५५ कर्मचारी बिदा गर्दै विराटनगरको सबैभन्दा ठूलो ‘होटल जेनियल’ सँधैका लागि बन्द



विराटनगर। औद्योगिक शहर विराटनगरको होटल व्यवसायमा अग्रणी जेनियल होटल बन्द भएको छ। नेपाल भ्रमण वर्ष १९९८ सँगै सञ्चालनमा आएको उक्त होटल अब बेच्ने, भाडा दिने वा परिस्थितिमा सुधार आए आफैं चलाउने की भन्नेमा सञ्चालक सिटौला परिवार बिचार गरिरहेका छन्।

तेह्रथुम संक्रान्ति बजारस्थित आठराईका समाजसेवी एवम् व्यापारी धर्मानन्द सिटौलाले २०२३ सालमै विराटनगरका जमिन्दार ऋषिकेश कोइराला (हरिबाबु) सित प्रति कट्ठा ३ हजारका दरले ९ कट्ठा जमिन खरिद गरेका थिए ।

धर्मानन्दको योजना थियो– व्यापारका लागि विराटनगर बसाइँ सर्ने र ६ भाइ छोरासित एउटै घरमा बस्ने । सुरुमा सिटौला परिवारको व्यापार धरान र तेह्रथुम आठराईमा थियो।

Sipradee
Sanima Bank
TVS

विराटनगरको यही जग्गामा २०३५ सालदेखि एउटा ठूलो घर पनि बनाउन सुरु गरियो । चार तले घर पूरा गर्न ४ वर्ष नै लाग्यो । घरमा कोठा २४ वटा थिए।

आधुनिक परिवेश र संस्कृतिसित पनि उत्तिकै जानकार धर्मानन्दका विचार पनि क्रमशः फेरिँदै गए । उनले सोचेछन्, यतिका भाइ–बुहारी एकाघरमा र एउटै भान्सामा राखेँ भने कलहको सुरुआत त्यहीँबाट हुनसक्छ । अन्तमा उनले निर्णय गरे, जोसित बसे पनि म केवल एउटा छोरा र एउटी बुहारीसित बस्छु । संयुक्त परिवारमा बस्दिन ।

त्यसैले उनले छोराहरूलाई क्रमशः छुट्याउँदै लगे । कान्छा छोरा दिनेशको विवाह २०४८ सालमा भयो । अन्तमा उनले कान्छा छोरा–बुहारी रोजे।

धर्मानन्द र उनकी श्रीमति अनि छोरा दिनेश र उनको परिवारमात्र ४ तलाको २४ कोठे घरमा बस्दा त्यो घर उनीहरूका लागि धेरै ठूलो भएको थियो । स्याहार–सम्भार थिएन । राम्रै खर्च गरेर सरसफाइ गर्नुपर्थ्यो । एक हिसाबले घर बढ्ता भइरहेको थियो ।

यसैबीच धर्मानन्दका साहिँला छोरा हरिभक्त उपचारका क्रममा २०५१ सालमा नयाँ दिल्ली गए । फर्कने बेलामा ‘राजधानी रेल’को टिकटका लागि सिफारिस बनाउन नेपाली राजदूतावास पुगे । राजदूत लोकराज बराल थिए, पहिलेदेखिकै चिनजान । बरालका कार्यकक्षका भित्तामा नेपालको नक्सा थियो र पर्यटकीय क्षेत्र भनेर काठमाडौं, पोखरा, चितवन र भैरहवालाई मात्र ‘हाइलाइट’ गरिएको थियो ।

‘पर्यटकीय क्षेत्रमा पूर्वाञ्चललाई चाहिँ किन यति पाखा ?,’ हरिभक्तले बिजमाण्डूलाई सुनाए, ‘असन्तुष्ट मुद्रामा मैले लोकराजलाई सोधेँ ।’

‘हेर्नुस् हरिभक्तजी, पूर्वको मुख्य ठाउँ विराटनगर,’ राजदूत बरालको उत्तर थियो, ‘तर विराटनगरमै पर्यटकस्तरीय कमोड भएको एउटा सानो होटल पनि छैन ।’

बरालको यही वाक्यले हरिभक्तका मनमा ‘होटल जेनियल’–को बीजारोपण भयो । उनले त्यसैबेला संकल्प गरे, विराटनगर बसपार्क पश्चिम दक्षिणको २४ कोठे घरमा अब पिताजी धर्मानन्द र कान्छो भाइ दिनेश होइन पर्यटक बस्नेछन् । स्विमिङ पुलसहितको होटल निर्माण गर्नेछु ।

