अर्डर गरेका आधा दर्जन हेलिकोप्टर विदेशमै अड्किए, सिम्रिकले एलसी खोलिसकेको पनि सकेन ल्याउन 

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ असार २७ गते १२:४० | Jul 11, 2020
अर्डर गरेका आधा दर्जन हेलिकोप्टर विदेशमै अड्किए, सिम्रिकले एलसी खोलिसकेको पनि सकेन ल्याउन 

Tata
GBIME
Nepal Life

काठमाडौं। व्यवसायिक क्षमता विस्तारका लागि हेलिकोप्टर थप्ने योजना बनाएका कम्पनीहरू यतिबेला अन्योलमा छन्। कोरोनाका कारण चैत ११ देखि जारी लकडाउन अझै मिति लम्बिँदै छ। न व्यवसायिक उडान-अवतरण न त पर्यटक आवागमन।

सिम्रिक एयरले रेन्जर एक्सका दुईवटा हेलिकोप्टर खरिद प्रक्रिया टुंगोमा पुर्‍याएको थियो। निर्माता कम्पनीलाई पैसा पठाउन एलसी खोलिसकेको सिम्रिक अहिलेको हेलिकोप्टर ल्याउने की नल्याउने भन्ने दोधारमा छ। सिम्रिक मात्र नभइ नेपाल नागरिक उड्डयन प्राधिकरणबाट 'नो अब्जेक्सन सर्टिफिकेट' (एनओसी) पाएका मुस्ताङ र अन्नपूर्ण हेलिकोप्टर कम्पनी पनि अहिलेको अवस्थाले हच्किएका छन्। कोभिड-१९ का कारण व्यवसायिक योजनाअनुसार नयाँ हेलिकोप्टरहरू ल्याएर चलाउने योजना अघि बढाउन संचालन गर्न गाह्रो परेको कम्पनीका प्रतिनिधिहरूले जनाएका छन्। 

प्राधिकरण अन्तर्गतको हवाई सुरक्षा विभागका अनुसार नयाँ आएका मुस्ताङ र अन्नपूर्ण हेलिकोप्टर कम्पनीले नयाँ हेलिकप्टर थप्न प्रक्रिया अघि बढाइसकेका थिए। 'दुवै कम्पनीले एनओसी पाइसकेका थिए। उडान इजाजतका लागि उहाँहरु अन्तिम चरणको प्रक्रियामा हुनुहुन्थ्यो, तर कोभिड-१९ ले हेलिकप्टर ल्याउन नसकेको कारण प्रक्रिया रोकिएको अवस्था छ,' विभागका एक उच्च पदाधिकारीले भने।   

गत वर्ष हेलि एभरेष्ट, अल्टिच्युड एयर र फिस्टेल लगायतका विभिन्न कम्पनीले क्षमता विस्तारका लागि बनाएको हेलिकप्टर थप्ने योजना बिथोलिएको व्यवसायी बताउँछन्। गत वर्षको पर्यटन आगमनको दरले हवाइ सेवा व्यवसायी उत्साहित थिए। पोखरा र भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले गति लिनु, पर्यटक आगमन दर वर्षको लाख हाराहारीमा आइपुग्नु र हेलिकप्टर चार्टर गरेर घुम्न जाने क्रम बढ्नु सुखद संकेत थियो।

कोरोनाको महाव्याधि नआएको भए यतिखेर सिम्रिकको बेल ५०५ मोडलको जेट रेन्जर एक्स सिरिजका हेलिकोप्टर,  मुस्ताङ र अन्नपूर्णका दुई-दुईवटा एयरबसका हेलिकोप्टरले नेपाली आकाशमा फन्को लगाइरहेको हुन्थे। महाव्याधिले संसारभरिको पर्यटकीय आवागमन ठप्प बनायो। नेपाली पर्यटन र हवाई सेवा व्यवसायीले टाउकोमा हात लगाएर बस्नुपर्ने अवस्था आयो।            

'हामीले गएको जनवरीमै जेट रेन्जर-एक्स सिरिजका दुईवटा हेलिकोप्टर ल्याएर मार्चदेखि संचालनमा ल्याउने योजना थियो,' सिम्रिकका महाप्रबन्धक प्रेम थापाले भने, 'कोभिडले योजनामा ब्रेक लगाउन बाध्य पार्‍यो। हामी अलमलमा छौं।' ३२ करोड रूपैयाँमा खरिद प्रक्रिया टुंगो गर्नुअघि हेलिकोप्टरको परीक्षण उडान पनि गरिएको उनले बताए। क्यानडामा उत्पादित हेलिकोप्टर सिंगापुर हुँदै नेपाल ल्याउने योजना थियो। 

