लकडाउनमा इन्टरनेटको खपत ३३ प्रतिशतले बढ्यो, नेटफ्लिक्स र टिकटक चलाउन धेरै प्रयोग

बिजमाण्डू
२०७७ असार २३ गते १८:०५ | Jul 7, 2020
लकडाउनमा इन्टरनेटको खपत ३३ प्रतिशतले बढ्यो, नेटफ्लिक्स र टिकटक चलाउन धेरै प्रयोग


Tata
GBIME
Nepal Life

काठमाडौं। लकडाउनका कारण इन्टरनेट सेवा खपत ३३ प्रतिशतले वृद्धि भएको पाइएको छ। नेपाल नेटवर्क सेवा प्रदायक समूहका अध्यक्ष समीत जन थिङले मुलुकभित्रको इन्टरनेट खपत ३५ प्रतिशत र बाह्य खपत २५ प्रतिशत बढेको बताए।

लकडाउन अघि प्रति सेकेण्ड १४ सय ८६ गिगाबाइट डाटा खपत हुँदै आएकोमा लकडाउनपछि प्रति सेकेण्ड १९ सय ७१ गिगाबाइट खपत भएको उनले जानकारी दिए। मंगलबार प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले आयोजना गरेको भर्चुअल बैठकमा उनले यो जानकारी दिएका हुन्।

सेवाप्रदायकहरु स्वयंको प्रयोग जोड्दा प्रति सेकेण्ड २१०० गिगाबाइट खपत हुँदै आएको थिङले बताए। उनका अनुसार सामान्यतया हरेक वर्ष इन्टरनेट खपतमा औसत २३ प्रतिशतको वृद्धि हुने गर्छ।

लकडाउनमा प्राय प्रयोगकर्ताले नेटफ्लिक्समा सिनेमा हेर्ने र घरमै बसेर टिकटक चलाएको उनले जानकारी दिए। 'लुडोजस्ता मोबाइल गेमिङमा पनि इन्टरनेटको खपत दोब्बर बढेको छ। यसबीच गुगल, फेसबुक र अमेजनमा पनि प्रयोग उच्च दरले बढेको तथ्यांक छ,' उनले भने।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले लकडाउन अघि र पछिको १० दिनको  अध्ययनमा इन्टरनेटको प्रयोग ३६ प्रतिशतले बढेको बताए। उनका अनुसार लकडाउन अघिको १० दिनको तुलनामा लकडाउनपछिका १० दिनमै इन्टरनेटको प्रयोग ३६ प्रतिशतसम्म बढेको हो। अन्तर्राष्ट्रिय ब्याण्डवीथ खपतमा १० प्रतिशत हाराहारीमा बढेको र त्यो स्थिर रहेको उनले जानकारी दिए।

‘लकडाउन अगाडि दिनभरीमा कुनै समय अत्यधिक माग आउने र कुनै समय माग निकै घट्ने गरेको थियो। तर अहिले त्यस्तो उतारचढाव देखिएको छैन,’ उनले भने, ‘तर राती ८–१० बजेको समयावधिमा अहिले पनि इन्टरनेटको खपत उच्च विन्दुमा पुगेको देखिन्छ।’

अध्यक्ष थिङका अनुसार मुलुकमा इन्टरनेटको ब्याण्डवीथ भैरहवा, वीरगञ्ज, ढल्केबर, दुहबी र टनकपुरबाट आयात हुँदै आएको छ। रसुवागढी नाका भएर ब्याण्डवीथ किन्ने चीनसँग सम्झौता भए पनि राम्रोसँग आयात हुन सकेको छैन।