ करोड १२ लाख रुपैयाँ बेच्नेगरी मोल तोकेको थियो । तर, त्योभन्दा पनि कम दाममा युनाइटेडले प्रेस खरिद गरेको छ ।

संचालन खर्चसमेत धान्न नसकेपछि छापाखाना बन्द गरेर बिक्रीमा चढाइएको थियो । प्रेस संचालनको तौरतरिका नजान्दा र ध्यान नपुग्दा लगातार एक दशकदेखि घाटामा गएकाले बिक्री गर्ने निर्णयमा पुगेको संचालक कनकमणि दीक्षितको भनाइ छ ।

 

यो पनि हेर्नुहोस्ः ६६ वर्ष पुरानो जगदम्बा प्रेस बन्द, 'एउटा लिगेसीको अवसान भएको छ, बुवाले हामीलाई माफ गर्नुहोला!'

 

जगदम्बाले लामो समयदेखि संचालन खर्चसमेत उठाउन नसकेको भनिरहँदा यसको ब्रान्ड तथा व्यवसायको लिगेसीका साथै मेशिन तथा उपकरणका हिसाबले प्रेस उत्कृष्ट रहेकाले किनेको युनाइटेडका प्रबन्ध निर्देशक पाण्डे बताउँछन्।

'जगदम्बाको लिगेसी, बिजनेस र मेशिन मेकानिज्म हेरेर नै हामीले टेकओभर गरेका हौं,' उनले भने, 'यसको जग र हाम्रो टिमको प्रेस संचालन अनुभवको मिश्रणमा नयाँ व्यवसायिक योजना र थप लगानीसहित हामी आइतबारबाटै प्रेस पुनः संचालन गर्दैछौं ।' 

युनाइटेडले जगदम्बाका केही पुराना कर्मचारीसहितको टिम बनाएर २१ असारबाटै प्रेस पुनः संचालनमा ल्याउने तय गरेको पनि उनले जानकारी दिए ।

वैशाखको पहिलो साता नै स्टाफहरुलाई दीक्षितले जगदम्बा प्रेस बन्दको निर्णय सुनाएका थिए । त्यसपछि क्रेता खोज्नतिर लागेर तीन हप्ताअघिबाट भने प्रेस औपचारिकरूपमै बन्द गरिएको थियो । 

त्यही क्रममा लगभग एक महिनाअघिबाट युनाइटेड र जगदम्बाबीच पनि प्रेस किनबेचको विषयमा प्रारम्भिक कुराकानी अघि बढेको बताइएको छ । 'हामीबीच झन्डै एक महिनाअघिबाट यसबारे छलफल हुन थालेको थियो, अहिले आएर निष्कर्षमा पुगेका हौं,' पाण्डेले भने ।

हात्तीवनमा जगदम्बा प्रेसको कम्पाउन्ड २० रोपनीभन्दा बढीको छ। पहिले यथास्थितिमै प्रेस किनेर चलाउन चाहनेलाई १२ रोपनीसम्म जमिन लिजमा दिने बताइएको भए पनि अहिले युनाइटेडले सबै जग्गा लिजमा लिएको छ ।

प्रि–प्रेसको सीटीपीदेखि छपाइ र पोस्ट प्रेससम्मका सम्पूर्ण काम गर्न सक्ने (अपस्ट्रिम टु डाउनस्ट्रिम) प्राविधिक क्षमता रहेको जगदम्बा नेपालका छापाखानाहरुमध्ये सबैभन्दा आधुनिक हो। यसका बाबजुद 'अपरेटिङ ब्रेक इभन' का लागि नै जगदम्बाको वार्षिक कारोबार १५ करोड रुपैयाँको हुनुपर्ने भए पनि यसको कारोबार खुम्चँदै गत वर्ष नौ करोड ६० लाख रुपैयाँमा झरेको थियो । 

इतिहासकार तथा भाषाविद् स्वर्गीय कमलमणि दीक्षितले सन् १९५४ मा 'कोल्ड मुभेबल टाइप'को ट्रेडल मेशिनबाट शुरु गरेको 'जगदम्बा प्रेस' नेपालको प्रिन्टिङ उद्योगमा थुप्रै अभ्यासहरुको बाटो देखाउने र थिति बसाल्ने 'पायोनियर' मानिन्छ।