लकडाउनका कारण एक्जिम कोड नवीकरण गराउने जम्मा १३ सय, समय थप्न व्यवसायीको माग

बिजमाण्डू
२०७७ असार २३ गते १५:५३ | Jul 7, 2020
लकडाउनका कारण एक्जिम कोड नवीकरण गराउने जम्मा १३ सय,  समय थप्न व्यवसायीको माग

Tata
GBIME
Nepal Life

काठमाडौं। लकडाउनका कारण कर चुक्ता प्रमाणपत्र लिन नसकेपछि अहिलेसम्म १३ सय कम्पनीले मात्रै आयात निर्यात कोड(एक्जिम कोड) नवीकरण गरेका छन्।

 भन्सार विभागले ३० हजार कम्पनीलाई एक्जिम कोड दिएको छ। समयमा कर चुक्ता प्रमाणपत्र लिन नसकेका कारण एक्जिम कोड नवीकरण गर्न नसकेको जनाउँदै समय थप्न व्यवसायीले माग गरेका छन्। मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य कृष्णप्रसाद दुलाल र भरत आर्चायले विभागका महानिर्देशक सुमन दाहाललाई भेटेर लकडाउनका कारण कर चुक्ता प्रमाणपत्र ल्याउन नसकेको बताउँदै केही समय थप्न आग्रह गरेका थिए।

महासंघका केन्द्रीय सदस्य एवं नाडा अटोमोबाइल एशोसिएसनका अध्यक्ष समेत रहेका दुलालले लकडाउनका कारण व्यवसायीलाई आवतजावतमा समस्या भएकाले धेरै कम्पनीले एक्जिम कोड नवीकरण गर्न नसकेको बताउँदै समय नथपे धेरै व्यवसायी समस्यामा पर्ने बताए।

‘लकडाउन खुकुलो भएपनि अहिले पनि जोरविजोर प्रणाली छ। कर कार्यालयमा समेत सेवाग्राहीको लाइन छ। धेरै कार्यालयले समयमा कर चुक्ताको प्रमाणपत्र पनि दिन सकेका छैनन्’ उनले बिजमाण्डूसँग भने, ‘यो कठिन परिस्थितीलाई ध्यान दिएर केही महिना नवीकरणको समय थपेर काम गर्न दिनुपर्छ भन्ने हाम्रो माग हो।’

उनका अनुसार एक्जिम कोड नवीकरणका लागि समय थप्ने निर्णय विभागले मात्रै गर्न नसक्ने जानकारी आएको छ। ‘महानिर्देशकज्यूले हाम्रो समस्यालाई गम्भिर रुपमा लिनुभएको छ। तर यो निर्णयका लागि अर्थमन्त्रालयमै जानुपर्ने अवस्था देखिएको छ,’ उनले भने, ‘हामी केही दिनमै मन्त्रालयमा यो मुद्दा लिएर जानेछौं।’

विभागले प्यान/भ्याटमा दर्ता भएका उद्योग, उद्योग र वाणिज्यमा दर्ता भएका उद्योग, आयातको लागि १० लाख र निर्यातका लागि तीन लाख बैंक ग्यारेन्टी गरेको तथा कर चुक्ता प्रमाणपत्र भएको उद्योगलाई ‘एक्जिम कोड’ प्रदान गर्दै आएको छ। यस्तै वाणिज्यका सामग्री आयात तथा निर्यातका लागि भने वाणिज्य विभागबाट ‘एक्जिम कोड’ लिनुपर्ने व्यवस्था गरिएको छ ।