ग्राहक नआउँदा पोतेबजारको रौनक हरायो, नक्कली सुनका पसल पनि सक्कली झैँ सुनसान

सरला सुवेदी/बिजमाण्डू
२०७७ असार २८ गते १५:१९ | Jul 12, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। पोहोर परार जस्तो हुन्थ्यो भने यतिबेला इन्द्रचोकको पोतेबजार वरपर खुट्टा टेक्ने ठाउँ हुन्थेन। असार, साउन र भदौका यी तीन महिना महिलाहरुले पोते र गरगहना किन्ने मुख्य सिजन मानिन्छन्। असारमा बिहेको लगनहरु हुने, साउनमा सोमबारे व्रत बस्ने र भदौमा तीज चाड पर्ने भएकाले पोते ब्यापारको मुख्य सिजन भन्ने गरिन्छ यो समयलाई । तर यसपटक भने कोरोना महामारीले अन्य सबै ब्यवसाय जस्तै इन्द्रचोकको पोतेबजार पनि सुनसान छ। न त गहना पसलहरुमा भीड नै छ।

सुनको भाउ तोलाको ९० हजारमाथि पुगेपछि गहना पसलहरुमा ग्राहक देखिन छाडेको लामो समय भइसकेको छ। अझ सक्कली सुनको भाउ बढ्दा चम्किने नक्कली गहनाहरुको बिक्री पनि हुन सकेको छैन। तोलाको लाख रुपैयाँ पुग्न लागेको सुन पसलमा ग्राहक नहुनु त सामान्य हो। तर सस्ता नक्कली सुन पसलहरुमा पनि यतिबेला ग्राहक छैनन्।

यी सबै ब्यापारमा कोरोना महामारी र लकडाउनको असर परेको हो। लामो समयपछि पसल खोले पनि ग्राहक नआएको भोला पोते पसलका संचालक प्रेम महर्जनले बताए।

बिहेको सिजनमा मात्र नभई अन्य समयमा भ्याइनभ्याए ग्राहक हुने गरेको सुनाउँदै उनले यसपाली भने बिना बोहनी नै घर जाने गरेको दुखेसो पोखे। 'सुन पसलहरुसँगको सम्पर्कले पोतेको ब्यापार चल्ने गरेको थियो। अचेल सुन पसल पनि सुनसान छ, हाम्रो पनि ब्यापार सुकेको छ।'- उनले भने।

पसलमा ग्राहक कुरेर बसिरहेका उनी कति दिनदेखि व्यापार नभएको हिसाब गर्दै थिए । 'बिहेको सिजन गइसक्यो। साउन र तिजमा कति धेरै बिक्थ्यो। अब त कैले सम्म यस्तै हुने हो !,' उनले निराशा पोखे।

कोरोनाको डरले ग्राहक नआएपछि आफूहरुलाई सटरभाडा तिर्न समेत समस्या भएको उनले बताए। अरु दिनमा कम्तीमा ५० जना ग्राहक आउने गरेकोमा अचेल  ४-५ दिनमा फाट्टफुट्ट एक दुईजना मात्र पसलमा आउने पोते हिमालयन विड्स पसलका संचालक नाजिर उदिनले भने । असार १ गतेबाट पसल खोले पनि बिहेको सिजनभर खासै ग्राहक नआएको उनको भनाई छ।

'साउन महिनाको लागि हरियो, पँहेलो र रातो पोते उन्ने कति आउँथे आउँथे। अहिले त सबै सुनसान भइगयो। यतिबेला त्यही एक जनामात्र ग्राहक आएपनि ठूलो कुरा,' पोहोरको ब्यस्त दिनचर्या सम्झिँदै उनले भने। लकडाउनअघि दैनिक १२ हजारदेखि ३० हजारसम्मको हुने व्यापार यतिबेला ठप्प छ। पसलको तीन महिनाको भाडा तिर्न बाँकी नै रहेको उदिन सुनाउँछन्। घरबेटीले बैंकको लोन तिर्न सरकारले छुट दिएमात्र घरभाडामा छुट दिने सुनाइसकेका रहेछन्।

ब्यापार नभएपछि पसल खोलेर बस्दा झन खर्च बढ्छ। तर पसलै नखोले आफ्ना नियमित ग्राहक अन्तै जाने डरले पनि खोल्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाई छ।

बिहेको सिजनभर पनि ब्यापार नभएको ए वन विड्सका संचालक सविर अहमदले बताए। यतिबेला दैनिक २-३ जना आउने गरेका छन्। पहिले १५ देखी २० हजार बिक्री हुनेमा हाल ५ हजारको बिक्री भएका दिन रमाउनुपर्ने अवस्था आएको उनले सुनाए।

बिकेन नक्कली सुन

सुनको भाउ बढ्दा चम्किने गरेको नक्कली गहनाको ब्यापार पनि लकडाउने शिथिल बनाएको छ। लकडाउन अघि नक्कली सुनले राम्रै बजार पाएको थियो। हेर्दा सक्कली सुन झैँ देखिने र चोरीको डर पनि नहुने भएकाले महिलाहरु त्यसतर्फ तानिएका थिए। तर कोरोनाको डरले किन्नेहरु नजाँदा नक्कली गहनाको पनि ब्यापार ठप्प भएको हो।

लकडाउनले गर्दा बजार खुले पनि खरिद गर्ने ग्राहक नभएको इन्द्रचोकका नक्कली सुन व्यवसायी राधे शाहोले बताए । 'सुन लगाउने रहर पूरा नक्कली किन्न आउनेहरु धेरै थिए। अचेल त हाम्रो पसल पनि सक्कली सुनकै पसलजस्तो सुनसान भयो,' उनले भने।

लकडाउन अघि दैनिक १० देखि १२ हजार रुपैयाँको कारोबार हुने गरेकोमा अचेल मुस्किलले ५ सय रुपैयाँको सामान बिक्ने उनी बताउँछन्।
उनकै जस्तो मनोहर शाहको पनि समस्या छ। 'मसँग सामान भएपनि किन्ने कोही आउँदैन। अब साउनमा केही बिक्ला कि भन्ने आश हो,' उनले पसलमा राखेको कस्मेटिक सामान केही बिकेपनि नक्कली सुनको सामान बेच्नै नसकेको दुखेसो पोखे।

इन्द्रचोकका ब्यवसायी नरेन्द्र झा कति दिनदेखि आफू पसल कुरेर मात्र बसिरहेको बताए।  'महिलाहरु बजार आउनै नसकेको हो कि सामानको मागमा कमी आएको हो ?,' उनी कोरोनाका कारण आफूहरुको ब्यवसाय शून्य भएकोमा चिन्तित सुनिए।