धर्मानन्दका ६ भाइ छोरामध्ये जेठा मोहन न्यायाधीश थिए र उनी पहिले नै छुट्टिसकेका थिए । बाँकी ५ भाइका सगोल अंशमा २४ कोठे घर छँदै थियो ।

हरिभक्त नयाँदिल्लीबाट विराटनगर आएको भोलिपल्टै बाबु धर्मानन्द, माहिला दाजु देवीभक्तसहित अरू सबै भाइलाई बोलाए । अनि २४ कोठे घरलाई अत्याधुनिक होटलमा रूपान्तरण गर्ने आफ्नो योजना सुनाए । उनको प्रस्तावलाई सबैले स्वीकार गरे ।

चार तले घरमा होटल निर्माणको नक्सा बनाउन काठमाडौंका इन्जिनियर कृष्णराज श्रेष्ठलाई जिम्मा दिइयो । घरलाई कत्ति पनि कतै नभत्काई ४८ कोठाको भव्य होटल निमाण गर्न सकिने गरी कृष्णराजले नक्सा बनाए ।

कृष्णराजको निर्देशनमा २०५३ सालदेखि घरको पुनर्निर्माण सुरु गरियो । विराटनगरका इन्जिनियरहरु रमेश बस्नेत र उमेश श्रेष्ठ दिनरात लागिरहे । कृष्णराज ३/३ महिनामा आउँथे र निर्देशन दिएर फर्कन्थे ।

नेपाल सरकारले भिजिट इयर १९९८ मनाइरहेको थियो । सिटौला परिवारले त्यही वर्षभित्रमा होटलको उद्घाटन गरिसक्ने योजना बनाएको थियो । वर्ष सकिनै लागेको थियो । डिसेम्बर २० भइसकेको थियो । होटलका ८ कोठामात्र पूर्ण तयारी अवस्थामा थिए । सञ्चालक दिनेशलाई लाग्यो, यति बेला नै उद्घाटन गर्नुपर्छ । सन् १९९८ कटाउनु हुँदैन ।

प्रधान न्यायाधीश विश्वनाथप्रसाद उपाध्याय सेवानिवृत्त भएर आफ्नै घर विराटनगरमा आएर बसेको बेला थियो । सिटौला परिवारसित विश्वनाथको पहिलेदेखि नै राम्रो सम्बन्ध थियो । उनलाई नै उद्घाटनका लागि अनुरोध गरियो । उपाध्यायले सहर्ष स्वीकार गरे । 

यसरी सन् १९९८ डिसेम्बर २० का दिन विराटनगरकै सबैभन्दा ठूलो लगानीको र सबैभन्दा ठूलो होटल ‘होटल जेनियल’ सञ्चालनमा आयो ।

सञ्चालन सुरु भएको एक वर्षभित्र होटलमा ३ कार्यक्रम हल, २ मिटिङ हल, एक स्विमिङ पुल र २ वटा रेस्टुरेन्ट तयार भए । होटलमा कुल ४८ कोठा निर्माण गरिए । जसमध्ये २ वटा सुइट रुम, २२ वटा डिलक्स रुम र २४ वटा स्ट्यान्डर्ड रुम छन् । कार्यालयका लागि छुट्टै ५ कोठा छन् । होटलमा ५० केजी कटन कपडा धुने र ५० केजी उनी कपडा धुने छुट्टाछुट्टै २ वटा ठूला वासिङ मेसिन पनि छन् ।

होटल निर्माणका लागि नेपाल बैंक, एभरेस्ट बैंक र एनआइसी एसिया बैंकले लगानी गरेका थिए ।

द्वन्द्वकाल सम्झँदै सञ्चालक हरिभक्त भन्छन्, ‘चन्दा त जसरी–तसरी म्यानेज गरिन्थ्यो, तर नेपाल बन्द भनेपछि हाम्रो ओठमुख सुक्थ्यो । एक दिन नेपाल बन्दको घोषणा भएपछि त्यसको ७ दिन पहिले र ७ दिन पछिका बुक क्यान्सिल हुन्थे । यसरी एक दिनको बन्दले होटल बिजनेस १५ दिन प्रभावित हुन्थ्यो ।’

