नबिल बैंकको हुवावे टेक्नोलोजिजसँग रणनीतिक साझेदारी, ‘लिडिङ डिजिटल बैंक’ बन्ने अठोट

बिजमाण्डू
२०७७ असार २४ गते १६:१२ | Jul 8, 2020
नबिल बैंकको हुवावे टेक्नोलोजिजसँग रणनीतिक साझेदारी, ‘लिडिङ डिजिटल बैंक’ बन्ने अठोट

Tata
GBIME
Nepal Life

काठमाडौं। नबिल बैंकले हुवावे टेक्नोलोजिजसँग रणनीतिक साझेदारी गर्ने भएको छ। बैंकले यसका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र हुवावेका नेपाल प्रमुख डेङ चुगेनले हस्ताक्षर गरेका छन्। 

हस्ताक्षरपछि शाहले हुवावेजस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साहित भएको बताए। रणनैतिक महत्वको सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रित 'लिडिङ डिजिटल बैंक' बन्ने अठोटलाई सशक्त रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने उनले ताए। 

हुवावे टेक्नलोजीजले विश्वका सयौं संस्थाहरुको प्रविधिमा आधारित व्यवसायिक रुपान्तरणको प्रक्रियामा सहभागी भई सँगालेको व्यवसायिक अनुभवबाट सिकेर आफ्नो रुपान्तरणको यात्रालाई गतिशील बनाउने शाहले बताए।

कार्यक्रमा बोल्दै हुवावेका चुगेनले क्लाउड प्रविधि, आर्टिफिशियल इन्टेलिजेन्स तथा मशीन लर्निङ प्रविधि, क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली, वाइफाइ लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकलाई सशक्त बनाइने बताए।

उनले नबिल बैंकको आफ्नो प्रविधिमा आधारित परिवर्तनको प्रक्रियालाई आन्तरिक संचालन दक्षता तथा ग्राहक सेवा प्रभावकारिता बढाउँदै अझ सशक्त तथा तीव्र बनाउन सहयोग पुग्ने बताए। 

हुवावेले आफ्ना वित्तीय क्षेत्रलाई सेवा दिने टीम, क्लाउड सेवा दिने टीम तथा हुवावेकै नेपालको टीमको संयुक्त प्रयासबाट प्रविधि साझेदारको भूमिकामार्फत बैंकका ग्राहकलाई सजिलो, सुरक्षित, भरपर्दो तथा स्मार्ट सेवाहरु प्रदान गर्ने जनाएको छ।