सिभिल मलले दिएको ‘सशर्त’ भाडा छुटमा व्यवसायीको असन्तुष्टी, लकडाउनभरको पूरै छुट माग

बिजमाण्डू
२०७७ असार २६ गते १५:१७ | Jul 10, 2020
सिभिल मलले दिएको ‘सशर्त’ भाडा छुटमा व्यवसायीको असन्तुष्टी, लकडाउनभरको पूरै छुट माग

Tata
GBIME
Nepal Life

काठमाडौं । सिभिल मलमा पसल कवल लिजमा लिएर व्यवसाय संचालन गर्दै आएका व्यवसायीलाई मल व्यवस्थापनले ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । यद्यपि, व्यवस्थापनले सर्त राखेर भाडामा छुट दिएको भन्दै व्यवसायीले असहमति जनाएका छन् । 

मल व्यवस्थापनले सोच्नै नसक्ने माग  व्यवसायीले राखेकाले त्यसलाई पूरा गर्न नसक्ने सिभिल मलका महाप्रबन्धक विश्वप्रकाश मास्केले बताए । 

उनका अनुसार, मलले व्यवसायीलाई  चैतदेखि असारसम्मको चार महिनाका लागि सटर भाडामा ५० प्रतिशत छुट दिने भएको छ । साथै,  साउनदेखि असोजसम्मको तीन महिनाको भाडामा पनि २५ प्रतिशत छुट दिने निर्णय गरेको सिभिल मलका महाप्रबन्धक विश्वप्रकाश मास्केले बताए । 

'मलले पूरै सटरभाडा मिनाहा गर्नसक्ने अवस्था छैन,' मास्केले भने, 'साढे तीन महिनादेखिको लकडाउनले व्यापार ठप्प भएकाले व्यवसायीलाई भाडामा ५० प्रतिशत छुट दिन लागिएको हो । यसबाट  पनि उहाँहरुलाई केही राहत मिल्नेछ ।' 

कुनै पनि व्यापारिक कम्प्लेक्सले अहिलेको अप्ठ्यारो समयमा भवनको संचालन खर्च समेत धान्न नसक्ने गरी छुट दिन सम्भव नहुने उनको भनाइ छ । मलले अहिलेको बजार अवस्थालाई विचार गरेर भाडामा तत्काललाई आधा र साउनपछिको तीन महिना एक चौथाई छुट दिने भएको हो ।
मल व्यवस्थापनले गरेको निर्णयमा व्यापार गर्ने केहीले सहमति जनाएका छन् भने केहीले लकडाउन अवधिभरको भाडा पूरै छुट दिनुपर्ने माग गरिरहेको मास्केले बताए । 

सिभिल मलमा ठूला र साना सबै गरेर जम्मा एक सय ७० वटा सटर छन् । ती सबैलाई भाडामा छुट दिने बताइएको छ । तर, व्यवसायीहरुले भने सरकारले सार्वजनिक सावारीसाधन र सिनेमा हल संचालन गर्न नदिएसम्म सटरभाडामा शतप्रतिशत छुट दिन आग्रह गरेका मलले बताएको छ ।

अर्कोतर्फ, मलले सर्त राखेर मात्र छुट दिने निर्णय गरेकाले आफूहरुले असहमति जनाएको व्यवसायीहरुको भनाइ छ । 'मलले असार २५ गतेभित्र भाडा तिरे ५० प्रतिशत छुट दिने तर २६ गते लाग्नेवित्तिकैबाट भने २५ प्रतिशत मात्र छुट दिने भनेर शर्त अघि सारेको छ,'  सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेले भने, 'हामीले यस्तो सशर्त छुट स्विकार्दैनौं । यसैले अब चाबी बुझाउन लागेका छौं ।'

लकडाउनका कारण मलका झन्डै दुई दर्जन सटर खाली भइसकेका छन् । मलले छुटको विषयमा व्यवसायीले धान्न सक्ने गरी सम्बोधन नगरे अरु पसल पनि खाली हुने घिमिरेले बताए ।

'यहाँको भाडा एक लाखदेखि आठ लाखसम्म रहेको छ,' उनले भने, 'हाम्रो सम्पत्ति भनेको पसल नै हो । यसैले मलको शर्तअनुसार तिर्ने पैसा नभएपछि चाबी नै बुझाउन लागेका हौं । खान गाह्रो हुने समयमा भाडा कहाँबाट ल्याउने ?' 

सिभिल मल असार १ गतेदेखि खुलेको भएपनि व्यापार ठप्प छ । यसकारण पनि मलले दिएको छुटप्रति असन्तुष्टि जनाएको व्यवसायीहरुको भनाइ छ ।