'अब लकडाउन हटेर अवस्था सामान्य हुन निकै समय लाग्ने देखिएको छ,' महाप्रबन्धक थापाले भने, 'एलसी खोलिसक्यौं, ल्याइहाल्ने वा के गर्ने भन्नेमा फेरि बिचार गरिरहेका छौं।' 

पछिल्लो समय उडान इजाजत पाएको मुस्ताङ हेलिकोप्टरको पनि अलमल उस्तै छ। 'कोभिडका कारण हेलिकोप्टर भित्र्याइहाल्नु जोखिम देखियो,' संचालक रोनन लामिछानेले भने, 'हामीले मार्चमा एयरबसका दुई हेलिकोप्टर ल्याएर चलाउने टुंगो गरेका थियौं। यतिबेला व्यवसायिक वातावरण नै भएन।' उनका अनुसार ल्याउने भनिएका हेलिकोप्टरहरू स्पेन र मलेसियामा अड्किएका छन्। 'ल्याउनका लागि सबै तयारी गरिसकेका थियौं, व्यवसाय नै नहुने अवस्थामा अब कसरी ल्याउने ?,' उनले भने, 'ल्याउने कुरा फाइनल गर्‍यौं, एक हप्तापछि नै लकडाउन भयो।'

एक वर्ष अगाडी एयरबस कम्पनीको दुईवटा हेलिकोप्टर अर्डर गरेको अन्नपूर्णले गत फेब्रुअरीदेखि संचालनमा ल्याउने योजना बनाएको थियो। हेलिकोप्टर ल्याउने योजनालाई आगामी सेप्टेम्बरसम्म पर सारिएको अन्नपूर्णका प्रशासन प्रबन्धक श्रीष शर्माले बताए। 'हाम्रो कम्पनीले ल्याउन लागेको एयर बस कम्पनीको दुईवटा एचवन-२५ सिरिजका हेलिकोप्टर यतिखेर मलेसियामा छन्,' उनले भने, 'एक वर्षअघि नै उत्पादक कम्पनी एयरबससँग कुराकानी भएको हो। यतिबेला एलसीको प्रक्रियामा छौं।' हाल एयरबस कम्पनीको एचवन-२५ हेलिकप्टरको अन्तर्राष्ट्रिय बजार मूल्य ३.१ मिलियन डलर छ।    

हाल मुलुकमा संचालित हेलिकोप्टर कम्पनीको संख्या १० वटा छ भने यी कम्पनीका दुई दर्जनभन्दा बढी हेलिकोप्टर छन्। अब मुस्ताङ र अन्नपुर्ण हेलिकोप्टर कम्पनी थपिएपछि मुलुकमा हेलिकोप्टर कम्पनीको संख्या एक दर्जन पुग्नेछ।

लकडाउनमा पनि हेलिकोप्टर कम्पनीहरूले उद्धार उडान गरिरहेका छन्। संचालन खर्च उठाउन गाह्रो परेपछि कम्पनीहरू बीच भाडामा प्रतिष्पर्धा छ। कम्पनी संचालनमा गाह्रो परेपछि 'मर्जर'को प्रक्रियामा लैजान केही व्यवसायीले छलफल पनि गरेका थिए। तर, सरकारले त्यससम्बन्धि प्रावधानको जटिलता फुकाइदिन चासो नदिएको गुनासो व्यवसायीको छ।

उडान अनुमति प्रक्रियाका लागि हेलिकोप्टर कम्पनीले प्राधिकरण अन्तर्गतको हवाई सुरक्षा विभागबाट प्रक्रिया पूरा गर्नु पर्छ। अवेदन दिएका कम्पनीमध्ये केही व्यवसायिक उडान थाल्न हच्किएका छन्। गत वर्षदेखि आवेदन दिएको आरएस हेलिकोप्टर कम्पनी सम्पर्कमा नआएको प्राधिकरणका एक उच्च पदाधिकारीले बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गत वर्ष इजाजतपत्र पाएको आरएसले उडान अनुमतिका लागि प्राधिकरणको पाँच चरणको प्रक्रियाका लागि सम्पर्कमा नआएको हो।