कोरोना संक्रमित थपिने दर घट्दो : करिब चार हजारजनामा परीक्षण गर्दा ७० जना मात्रै भेटिए संक्रमित

बिजमाण्डू
२०७७ असार २७ गते २०:२२ | Jul 11, 2020
कोरोना संक्रमित थपिने दर घट्दो : करिब चार हजारजनामा परीक्षण गर्दा ७० जना मात्रै भेटिए संक्रमित

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालमा थप ७० जनामा शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २५ प्रयोगशालामा ३ हजार ६ सय ४८ जनाको २४ घण्टामा पीसीआर परीक्षण गर्दा ७० जना संक्रमित भेटिएका हुन्।

४ सय ३१ जना शनिबार डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले ७० जनामा मात्रै कोरोना भाइरस संक्रमित भेटिएको जानकारी दिए। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ।

कुन जिल्लामा कति थपिए संक्रमित?

शनिबार प्रदेश नम्बर १ मा १३, प्रदेश २ मा ५, वाग्मतीमा १४, गण्डकीमा १६, प्रदेश नम्बर ५ मा १०, कर्णालीमा ७ र सुदूरपश्चिम प्रदेशमा ५ गरी ७० जना कोरोना भाइरसका संक्रमित थपिएका हुन्।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका २, सिरहाका १, सुनसरी र उदयपुरका ४/४ जनामा संक्रमण पुष्टि भएको हो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ३ जना तथा राष्ट्रिय जनस्वस्थ्य प्रयोशाला टेकुमा धादिङका २, काठमाडौंका ३, नुवाकोटका १, सर्लाहीका ३ र सिन्धुपाल्चोकका ५ जनामा कोरोना संक्रमण देखिएको हो।

भरतपुर अस्पतालको प्रयोगशालामा चितवनका १ जनामा कोरोना देखिएको छ। किटजन्य रोग अनुसन्धान अस्पतालको प्रयोगशाला हेटौंडामा सिन्धुलीका १, रौतहटका १ जनामा संक्रमण पुष्टि भएको छ। पाटन अस्पताल ललितपुरमा धादिङका १, पर्वतका १ र स्याङ्जाका १ जनामा संक्रमण देखिएको छ।

प्रादेशिक प्रयोगशाला पोखरामा बागलुङका ३, तनुहुँका ४, स्याङ्जाका ३ र म्याग्दीका २ जनामा कोरोना पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका २ जनामा कोरोना संक्रमण देखएको छ।

त्यस्तै, प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पाल्पाका १ तथा भेरी अस्पतालमा बाँकेका २, बर्दियाका २ र दाङका २ जनामा कोरोना पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका ३ जना र चौरजहारी प्रयोगशालामा रुकुम पश्चिमका १ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी, सुर्खेत प्रादेशिक प्रयोगशालामा सुर्खेतका ३ र सल्यानका १ जनामा संक्रमण देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लाका २ जनामा तथा सेती प्रादेशिक अस्पतालको ल्याबमा अछामका १, कञ्चननपुरका ४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म एक्टिभ केस संख्या ८ हजार २ सय ३९ छ। ८ हजार ४ सय ४२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। पछिल्ला केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा कमि आएको छ। असार १९ गते ७ सय भन्दा बढी संक्रमित थपिएकामा शनिबार सय भन्दा कम ७० जना मात्रै कोरोना भाइरस संक्रमित थपिएका हुन्।