‘होटल सुरु गरेको अर्को वर्षदेखि नै पूर्वमा पनि द्वन्द्व चर्कन लाग्यो,’ अर्का सञ्चालक दिनेशले भने, ‘कहिलेकाहिँ त एउटै कोठा पनि लाग्दैनथे । त्यो बेला होटल खाली राख्नु हुँदैन भनेर हामी सञ्चालकहरू आफ्नै पैसा तिरेर आफ्नै होटलमा धेरै पटक सुतेका छौं ।’

‘होटल बिजनेसलाई दोस्रो जनआन्दोलन र त्यसपछिको मधेस आन्दोलनले पनि असर गरेको छ,’ उनले सुनाए, ‘दोस्रो जनआन्दोलनपछि कुनै वर्ष पहिलो ६ महिना राम्रो हुन्थ्यो, दोस्रो ६ महिना फेरि डिस्टर्ब आउँथ्यो । हाम्रा अरू पनि ठूला बिजनेस थिए । त्यसैले पाँचै सञ्चालकले होटल सञ्चालनका लागि सापटी दिइरह्यौं । यसैकारण होटल टिक्यो नभए उहिल्यै सटडाउन गर्नुपर्थ्यो ।

हरिभक्त भन्छन्, ‘दोस्रो संविधानसभाको निर्वाचनपछि भने देशमा राजनीतिक स्थिरता आएजस्तो भयो । बन्द हड्ताल कम हुँदै जान थाले । होटलले कमाउन थाल्यो । हामीले होटललाई पूरै रिनोभेट गर्‍यौं । एसी, म्याट्रेस आदि सबै नयाँ हाल्यौं । पार्किङका लागि भनेर थप डेढ कट्ठा जमिन पनि किन्यौं । होटलले कमाएर नै सबै पुरानो ऋण पनि चुक्ता भयो । राम्रैसित चलिरहेको थियो ।’

‘यसैबीच कोभिड–१९ को विश्वव्यापी प्रकोप सुरु भयो,’ दिनेशले बीचमै थपे, ‘सन् २०२० लागेपछि जनवरीको मध्यदेखि नै होटलका बुकिङ धमाधम क्यान्सिल हुन थाले । चैतको पहिलो हप्तासम्म जेनतेन अलिअलि बिजनेस आइरह्यो, ११ गतेपछि त लकडाउन सुरु भइहाल्यो ।’

उनले भने, ‘होटलमा ५५ स्थायी कामदारलाई पारिश्रमिक, मर्मत सम्भार, बिजुली, पानी, सरसफाइ सबै गरेर महिनाको १४–१५ लाखको खर्च हुन थाल्यो ।’

यसपछि हरिभक्त बोले, ‘यसरी सधैं थेग्न सकिँदैन भन्ने निष्कर्षमा हामी पुग्यौं र जेठ ३२ गते सञ्चालक समितिको बैठक गर्‍यौं । बैठकमा कामदारलाई ‘पे-अफ’मा लगेर सधैंका लागि विदा दिने निर्णय गर्‍यौं । श्रम कार्यालय र ट्रेड युनियनका प्रतिनिधि राखेर नियमअनुसार कामदारले पाउने उपदान, सुविधा सबै दियौं । असार ११ गते होटल बन्द गरिएको सूचना टाँस गरियो । अहिले पनि गार्ड, माली, मेन्टेनेन्स, बिजुली, पानी आदि गरेर महिनाको डेढ लाखको खर्च छ ।’

हरिभक्तको अनुभव अनुसार विराटनगर पर्यटकीय नगरी होइन, यहाँ पर्यटकको भीड लाग्दैन तैपनि स्तरीय र तारे होटल यहाँ चलाउन सकिन्छ । यहाँका होटलका मुख्य ग्राहक भनेका कर्पोरेट हाउस, उद्योगधन्धा, गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू हुन् । देश संघीयतामा गएपछि स्थानीय र प्रदेश सरकारका बिजनेस पनि प्रशस्त आउन थालेका छन्, तर सरकारी काममा थुप्रै कमिसन बुझाउनु पर्छ ।

