नयाँ पुस्तालाई बैंकिङ सेवा दिन ‘नबिल बैंकभित्र अर्को डीजी बैंक’, ६ बर्षमा अहिलेको नबिलभन्दा ठूलो

बिजमाण्डू
२०७७ असार २८ गते १२:२१ | Jul 12, 2020
नयाँ पुस्तालाई बैंकिङ सेवा दिन ‘नबिल बैंकभित्र अर्को डीजी बैंक’, ६ बर्षमा अहिलेको नबिलभन्दा ठूलो


Tata
GBIME
Nepal Life

काठमाडौं। ३६ वर्षसम्म एउटा पुस्तालाई सेवा दिँदै आएको नबिल बैंकले अब नयाँ पुस्तालाई लक्षित गर्दै नयाँ भेन्चर 'डीजी बैंकिङ' सुरु गरेको छ। स्थापना भएको दिनलाई अवसरका रूपमा प्रयोग गर्दै बैंकले आइतबार डीजी बैंकिङ सुरु गरेको हो।

'डीजी बैंकिङ बैंकभित्रको अर्को बैंक हुने छ,' भर्चुअल पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, 'बैंकिङको भविष्य डिजिटल होइन, वर्तमान हो। त्यही भएर हामी डिजिटलमा जान थालेका छौं।'

बैंकले १० वर्षअघि नै अनलाइनबाट खाता खोल्ने सेवा सुरु गरेको थियो। तर त्यसलाई निरन्तरता दिन सकेको थिएन। अब नबिलले अहिले गरिरहेको अनलाइन बैंकिङलाई निरन्तरता दिँदै नयाँ बैंकिङ सेवा उपलब्ध गराउने छ।

'३६ वर्षसम्म पुरानो पुस्तालाई नबिलले ढुक्क बनाएको थियो। अब नयाँ पुस्तालाई पनि नबिलले ढुक्क बनाउने छ,' शाहले भने, 'हामीले हिजो पनि डिजिटल बैंकिङ गरेको हो। त्यो काम गर्नै नै छौं। अब हामी डिजिटलको डिएनए बन्न चाहन्छौं।'

बैंकिङले डीजी बैंकिङलाई अगाडि बढाउन हुवावे कम्पनीसँग रणनीतिक साझेदारी गरिसकेको छ। पत्रकार सम्मेलनमा हुवावे नेपालका प्रमुख डेनी देङले नबिलसँगको साझेदारीले नेपाली ग्राहकलाई डीजी बैंकिङ पुर्‍याउन कोशेढुंगाको काम गर्ने बताए।

बैंकले डीजी बैंकिङलाई अगाडि बढाउन संस्थाको संरचना नै परिवर्तन गरिसकेको छ। डीजी बैंकिको प्रमुखमा विनयकुमार रेग्मी छन्। उनी मातहत बैंकले ७२ कर्मचारी छुट्याएको छ। 
'यो सुरुवात हो। यो अझै बढ्छ। यसमा अब कार्ड मात्र होइन, अनलाइन बैंकिङ, कल सेन्टर सबै अटाउँछ,' उनले भने, 'ग्राहकलाई बैंकमा आउनै नपर्ने बनाउने छौं। बिहानदेखि बेलुकासम्म चाहिने सबै सेवा मोबाइलबाट उपलब्ध गराउने गरी काम गरिरहेका छौं।' 

शाहले आउँदो दिनमा डिजी बैंकिङ ठूलो हुने र अहिले गरिरहेको बैंकिङ सानो हुने बताए। 'अब हामी हामी नयाँ नयाँ टेक्नोलोजीमा जानेछौं। बैंक अहिलेको अवस्थामा आएन ३६ वर्षको लाग्यो। अहिले हामी पायोनियर लिडर बैंक छौं,' उनले भने, 'डीजी बैंकिङलाई ३६ वर्ष लाग्दैन। अब ६ वर्षमा हाम्रो डीजी बैंक निकै ठूलो हुनेछ।' 

पत्रकार सम्मेलनमा विनयकुमार रेग्मीले अझै पनि ठूलो हिस्सा बैंकिङ बाहिर रहेको बताउँदै उनीहरुलाई समेट्न पनि डिजी बैंकिङ सहयोगी हुने बताए।