लकडाउन खुकुलो भएपछि नेपाल टेलिकम र एनसेलको भ्वाइस सेवामा सुधार, अन्तर्राष्ट्रिय कल भने घट्यो

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ असार २३ गते १०:४७ | Jul 7, 2020
लकडाउन खुकुलो भएपछि नेपाल टेलिकम र एनसेलको भ्वाइस सेवामा सुधार, अन्तर्राष्ट्रिय कल भने घट्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। लकडाउन खुकुलो भएपछि टेलिकम कम्पनीको भ्वाइस कल सुधार हुन थालेको छ। लकडाउनका कारण तीन महिना सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको सेवा प्रदायक एनसेलको भ्वाइस ओरालो लागेको थियो।

टेलिकमका प्रवक्ता राजेश जोशीले लकडाउन खुकुलो भएपछि भ्वाइस कलमा सुधार आएको बताए। उनका अनुसार तीन महिनाको अवधिमा भ्वाइस कलमा ४० प्रतिशत गिरावट आएको थियो।

‘लकडाउनको बेलामा भ्वाइस सेवामा ४० प्रतिशत गिरावट आएको थियो। अहिले त्यसमा सुधार आएर ३० प्रतिशतमा झरेको छ,’ उनले भने। जोशीका अनुसार अन्तर्राष्ट्रिय आवगमन कलमा भने थप गिरावट आएको छ। ‘अन्तर्राष्ट्रिय आवागमन कलमा १५ प्रतिशत गिरावट आएको छ। पहिला भने कलमा १३ प्रतिशत गिरावट आएको थियो,’ उनले बिजमाण्डूसँग भने, ‘नेपालबाट वाहिरिने कलमा अहिले ४० प्रतिशत गिरावट आएको छ। लकडाउन खुकुलो बनाउनु अघि २० प्रतिशत मात्रै गिरावट थियो।’ भारतमा रहेका नेपाली फर्किएकाले वाहिरिने कलमा गिरावट आएको जोशीको अनुमान छ।

लकडाउन सुरु भएदेखि २० प्रतिशतले वृद्धि भएको डाटा खपत कायमै रहेको उनले जानकारी दिए। 'लकडाउन केही  हदसम्म खुकुलो भएपनि शैक्षिक कार्यक्रम चलिरहेको छ। सबै व्यवसायिक क्षेत्र पूर्ण रुपमा खुलेको छैन। डाटा प्रयोग गर्नेको संख्या वृद्धि लकडाउन सुरु भएदेखि यथावत् रहेको छ,' प्रवक्ता जोशीले भने,'डाटा प्रयोग गर्ने बानी बसिसकेको देखिन्छ।' 

लकडाउनका कारण कम्पनीको ब्यालेन्स सीटमा पनि प्रभाव देखिएको छ। कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा कुल सेवा वापतको आय २६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिको कुल सेवा वापतको आय २७ अर्ब ५० करोड ६० लाख रुपैयाँ थियो।

लकडाउनको कारणले चैत महिनाको आम्दानीमा नकारात्मक असर परेको कम्पनीले जनाएको छ। लकडाउनको अवधिमा गत चैत भित्र कम्पनीले टपअपमा प्रदान गरेको १०० प्रतिशत बोनस रकम कुल ५३ करोड ४० लाख बराबरको रहेको कम्पनीले जनाएको छ। शून्य व्यालेन्स भएका मोबाइल प्रयोगकताहरूलाई करोड ३० लाख बराबरको जिरो ब्यालेन्स प्याकेज प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले मोबाइल सेवाको आधारभूत दरमा २७ प्रतिशत देखि ३० प्रतिशत सम्म छुट प्रदान गर्दा आठ करोड २० लाख रुपैयाँ बरावरको रहेको जनाएको छ। यसरी लकडाउनको कारण कम्पनीको आयमा कुल ६६ करोड ९० लाख बरावरको नकारात्मक असर परेको कम्पनीले जनाएको छ। कम्पनीले कोरोना राहत कोषमा १० करोड रुपैयाँ योगदान गरेको छ।

विदेशी विनिमय दर (अमेरिकी डलर), जनशक्तिको न्यूनतम ज्यालादर, फोरजी विस्तार सँगै घरभाडा, बिजुली लगायतको खर्चले कम्पनीलाई ब्ययभार परेको कम्पनीले जनाएको छ। एनसेलको भ्वाइस सेवामा पनि केही सुधार हुन थालेको छ। तीन महिनाको अवधिमा भ्वाइस सेवामा २० प्रतिशत गिरावट आएको थियो।

‘लकडाउन खुकुलो भएपछि भ्वाइस सेवामा केही सुधार भएको छ,’ एनसेलका एक कर्मचारीले भने, ‘तीन महिनाको अवधिमा वृद्धि भएको डेटा ३० प्रतिशत वृद्धि कायमै छ।’