‘हामी कमिसनका सुरुदेखि नै विरोधी,’ उनले भने, ‘बरु डिस्काउन्ट राम्रो दिने तर कमिसन नबुझाउने नीतिमा हामी चल्यौँ । त्यसैले प्रदेश सरकार र स्थानीय तहका बिजनेस कम आए । तैपनि होटल घाटामा थिएन । तर कोरोनाको विश्वव्यापी सङ्क्रमणले मानिसलाई भन्दा पहिले होटल बिजनेसलाई सङ्क्रमित बनायो र २२ वर्ष चलाएको अनि रती ऋण नभएको आफ्नै जमिनको होटल बन्द गर्नुपर्यो ।’

तर व्यावसायिक रूपमा स्तरीय होटल सञ्चालन गर्ने सिटौला घरानाको धोको अझै पूरा भएको छैन ।

‘अब हामीसित ३ वटा अप्सन छन्’, हरिभक्तले कुराकानीको बिट मार्दै भने, ‘राम्रो दाम पाए बेच्ने, कुनै नर्सिङ होमलाई भाडामा दिने वा आफैँले फेरि होटल चलाउने । कोभिडको प्रकोपभर त केही नहोला, आगे के हुन्छ हेर्दै जाऊँ!’ 


Share this Story

   

Shreegyan Raya[ 2020-07-09 05:06:39 ]
व्यापारी उद्योगी हरुनै देशको सहि सन्चालक विकासका स्तम्भ
हरेक प्रकारले कर बुझाउने
देश भित्र रोजगार सृजना गर्ने
तर अप्ठ्यारो पर्दा सबैको साथ
पाउनुत कहाँ हो कहाँ सबैको आँखाको तारो पनि तिनै भए
हुँदा धेरैले फाईदा लिए
अहिले सकिदा एक्लै सकिनु पर्दा पनि कसैको साथ नपाउनु
बिडम्बना हो
अहिले कर आँफै तिर
बैंकको ब्याज एक्लै तिर
त्यसैले हाम्रो देशमा उद्योग व्यापार व्यवसाय केहि गर्ने वातावरण नै छैन बरु एक छाक खाने चुप लागेर लगानी नगरी बस्ने


Dipendra Jha[ 2020-07-10 05:37:36 ]
जे भो ठी्क भो किन भने येहा लगानी गरेर काम गर्नु हुन्न्न।बरु राजनीति गर्दा ठीक्क हुन्न छ


Tulsi Ram Bhandari[ 2020-07-10 08:16:56 ]
हावा दार कोठा को चएको मूल्य लिएर दसकौ कमाएकोआज 3 महिना 80 जना लाई पाल्न नसक्ने कस्तो र को साहु हो?? #माडेमेरो


Keshab Raj Neupane[ 2020-07-10 05:39:24 ]
बन्द हुनुमा अन्य कारण पनि होलान् तर त्यहाको सर्भिस त मैले पनि भोगेको हो


Khadga Susling Magar[ 2020-07-09 09:07:52 ]
सबै भन्दा ठुलो होटेल ५५ कर्मचारी रे


Chandra Gurung[ 2020-07-10 05:05:35 ]
दुःखद लाग्छ नेपाल को लागि कोरोनाले अब सुरुहुदैछ धेरै परिवर्तन हुन सक्छ नेपाल र सङ्सार कोरोनाले


Surendra Chaudhary[ 2020-07-09 02:10:08 ]
होटल ग्रीन भिल्ला प्रा लि ग्रुप लाइ जिम्मा हुन्छ


Gorkha Bahadur Dc[ 2020-07-10 03:00:50 ]
मरता क्य नही करता
बीस्तारै अरूको पनी पालो आउछ
Bad news


Rameshor Chaulagain[ 2020-07-10 05:33:04 ]
Ramero ho ne, good job


Shrestha Manish[ 2020-07-11 08:28:33 ]
Sabai hotel ko halat yastai bhayeko chha k garne yo COVID-19 akhir kaile samma ho


Prakash Das Pradhan[ 2020-07-11 02:53:07 ]
Bad luck


Ashim Karki[ 2020-07-10 02:14:43 ]
Kashi Koirala


Baidai Mahat[ 2020-07-10 11:25:24 ]
अब क्वारिन्टाईन बनाईदे सरकार


Gita Bhandari Budathoki[ 2020-07-10 08:28:41 ]
P


DM Jetho[ 2020-07-10 04:47:19 ]
Sad news .... it’s our bad luck ...


Dilkumarkulung Dilkumarkulung[ 2020-07-10 02:33:20 ]
Dukhad kura


Nirbachan Sitaula[ 2020-07-09 01:47:17 ]
bad news


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell